१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मदरसाबाटै एसईई

मुस्लिम समुदायका छोरीहरुलाई कलिलै उमेरमा अभिभावकले विवाह गर्दिने डर हटेको छ
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ की १६ वर्षीया रेहाना खातुनमा अहिले बेग्लै उत्साह छ । मदरसाबाट एसईई उत्तीर्ण गरेपछि उनमा त्यस्तो उत्साह देखिएको हो ।

मदरसाबाटै एसईई

सरकारले गत वर्षको शैक्षिक सत्रदेखि अनिवार्य अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक शिक्षा, स्वास्थ्यबाहेक उर्दू र अरेबिक विषय समावेश गरेर एसईई दिन पाउने व्यवस्था गरेको हो । त्यसपछि पहिलो पटक एसईईमा मदरसाका विद्यार्थी सहभागी भएका हुन् ।

खातुनको अध्ययन मदरसाबाटै सुरु भयो । घरपायकको मदरसामा उच्च शिक्षाको अनुमति थिएन । मदरसाबाट एसईईको परीक्षा अनुमति नभएकाले उनी अप्ठ्यारोमा परेकी थिइन् । मदरसाबाहेक अन्य विद्यालयमा अभिभावकले पठाउनु यस समुदायमा निकै चुनौती छ । बीचमै पढाइ छुटेपछि कलिलै उमेरमा विवाह गरिदिने चिन्ता र डर उनमा थियो । तर, एसईई उत्तीर्ण गरेपछि उनको डर र चिन्ता हटेको छ । उनमा पनि उच्च शिक्षा हासिल गरेर सरकारी जागिर खाने आशा पलाएको छ ।

छोरालाई भारत तथा नेपालकै विद्यालयमा अध्ययनका लागि पठाए पनि छोरीलाई बाहिर राखेर पढाउन मुस्लिम समुदाय अझै पनि डर मान्छ । यस समुदायमा आफ्नो धर्म र भाषा सिकाइका लागि मदरसा शिक्षा अनिवार्य मानिन्छ । तर, अहिले नेपालमा नै पहिलोपटक जिल्लाको मदीनतुल ओलुम मदरसामाले उर्दू र अरेबिक भाषासहितको एसईई परीक्षा सञ्चालन गर्न पाउने अनुमति पाएपछि यस क्षेत्रकै मुस्लिम समुदाय निकै हर्षित छ । मदरसाबाटै एसईई उत्तीर्ण हुन पाएपछि छात्राहरूमा बेग्लै खुसी छाएको छ ।

खातुनमात्रै होइन, गत वर्ष एसईई उत्तीर्ण ११ जना छात्रामा बेग्लै उत्साह र खुसी देखिएको छ । प्रतापपुरकै खुसइदा खातुनको पनि उच्च शिक्षा हासिल गर्ने बाटो खुलेको छ । ‘विशेष गरी छोरीहरूका लागि यो निकै ठूलो कुरा हो । कक्षा १२ पास गरेपछि मदरसाबाहेक अन्य विषय पनि अध्ययन गर्न हामी विभिन्न कलेजमा जान सक्छौं,’ उनले भनिन्, ‘हाम्रो समुदायका लागि उज्यालो दिनको सुरुवात हो ।’

मदरसाबाटै एसईई दिन पाउने भएपछि बालबालिकालाई उच्च शिक्षा हासिल गर्न निकै सहज हुने शिक्षाविद् अब्दुल रउफ खानले बताए । ‘मातृभाषा र धार्मिक शिक्षा प्राप्त गर्न पाउनु हरेक मानिसको अधिकार हो । यसका लागि हामीले लामो समयदेखि स्थानीय तहदेखि केन्द्रसम्म निकै संघर्ष गर्नुपर्‍यो,’ उनले भने, ‘अब मुस्लिम समुदायका बालबालिकाले कक्षा ८ पछि मदरसा छोड्नुपर्ने अवस्था हटेर जानेछ ।’

आर्थिक रूपमा सम्पन्न परिवारले भारतमा लगेर पढाउने गरे पनि विपन्न समुदायका छोरीहरू पढाइ बीचमै छुटेपछि उमेर नपुग्दै विवाह गर्नुपर्ने वाध्यतामा पुग्ने गरेको मदीनतुल ओलुम मदरसाका प्रधानाध्यापक अमिर आजमले बताए । ‘अब बीचमै पढाइ छुट्ने र कम उमेरमा विवाह गर्ने प्रचलन हटेर जानेछ,’ उनले भने ।

प्रकाशित : भाद्र ३१, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?