कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्वास्थ्यचौकी पुग्न ७ घण्टा डोलीमा

पालिकाले हिउँदमा बाटो मर्मत गर्छन् । नयाँ पनि बनाउँछन् । तर बर्खामा कुनै सञ्चालनयोग्य रहँदैनन् । जसले गर्दा बिरामीलाई स्वास्थ्यचौकी पुर्‍याउन घण्टौं बोकेर पुर्‍याउनु पर्छ ।
वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा–६ जलुकेकी शान्ता नेपाली ज्वरोले सिकिस्त भइन् । अस्पताल लैजान गाडी चल्ने बाटो छैन । आफैं हिँडेर जान तागत छैन । छिमेकीसँग गुहार मागेपछि ४ जनाले गत साता डोलामा बोकेर ७ घण्टामा ठाडास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए । पहिरोले गोरेटो बाटो भत्किएका छन् ।

स्वास्थ्यचौकी पुग्न ७ घण्टा डोलीमा

पाइला टेक्ने ठाउँ बनाएर स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन त्यति समय लागेको हो । टाइफाइड भएकी नेपालीलाई जेनतेन स्वास्थ्य केन्द्र पुर्‍याए पनि उपचार हुन सकेन । त्यसपछि उनलाई बुटवल लगियो । एक सातादेखि उपचाररत उनले भनिन्, ‘गुहारै नपाएर मरिन्छ कि भन्ने थियो । उपचार पाएपछि बाँच्ने आशा पलायो ।’

जंगलभित्र छरिएर रहेको बस्ती छ । सिकिस्त बिरामी भए बोकेर अस्पतालसम्म ल्याउन गाउँमा युवाशक्ति छैन । पाको उमेरकाले बोक्न सक्दैनन् । त्यसमाथि बर्खामा हरेक वर्ष बाढीपहिरोले यहाँका सबैजसो ग्रामीण सडक अवरुद्ध हुन्छन् । बेलैमा अस्पताल पुर्‍याउन नसके बिरामीको मृत्युसमेत हुने गरेको छ । ‘दुई वर्षअघि छिमेककी दिदी ज्वरोले थलिएर मलाई जस्तै गरी डोलीमा बोकेर लैजाँदै गर्दा बाटोमा मरिन्,’ उनले भनिन्, ‘गाउँमा उपचार नपाएर मान्छे मर्नु नौलो छैन ।’

सडककै कारण उपचारका लागि बिरामी अस्पताल जान नसक्ने अवस्था आउँदा समेत नगरपालिकाले बर्खामा बिग्रेका सडक समयमै मर्मत गर्दैनन् । ‘गाउँमा बूढापाका मात्रै धेरै छन्,’ शीतगंगा–६ का कमल खत्रीले भने, ‘सबैले बिरामी बोक्न सक्दैनन् । सडकसम्म पुग्न गोरेटो छिचोल्नुपर्छ । बर्खामा तिनको अस्तित्व नै रहँदैन ।’

जलुकेको दाङसिङ गाउँमा मोटर पुगेको छैन । बर्खामा खोलामा बाढीले वारपार गर्न सकिँदैन । स्थानीय रामबहादुर घर्तीले डोको र डोलीमा यो महिना ६ जना बिरामी बोकेर स्वास्थ्य केन्द्र पुर्‍याए । डोलीमा बिरामीसँगै कोदालो, बेल्चा, बोतलमा पानी बोक्छन् । बोकेर लैजाँदा पहिरोको डर हुन्छ । ‘उकालोमा धेरैबेर बोक्दा थाकिन्छ,’ उनले भने, ‘बिरामी बोक्दा शरीर पसिनाले निथ्रुक्क भिज्छ । थकाई मार्दै बोकेर लैजान ६/७ घण्टा समय लाग्छ । बिरामी आत्तिन्छन् । बाटैमा केही भइहाल्छ कि भन्ने डर लाग्छ ।’

स्थानीय सरकारले हिउँदमा डोजरले बाटो मर्मत गर्छन् । नयाँ सडक निर्माण गर्छन् । बर्खामा सबै सडक अवरुद्ध हुन्छन् । गाडी चढ्न हिउँद पर्खनुपर्छ । ‘ज्वरो आउँदा सिटामोलसम्म पाउन सहज छैन,’ स्थानीय भानुभक्त विकले भने, ‘स्वास्थ्य चौकी पुग्न टाढै छ । बर्खामा उपचार नपाएरै गाउँमा बिरामीको मृत्यु हुन्छ ।’

भौगोलिक जटिलताका कारण जलुके, सिद्धारा, सिमलपानीलगायत गाउँका स्थानीय स्वास्थ्य चौकीको पहुँचभन्दा टाढा छन् । हिँडडुलकै सकसले गर्भवती पनि नियमित स्वास्थ्य जाँचमा जाँदैनन् । ‘म गर्भवती भएको ६ महिना भयो,’ जलुकेकी दुर्गा खत्रीले भनिन्, ‘दुई पटक स्वास्थ्य चौकी गएकी थिएँ, स्वास्थ्यकर्मीले सबै ठीक छ भनेका थिए । त्यसपछि गोरेटो पहिरोले पुर्‍यो, कसरी जानू ?’ जेनतेन गरेर स्वास्थ्य चौकी पुगे पनि स्वास्थ्यकर्मी नमेटिने अर्को समस्या छ । कहिलेकाहीँ त सिटामोल पनि छैन भनेर स्वास्थ्यकर्मीले फर्काउने गरेको उनले बताइन् ।

‘बर्खामा बिरामी परे भगवान् भरोसा हो,’ शीतगंगा–७ का भोला आचार्यले भने, ‘घरकै जडीबुटीको भरमा धेरै बिरामी बस्छन् ।’ शीतगंगा–६ का वडाध्यक्ष मोहन पन्थीले बर्खामा बाटो साहोर्ने काम गरे पनि पहिरोले पुर्ने गरेकाले गाउँका बाटामा गाडी चल्न नसकेको बताए । उनका अनुसार जताततै बाटो भेलले खोलेर खाल्डाखुल्डी छन् । पहिरोले पुर्ने र भत्किने क्रम अझै छ । ‘भौगोलिक जटिलताले गर्दा नै बर्खामा यातायातको पहुँच पुग्न नसकेको हो,’ उनले भने ।

प्रकाशित : भाद्र २३, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?