विरोधका बीच चल्यो लुम्बिनी प्रदेशसभाको बैठक

अमृता अनमोल

बुटवल — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक केहीबेर चलेको छ ।

विरोधका बीच चल्यो लुम्बिनी प्रदेशसभाको बैठक

सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमाले विरोधमा उत्रिएको थियो ।

एमाले सांसदको नाराबाजी चलिरहेका बेला दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विवादित सांसदबारे जानकारी दिए । सूर्य चिह्नमा चुनाव लडेका अजय शाही र नेकपाबाट चुनाव जितेकी विमलाकुमारी खत्री वलीले प्रदेशसभामा बुझाएको विवरणमा आफूहरु एमाले संसदीय दलको सदस्य विवरण नबुझाएकाले कारबाही गर्नु नपर्ने उनले जानकारी दिए । यस बारेको विवाद अदालतमा गइसकेको र विचाराधीन मुद्दा भएकाले सदन अवरुद्ध नगर्न आग्रह गरे । तर एमालेको विरोध रोकिएन । यसलगत्तै सभामुखले बैठक सकिएको र आगामी बैठक असोज ७ गते बस्ने जानकारी दिए ।

यसअघि प्रदेशसभामा दिउँसो करिब १ बजेर ५० मिनटमा पहिलो बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । एमाले सांसद नाराबाजीमा उत्रेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित भएको सूचना सुनाएका थिए । यसबीचमा निकैबेर सत्तापक्ष र विपक्ष छलफलमा जुटेपनि सहमति नजुटेपछि ४ बजेपछि दोस्रो बैठक सुरु भएको थियो । एमालेले सभामुखले जबर्जस्ती सभा चलाएपनि आफूहरुले प्रतिकार गरिरहने बताएको छ । एमाले सचेतक भूमिश्वर ढकालले सभामुखले प्रदेशसभामा सर्वसत्तावाद लादेको टिप्पणी गरे । ‘सभामुखले दलको प्रतिनिधि सरह प्रदेशसभा कब्जा गरिरहेका छन् । हामी प्रतिकारमा छौं,’ उनले भने, ‘सभामुख न्यायाधीश जस्तै बन्न पाइँदैन । ’

गठबन्धन सरकारले नयाँ नीति कार्यक्रम र बजेट ल्याउने तयारीका साथ संसद बैठक बोलाएको थियो । बिहीबारको बैठकमा जनता समाजवादी पाटीबाट नवनियुक्त सांसद निर्मला मुठभरी भट्राई र नेकपा समाजवादी रोजेकी रमा घर्तीबारेमा सूचना सुनाउने तथा केही विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?