१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेस नेतृत्वमा युवा वर्चस्व

६१ वडा सभापति र १३२० क्षेत्रीय प्रतिनिधिमा झन्डै ७० प्रतिशत युवा चुनिए
वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–३ को वडा अधिवेशनमा कांग्रेसका तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भयो । तर २६ वर्षीय शोभित शाहीले बाजी मारे । उनले ५५ वर्षीय पाका नेता गफर मियाँ र सूर्यप्रसाद भुसाललाई पाखा लगाएका हुन् । मियाँले १९ र भुसालले ५७ मत पाए भने शाही ६५ मतका साथ विजयी भए ।

कांग्रेस नेतृत्वमा युवा वर्चस्व

जिल्लाका ६१ वडा सभापति र १ हजार ३ सय २० क्षेत्रीय प्रतिनिधिमा झन्डै ७० प्रतिशत युवा चुनिएको कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले बताए । यसपालि जिल्लामा करिब ६ हजार नयाँ क्रियाशील सदस्य थपिएकामा अधिकांश युवा उमेरका थिए । त्यही मत निर्णायक भएपछि वडा समितिदेखि क्षेत्रीय प्रतिनिधिमा युवाको वर्चस्व रहेको कांग्रेसको विश्लेषण छ । ‘युवाप्रति राजनीतिमा आकर्षण बढ्दो छ,’ जिल्ला सभापति मुस्कानले भने, ‘पालिका, क्षेत्र र जिल्ला तहमा पनि युवाको उपस्थिति राम्रो हुने संकेत हो यो ।’

‘जितपछि जिम्मेवारी थपिएको महसुस भएको छ,’ सन्धिखर्क नगरपालिका–३ का वडा सभापति शाहीले भने, ‘अब पार्टी संगठन निर्माण, अग्रजलाई सम्मान र युवालाई अवसर दिएर पार्टीको काम र गाउँमा विकास निर्माणका लागि पहल गर्छु ।’ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पनि धेरै नयाँ अनुहार देखिएका छन् । सन्धिखर्क नगरपालिका–२ बाट १८ वर्षीय हलिन खाँन क्षेत्रीय प्रतिनिधिमा चुनिएका छन् । शीतगंगा नगरपालिका–३ बाट शालिकराम अधिकारी, छत्रदेव गाउँपालिका–६ ठूलापोखराबाट शिवदेव पाण्डे, पाणिनि गाउँपालिका–१ बाट अर्जुन पोखरेललगायत धेरै नयाँ अनुहार क्षेत्रीय प्रतिनिधि भएका हुन् ।

सर्वसम्मत भएका ठाउँमा युवा नै रोजिए भने निर्वाचन भएका वडामा पनि धेरै मत ल्याएर जित्नेमा युवा नै देखिए । ‘यसपालि केन्द्रदेखि जिल्ला तहसम्म नेतृत्वमा युवाकै वचस्व हुने देखियो,’ क्षेत्रीय प्रतिनिधि शिवदेव पाण्डेले भने, ‘कांग्रेस टोपी लगाउने र वृद्धहरूको मात्र पार्टी हो भन्ने छ । वडामा युवा देखिए, अब जिल्ला, प्रदेश र केन्द्रमा पनि युवा नेतृत्व नै आउनुपर्छ ।’

कांग्रेसले जिल्लामा कुनै पनि महिलालाई वडा सभापतिमा निर्वाचित गर्न सकेन । दलितबाट भूमिकास्थान नगरपालिका–३ बाट ६५ वर्षीय मानबहादुर विश्वकर्मा सभापति चुनिए । जिल्लामा क्षेत्रीय प्रतिनिधिमा पत्रकार पनि चुनिएका छन् । पत्रकार सूर्यप्रसाद भुसाल, प्रेमनारायण आचार्य, हलिन खान र नेत्र मरासिनी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । भुसालले जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लागेका छन् । ‘पार्टीमा योगदान गरेका पाका उमेरकालाई सम्मान गर्दै युवाले पार्टी नेतृत्व लिनुपर्छ,’ शीतगंगा नगरपालिकाको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका युवा नारायण सिंह बेल्वासेले भने, ‘पार्टी हाँक्न युवा टिम सक्षम छ, अब युवाको विकल्प छैन ।’

नेतृत्व उमेरले नभएर विचार र सिद्धान्तले गर्ने जिल्ला सभापतिका युवा उम्मेदवार इन्द्रमणि पौडेलले बताए । ‘बीपी कोइराला ४५ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो,’ उनले भने, ‘त्यसैले उमेर होइन, विचार र सिद्धान्त महत्त्वपूर्ण कुरा हुन् । मैले विद्यार्थीकालदेखि राजनीति गरेकाले जिल्ला पार्टी चलाउने क्षमता छ भन्ने लाग्छ ।’ जिल्ला सभापतिमा वर्तमान सभापति विष्णु मुस्कान, यावदप्रसाद घिमिरे र केशव श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?