१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एउटै गाउँका सयौं युवा कतारमा

कतार रोजगारीमा रहेका युवाको कमाइबाटै बचत गरेर बाँगीका धेरैले सहरमा घर–घडेरी जोडेका छन् । गाउँका घर–गोठमा जस्तापाता लगाएका छन् ।
वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–५, बाँगीका युवा रामबहादुर बस्नेतले नौ वर्षसम्म कतारमा रोजगारी गरेपछि सन्धिखर्कमा घरबास जोडेका छन् । विद्यालय तहको अध्ययनपछि गाउँले दौतरीको कतार जाने लहरले उनलाई पनि त्यहाँ पुर्‍याएको हो । ‘कतारको आम्दानीले यहाँ आएर व्यवसाय गर्न पनि सघाएको छ,’ उनले भने, ‘यहाँ लगानी अनुसार प्रतिफल छैन । राज्यले व्यवसायीको सुरक्षाप्रति चासो नै दिएजस्तो लागेन ।’

एउटै गाउँका सयौं युवा कतारमा

एक दशकअघि स्वदेश फर्किएर उनले यातायात व्यवसायमा हात हालेका थिए । अर्घाखाँची–बुटवल–काठमाडौं बस सञ्चालन गरे । कोभिडका कारण व्यवसाय प्रभावित हुँदा उनलाई कतारकै रोजगारी ठिक हो कि भन्ने लाग्न थालेको छ । कृषि उद्यमलगायत अन्य व्यवसायमा पनि उत्पादित बस्तुले सहजै बजार पाउने ग्यारेन्टी नभएका कारण लगानीमा समस्या भएको उनले बताए ।

बाँगीका प्रशस्त युवा अहिले पनि कतारमै छन् । तीन दशकअघि प्यूडाँडाका माधव भुसाल कतार गएका थिए । त्यसपछि उनले गाउँका साथीभाइलाई भिसा पठाइदिए । स्कुल अध्ययनपछि भिसा बनाएर रोजगारी खोज्दै कतार जानेको यहाँ लहर नै चल्यो । केही युवा अन्य मुलुक गए पनि बहुसंख्यक कतारमै रहेको कतारबाट फर्केका बाँगीका मणि थापाले बताए । ‘गाउँका धेरै युवा भएकाले कतार त परदेशजस्तै लाग्दैन,’ उनले भने, ‘टोल र गाउँका दाजुभाइ दैनिक भेटघाट हुन्छ । बिदाको दिन त उल्कै रमाइलो हुन्छ ।’

अभिभावकले नै विद्यालयस्तरीय पढाइ सकेपछि कतार पठाउन जोड गर्छन् । युवा मिलेर बाँगी कतार सम्पर्क समाज गठन गरेका छन् । समाजका उपाध्यक्ष विष्णु कुँवरले बाँगीका मात्रै झन्डै ६ सयको संख्यामा कतारका विभिन्न कम्पनीमा रोजगारीमा रहेको बताए । ‘सँगै स्कुलमा पढेको, वनमा गाईबाख्रा हेरेको, खेलेको, सँगै मेलापात गरेको बाल्यकालदेखिका साथीभाइ हुँदा रमाइलो नै हुन्छ,’ उनले भने, ‘सयौंको संख्यामा रहेका हामी बाँगीका युवा धेरै नजिकै रोजगारीमा छौं । अन्य गाउँकासित साता र महिनामा भेट हुन्छ । चाडपर्व सबै एक ठाउँ भेला भएर मनाउँछौं ।’ रोजगारीका लागि जन्मघर छाडेर परदेश गए पनि कतारमा रमाइलै रहेको उनले बताए ।

कतार रोजगारीमा रहेका युवाको कमाइबाटै बचत गरेर बाँगीका धेरैले सहरमा घर–घडेरी जोडेका छन् । गाउँका घर–गोठमा जस्तापाता लगाएका छन् । सहरमा राखेर छोराछोरी पढाउनेदेखि भान्सामा मिठो परिकार पाक्नेसम्ममा कतारको कमाइले काम गरेको छ । बाँगीकै बाबुराम बस्नेत १५ वर्षदेखि कतारमा रोजगारीमा छन् । यस अवधिमा उनले गाउँको घर–गोठ चिटिक्क पारे । बाबुबाजेले लगाएको ऋण तिरे । सदरमुकाममा घर–घडेरी जोडे । अहिले दुई छोरालाई काठमाडौंमा राखेर उच्च शिक्षा पढाइरहेका छन् । परदेशमा रोजगारी राम्रो भएपछि बाँगीका पदम भुसाल स्वदेश फर्कने सोचमा छैनन् । ‘महिनाको झन्डै ७० हजार रुपैयाँ बचत हुन्छ । महिना पुग्दा तलब आउँछ,’ उनले भने, ‘अझै केही समय यतै काम गर्ने मन बनाएको छु ।’ सुरुमा छिमेकीसँग ऋण खोजेर उनी कतार गएका हुन् । अहिले बुटवलमा घडेरी जोडेका छन् । एक छोरा र एक छोरीलाई महँगो बोर्डिङ स्कुलमा पढाएका छन् ।

स्कुल पढाइपछि गाउँमा कतार जानेको लहर नै चल्ने शान्ति माविका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताए । गरिबीका कारण घरखर्च चल्न गाह्रो हुनु, विदेशको कमाइले छिमेकीले गरेको परिवर्तन, स्वदेशमा स्वरोजगारीको ग्यारेन्टी नहुनु, कृषि उत्पादनको बजारीकरणको समस्या, कृषिदेखि अन्य उद्यममा लगानी डुब्नु र उपलब्धि छिटो नहुनु जस्ता समस्याले युवाको वैदेशिक रोजगारीप्रति मोह बढेको उनले बताए ।

कतारको कमाइले गाउँको विकास निर्माणमा पनि सघाउ पुग्दै आएको बाँगी प्यूडाँडाका रामप्रसाद पराजुलीले बताए । ‘मोटरबाटो, विद्युत्, खानेपानी, शैक्षिक सामग्री वितरणमा सघाउँदै आएका छौं,’ उनले भने, ‘शान्ति, सिद्ध माविलगायतलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर वितरण गरिएको छ । शैक्षिक सामग्री वितरणमा मात्रै झण्डै १२ लाख रुपैयाँ खर्चिएका छौं ।’ बाँगी गाउँ सदरमुकाम सन्धिखर्कदेखि १६ किमि पश्चिममा छ । गोलाकार रूपमा रहेको बाँगीमा एकीकृत बस्ती छ । यहाँका सबै घरमा विद्युत्, खानेपानी, सिँचाइ र सडक सुविधा छ । सबैका घर जस्तापाताले रंगिएका छन् ।

प्रकाशित : आश्विन २, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?