कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अट्वारी मनाउँदै थारू समुदाय

दुर्गालाल केसी

दाङ — पश्चिम तराईका थारू समुदायले आइतबारदेखि अट्वारी पर्व मनाउन सुरु गरेका छन् । अट्वारी सोमबारसम्म मनाइन्छ । दाजुभाइ र दिदीबहिनीको सद्भावको पर्वका रूपमा लिइने अट्वारी यो समुदायमा महत्वपूर्ण मानिन्छ ।

आइतबार बिहानैदेखि थारू पुरुषहरू नजिकका ताल, नदी, धारा तथा जलाशयमा गई स्नान गरी पूजाआजा गर्न व्यस्त रहे । अट्वारीका दिन पुरुषहरू दिनभर व्रत बसेर पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने गर्छन् । व्रत बसेका पुरुषहरूले स्नानपछि विशेष काठबाट निकालिएको आगोमा रोटी पकाउने र पूजा गरी रमाइलो गर्ने चलन छ । थारू समुदायले सोमबार त्यही काठबाट निकालिएको आगोमा पकाएको परिकार छोरी/चेलीलाई पाहुर अर्थात् अग्रासनका रूपमा लगिदिने चलन छ ।

थारू समुदायले भदौको पहिलो जुनेली रातपछिको पहिलो आइतबार अट्वारी मनाउने गर्छन् । आइतबार मनाइने भएकाले नै अट्वारी भन्ने गरिएको हो । यो पर्व मनाउने सवालमा कतिपय ठाउँमा एकरूपता नरहेको थारू संस्कृतिका जानकार छविलाल कोपिलाले बताए । उनका अनुसार अट्वारीमा भीमको बहादुरीलाई सम्मान गर्दै एकातिर मात्रै पाकेको रोटी खाने चलन छ । व्रत बसेका पुरुषहरूले विभिन्न खानेकुराका परिकार पकाउँछन् । आफूले खानुभन्दा अघि खानेकुरा निकालेर राख्छन् । जसलाई अग्रासन भनिन्छ । अग्रासन सोमबार बिहानै लिएर दिदीबहिनीको घरमा जाने चलन छ । छोरी/चेलीहरू पनि अग्रासनको पर्खाइमा हुन्छन् ।

विवाह नगरेका छोरीहरूले घरमै छुट्याइएको अग्रासन खाने चलन रहेको थारू महतवा संघका अध्यक्ष चन्द्रप्रकाश चौधरीले बताए । अट्वारी, थारू समुदायको माघीपछिको दोस्रो ठूलो पर्व रहेको उनले बताए । दीर्घायु, सुस्वास्थ्य एवं सुखमय जीवनको कामनासहित पर्व मनाउने गरिएको चौधरीले बताए । ‘थारू समुदायमा यो पर्व सूर्यको पूजा गरेर मनाइन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नि,’ उनले भने, ‘सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन, यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । सूर्य उज्यालोको प्रतीक भएकाले यसको पूजा गरिन्छ ।’

अट्वारीसँग भीमको सम्बन्ध नजिक छ । अट्वारीमा उनको पूजा गर्नुको पछाडि यस्तो कथा जोडिएको छ । जब कौरव र पाण्डवको लडाइँ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाइँ चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै तावामै छोडेर लडाइँमा हिँडे । लडाइँबाट फर्किंदा उनी निकै भोकाएका थिए । तावामा छोडेर गएको एकापट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अट्वारीमा अक्केकरे (एकापट्टी मात्र पकाएको) रोटी खाने चलन छ । भीमले थारू राजा दंगीशरणलाई लडाइँमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकाले उनीजस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अट्वारी व्रत बस्ने गरेको चौधरीले बताए ।

शनिबार दिनभरि माछा मार्ने र अरू तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । ‘आइतबार अथवा अट्वारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर घरको प्रवेशद्वारको पहिलो कोठा या आँगनमा गाईको गोबरले लिपपोत गर्छन्,’ चौधरीले भने, ‘लिपपोत गरेर भान्सामा पहिले प्रयोग नभएको चोखो आगोमा रोटी पकाइन्छ । काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन् । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् ।’ यो पर्वका अवसरमा लुम्बिनी सरकार, घोराही, तुलसीपुर उपमहानगर, लमही नगर र दंगीशरण गाउँपालिकाले बिदा दिएका छन् ।

प्रकाशित : भाद्र २८, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?