कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘हनी ट्य्राप’ मा धनाढ्य

लोभमा पारेर नजिक हुने र बलात्कार अभियोग लगाएर पैसा असुल्ने गरेको आरोपमा तीन पक्राउ 
दुर्गालाल केसी

दाङ — गत असार ६ मा एक कानुन व्यवसायीलाई घोराही–१५ की ३२ वर्षीया एक महिलाले ‘लेनदेन मुद्दामा सहयोग गरिदिनुपर्‍यो’ भनेर फोन गरिन् । पटक–पटक फोन गरेपछि उनी भेट्न बोलाइएको घोराही–१५ को कोहिनुर रेस्टुरेन्ट पुगे ।

‘हनी ट्य्राप’ मा धनाढ्य

उनी र उनका एक साथी महिलाले बियर खाए, कानुन व्यवसायीसँग केहीबेर छलफल गरे । अन्त्यमा निस्कने क्रममा ती महिलाले ‘मलाई किन हातपात गरेको, म अब जबर्जस्ती करणीको मुद्दा हाल्छु’ भन्दै गालीगलौज गर्न थालिन् । लामो वादविवाद चल्यो । अन्ततः उनीहरू अर्को दिन भेटेर कुरा गर्ने सर्तमा घरघर गए ।

भोलिपल्टदेखि घोराही–१५ कै ३५ वर्षीया अर्की महिलाले ती कानुन व्यवसायीलाई फोन गरेर तत्काल कुरा मिलाउन दबाब दिन थालिन् । आरोप लगाउने महिलाका पहुँच भएकी र उनले तत्काल मुद्दा हाल्न सक्ने भएकाले छिटो आएर पैसा दिई मिलाउनुपर्ने कुरा गरिन् । धेरै दिनसम्म फोनमै कुराकानी हुँदै अन्त्यमा छलफलका लागि ती पुरुषलाई असार २८ मा घोराहीकै सागर एन्ड सुनील रेस्टुरेन्ट तथा लजमा बोलाइयो । लजमा रहेका ती दुई सहित घोराही–५ की ३२ वर्षीया अर्की महिलाले पैसाका लागि ‘बार्गेनिङ’ गरे । दिउँसो २ बजे पुगेका ती पुरुष राति ९ बजेसम्म पनि होटलबाट निस्कन पाएनन् ।

५० लाख रुपैयाँ नदिए मुद्दा हाल्ने धम्की दिएर उनलाई निरन्तर तनाव दिइयो । कतिबेला पुलिसको सई, असई, हवल्दारलाई फोन गरेको भन्दै उनलाई तर्साइयो । कतिबेला ‘अब एकछिनमा पुलिस बोलाएर यहींबाट पक्राउ गराउँछौं’ भनियो । अन्त्यमा लामो दबाबपछि १८ लाख रुपैयाँ दिन सहमत गराइयो । ती पुरुषले एक साथीलाई बोलाएर तत्काल १ लाख नगद दिए र १७ लाखको सिभिल बैंकको चेक दिए । भदौ १५ को मितिमा दिइएको चेक भजाउन ती महिला दुईपटक बैंक पुगे तर चेक साटिएन । त्यतिबेलासम्म ती पुरुषले उक्त खाताको पैसा अर्को बैंकको खातामा सारिसकेका थिए । महिलाको षड्यन्त्रबाट पीडित भएका पुरुष सामाजिक प्रतिष्ठा बिग्रने डरले केही समय निकै विक्षिप्त भए । अन्त्यमा प्रहरीको शरणमा पुगे । प्रहरीले लामो अनुसन्धानपछि उनीहरूबीच भएका फोनवार्ता र प्रत्यक्ष वार्ताका अडियो रेकर्ड तथा चेकसहित तीन महिलालाई पक्राउ गर्‍यो ।

यस्ता घटना समाजमा धेरै भएको जानकारी पाएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए । ‘पीडित पुरुष आत्महत्याको सोचमा समेत पुगेका रहेछन् । अन्त्यमा कानुनी सहारा लिने निधो गरेपछि प्रहरीले अनुसन्धान थाली सबै प्रमाणसहित महिलाहरूलाई पक्रन सफल भयो,’ उनले भने, ‘हनी ट्र्यापमा पारेर रकम असुल्न खोजेको देखिएको छ । पीडितहरू इज्जतको डरले यस्ता घटना बाहिर ल्याउन सक्दैनन् ।’ रकम असुल्न ती महिलाहरूले विभिन्न गुन्डासमेत प्रयोग गरेको उनले बताए । ‘विभिन्न व्यक्तिहरू प्रयोग गरेर रकम असुल्ने प्रयास भएको छ, धम्की दिइएको छ,’ उनले भने, ‘विभिन्न प्रलोभनमा पारेर नजिक हुने र अन्त्यमा बलात्कारको आरोप लगाएर फसाउन खोजेको देखिन्छ । समाजमा यस्ता पीडित अरू पनि हुन सक्छन् ।’ यस घटनाले अन्य घटनालाई निरुत्साहित गर्न सहयोग पुग्ने उनले बताए ।

डरत्रास देखाई रकम असुलेको आरोपमा पक्राउ गरिएका तीन महिलालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । हनी ट्र्यापमा धनाढ्यहरू परिरहेको बजार हल्ला आए पनि यसअघि उजुरी नै नआएको प्रहरीले जनाएको छ । ‘हामीले यस्ता घटना त धेरै सुनेको हो तर अहिलेसम्म कसैले पनि उजुरी गर्न सकेको थिएन । यो नयाँ घटनाका रूपमा आएको छ,’ डीएसपी मुकुन्दप्रसाद रिजालले भने, ‘अब अन्य ठगिएका व्यक्तिहरू पनि सम्पर्कमा आउन सक्छन् ।’ सामाजिक प्रतिष्ठा भएका र राम्रो कमाइ भएका व्यक्तिहरू खोजेर विभिन्न तरिकाले नजिक हुने र अन्त्यमा हनी ट्र्यापमा पारेर फसाउने गरेको रिजालले बताए । ‘सामाजिक इज्जतको डरले सजिलै पैसा दिन सक्ने व्यक्तिहरूलाई लक्षित गरेर महिलाहरू यस्तो काममा लागेको देखिन्छ,’ उनले भने, ‘धेरै व्यक्ति इज्जतकै डरले प्रहरीसम्म आउनै सक्दैनन् । भित्रभित्रै मानसिक रूपमा तनाव बेहोरेर बसिरहेको देखिन्छ ।’

पक्राउ परेका महिलाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता हुने रिजालले बताए । उपदफा ३ ‘ख’ बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झूटो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।

पहिले पनि भएका थिए घटना

२०७४ जेठ २९ मा तुलसीपुरका व्यवसायी ५३ वर्षीय राजकुमार श्रेष्ठको हनी ट्र्यापमै परेर ज्यान गएको थियो । तुलसीपुरकी १८ वर्षीया पूजा घर्तीले जेठ २७ मा बोलाएर सल्यान पुर्‍याइएका श्रेष्ठ अपहरणमा परेका थिए । पैसाको बार्गेनिङ गर्दागर्दै जंगलमा असुरक्षा भएपछि अपहरणकारीले श्रेष्ठलाई छत्रेश्वरीस्थित झिम्पेको लेकमा हत्या गरेका थिए । त्यतिबेला घटना देखेका कारण घोराही–१२ हापुरका २८ वर्षीय रणबहादुर घर्तीसमेत मारिएका थिए ।

प्रकाशित : आश्विन ४, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?