सफाइले बदलियो नगर

‘ग्रिन र क्लिन’ अभियानले तिलोत्तमा मुलुकमै पहिलो सफाइ–उन्मुख नगरपालिका
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा–६ का १२ वर्षीय शिशिर भूर्तेल सडकमा कागज देख्यो कि टिपिहाल्छन् । डस्टबिन खोजेर त्यसमा फ्याँक्छन् । सडक होस् या घर, उनलाई फोहोर मन पर्दैन । स्थानीय पाठ्यक्रममा फोहोर जहाँ पायो त्यहीँ फ्याँक्नु हुँदैन भनेर पढेकाले टिपेर उचित स्थानमा व्यवस्थापन गर्ने गरेको उनले बताए ।

सफाइले बदलियो नगर

‘मेरो पकेट मेरो पहिलो डस्टबिन भनेर पढेका छौं,’ उनले भने, ‘नगरपालिकाले पनि बाहिर फोहोर फ्याँकेको देखे जरिवाना लिन्छ ।’ आफूहरूले विद्यालयमा सरसफाइबारे पढेको र सातामा एक दिन सबै विद्यार्थी मिलेर विद्यालयको मैदान र आसपास खुला क्षेत्रमा सफा गर्दै आएको उनले बताए ।

२०२१ सालमा पाल्पाबाट साबिक आनन्दवन गाविसमा बसाइँ सरेर आएकी चन्द्रकला बस्यालले मणिग्राम यत्तिको सुन्दर बन्ला भनेर चिताएकी थिइनन् । विवाहपछि श्रीमान्सितै मणिग्राम बस्न थालेकी उनका अनुसार पहिले बस्ती झाडीले भरिएको, सडकभरि पानी जम्मा हुने र जताततै फोहोर मात्र हुन्थ्यो । ‘अहिले जताततै सफा देखिन्छ,’ उनले भनिन्, ‘स्वर्गसरी भएको महसुस हुन्छ ।’ नगरपालिका भएपछि बाहिरबाट आउनेले मणिग्राम नचिन्ने बनेको उनले बताइन् । सबैले मिलेर गरे गाउँठाउँ सफा हुने उनको बुझाइ छ । पहिले देखेको मणिग्राम र अहिलेको दाँजेर सुनाउँदा नातिनातिना छक्क पर्ने गरेको उनले बताइन् । ‘उनीहरूलाई पनि फोहोर गोजीमा राख्न सिकाएकी छु,’ उनले भनिन्, ‘चकलेट खाएर प्लास्टिक भुइँमा फाल्दैनन् ।’

दुई वर्षदेखि सार्वजनिक स्थलको फोहोर उठाउने र सडकका रुखबिरुवाको रेखदेखमा लागेका तिलोत्तमा–४ का भरत कोइरालालाई नगरपालिकाले दिएको दैनिक ज्यालादारीले चार जनाको परिवार पाल्न सघाएको छ । फोहोर संकलन गरेबापत दिनको ५ सय ४० रुपैयाँ पाउँछन् । ‘कतार गएको थिएँ, यहाँ श्रीमतीलाई क्यान्सर भयो,’ उनले भने, ‘कमाएको जति उपचारमा खर्च भएपछि फेरि जान सकिनँ, काखे छोरो हेरेर यतै बसें ।’ सडकमा ग्रिन एन्ड क्लिन तिलोत्तमाको ड्रेस लगाई बोरामा फोहोर बटुल्दै हिंड्दा आफ्नो ठाउँ सफा राख्नुपर्छ भन्ने सन्देश स्थानीयलाई दिइरहेको र त्यसप्रति सचेतना देखिएको उनको भनाइ छ ।

यहाँ अहिले ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ सफाइ अभियान चलिरहेको छ । २०७६ फागुन ३० गतेबाट सुरु अभियानले तिलोत्तमालाई मुलुककै नमुना र पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाएको छ । यहाँका हरेक वडा, टोल विकास संस्था र जनसहभागिताले तिलोत्तमाको सफाइ अभियानमा हातेमालो गरेर आफ्नो क्षेत्रबाट सफाइ गर्ने गरेका छन् । विकास भनेको सडक, पसल निर्माण मात्र नभई सरसफाइजस्तो सामाजिक विकास पनि पालिका विकासको सूचक हो भन्ने अवधारणाअनुसार कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । पहिलो प्राथमिकतामा राखिएको सरसफाइ अभियानबाट थोरै बजेटले ठूलो परिवर्तन सम्भव भएको उनले सुनाए । ‘महिनाको १ र १५ गते हरेक टोल, वडा र गाउँमा सरसफाइ गरिन्छ,’ उनले भने, ‘त्यसबाहेक ज्यालादारीमा खटिएका ४० कर्मचारीले दिनहुँ फोहोर संकलन गर्ने र व्यवस्थापन गर्ने गर्छन् ।’ चोकचोकमा राखिएका डस्टबिनमा फोहोर राख्ने बानी यहाँका हरेक नागरिकको बनिसकेको छ । जनस्तरबाट नगरे केही हुन्न भनी जनसहभागितामै सरसफाइमा जोड दिइएको घिमिरले बताए ।

करैया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोला उकास क्षेत्रमा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लिमिटेडले नगरका ७ देखि १७ वडासम्मको फोहोर संकलन गरी त्यसबाट आम्दानीसहित रोजगारी दिइरहेको छ । सहकारीअन्तर्गत ४० जना कर्मचारीले संकलन गरी ल्याएको फोहोर छुट्याएर तोकिएको मूल्यमा बिक्री गरिरहेको संस्थाका अध्यक्ष खेम गौतमले बताए । नबिक्ने फोहोर व्यवस्थापन चुनौती भइरहेकाले यूएनडीपी, नगरपालिका र आफूहरूको संयुक्त समन्वयमा पीजीआरपी (प्रोमोटरी ग्रिन रिकभरी प्रोजेक्ट) चलाई कम्पोस्ट मल बनाउने र पुनः रोजगारीसहित आम्दानीको स्रोत बढाउने तयारी भइरहेको उनले जनाए । ‘उक्त प्रोजेक्ट सञ्चालनको सहमति भई काम अघि बढेको छ,’ उनले भने, ‘अब थप ढाइ सय जनाले काम पाउनेछन् भने घरघरमा कम्पोस्ट मल बिक्रीपश्चात् आम्दानीसमेत हुनेछ ।’

गौतमले यससँगै संस्थाले कौसी खेती, मल तयार जस्ता तालिम दिने योजना बनाएको बताए । ४ करोड लगानी अनुमान गरिएको प्रोजेक्टका लागि संस्थाको २ करोड रुपैयाँ फोहोर मैला व्यवस्थापनमा लगानी हुनेछ भने बाँकी यूएनडीपी र पालिकाले सहकार्य गर्नेछन् । नगरको फोहोर व्यवस्थापनका लागि १ देखि ६ वडासम्म वातावरण सुन्दर नेपाल प्रालिले काम गरिरहेको छ । तिलोत्तमा–५ स्थित तिनाउ खोलानजिकै खाली जग्गामा काम नलाग्नेलाई खाल्टोमा पुरिने र प्रयोग हुनेलाई कम्पनीको कालिकानगरस्थित सेग्रिगेसन सेन्टरबाट बिक्री गर्ने गरिएको प्रबन्ध निर्देशक बलभद्र पुरीले बताए ।

प्रकाशित : भाद्र ३१, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?