कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एक करोड लगानीमा खुल्यो सहकारी बजार

रुकुम पूर्व — रुकुम पूर्वको कृषि उपज संकलन केन्द्र बजारमा परिणत भएको छ । जिल्लामा उत्पादन हुने सम्पूर्ण अर्गानिक बस्तुको बिक्रीवितरणका लागि गाउँपालिकाको पहल र समन्वयमा सहकारीमार्फत सहकारी बजार सञ्चालनमा आएको हो ।

कृषि उपज खरिद–बिक्रीका लागि भूमे गाउँपालिका–२ को खाबाङ बगरमा दुई वर्षअघि टिनको छाप्रोमा संकलन केन्द्र सञ्चालनमा ल्याइएको थियो । अहिले त्यसैलाई व्यवस्थित र सुविधासम्पन्न बजारमा फेरिएको हो । मध्यपहाडी लोकमार्ग छेउमै संकलन केन्द्र रहेको छ । खाबाङमा सहकारी बजार मात्रै बनाइएन, खरिद र बिक्रीलाई पनि व्यवस्थित गरिएको छ । किसानको कृषि उपज खरिद गर्दा र बिक्री गर्दा बिलिङ प्रणाली अपनाइएको छ ।

१ करोड रुपैयाँको लगानीमा भवन र सहकारी बजार सञ्चालनमा आएको हो । लुम्बिनी प्रदेश सरकारको ५० लाख र मारिङ बहुद्देश्यीय सहकारीको ५० लाख रुपैयाँ लागतमा भवन, डेकोरेसन, लेबलिङ, प्याकेजिङ मेसिन, सीसी क्यामेरा, होर्डिङ बोर्ड, कम्प्युटरलगायतको व्यवस्थापन गरिएको छ । सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले घुम्तीमा सञ्चालन भइरहेको संकलन र बिक्री वितरणको काम अब व्यवस्थित ठाउँ र व्यवस्थित तवरबाट भइरहेको बताए । सुविधासम्पन्न भवन निर्माण र त्यसको व्यवस्थापन भएपछि कृषि उपज खरिद तथा बिक्री सहज भएको अधिकारीले बताए ।

सामान्य प्लास्टिकमा प्याकेजिङ गरेर बिक्री वितरण भइरहेकामा अब हरेक सामानको लेवलिङ गरेर मात्र बिक्री गरिने छ । हरेक वस्तुको गुण मेसिनमार्फत मापन गर्ने र आधुनिक तरिकाले प्याकेजिङ गरेर मात्र बिक्री गर्ने गरी प्रणालीको विकास गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । सहकारी बजारबाट जिल्लाका सबै स्थानीय तहका कृषकले उत्पादन गरेका कृषि उपज संकलन र बिक्री वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यस्तै जिल्लाका लागि आवश्यक तर जिल्लामा नपाइने वस्तु सहकारी बजारमार्फत किसान र उपभोक्ताका घरमा पुर्‍याइने प्रणाली पनि बनाइएको अध्यक्ष बुढाले बताए । स्थानीय किसान रामबहादुर मगरले बजार संकलन भएपछि कृषि उपज बिक्रीका लागि अझ सहज भएको जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?