८ महिने शिशुको हत्या आरोपमा बाबुआमा पक्राउ

माधव ढुंगाना

भैरहवा — ८ महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले बाबुआमालाई पक्राउ गरेको छ । घर जग्गाको विवादका कारण रुपन्देहीको गैडहवा गाउँपालिका–६ मा शिशुका बाबु आमाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

८ महिने शिशुको हत्या आरोपमा बाबुआमा पक्राउ

स्थानीय श्रीराम मल्लाह र उनको श्रीमती रेनु मल्लाहले आवेशमा आएर ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेको आरोपमा पक्राउ गरिएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यानारायण थापाले बताए । घटना शनिबार राति १ बजे घटेको प्रहरीले जनाएको छ ।

डीएसपी थापाले जग्गा विवादको विषयलाई लिएर शिशुको हत्या गरेको देखिएको बताए । डीएसपी थापाका अनुसार श्रीरामकी आमा भानुमतिको नाममा रहेको ११ धुर जमिनसहितको घर दिदी अकालमतिको नाममा पास गरिदिएकी थिइन् । ‘तत्काल शिशुको फुपु अकालमतिको नाममा घरसहितको जग्गा पास गरिदिने र पछि शिशुको नाममा पास गरिदिने विषयलाई लिएर दैनिक झगडा हुने गरेको कुरा खुलेको छ,’ थापाले भने, ‘बालकको हत्यापछि प्रहरी नियन्त्रणमा रहेका अभियुक्त बावुआमा दुवैले आफूहरुले घाँटी रेटेर हत्या गरेको साबिति बयान दिएका छन् ।’

आवेशमा आएर उनीहरुले आत्महत्या गर्ने योजना बनाएर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । शिशुको हत्या गरेपछि उनीहरुले छोरालाई कसले मार्‍यो भन्दै हल्ला गरेको थापाले बताए ।

घटनास्थलमा प्रहरी पुगेपछि प्राप्त प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो । घटनास्थलमा प्रहरीले घरको छतमा आलो रगत जमेको,श्रीराम मल्लाहको सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया र उनको श्रीमती रेनुको शरीर खानतलासी गर्दा साडी भिजेको अवस्थमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?