कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

रोल्पामा पहिरो : दुईको मृत्यु, दुई जना घाइते

काशीराम डाँगी

रोल्पा — दुई दिनदेखिको वर्षाका कारण पहिरो खस्दा घरमै च्यापिएर रोल्पामा ६७ वर्षीया वृद्धासहित दुई जनाको मृत्यु भएको छ । प्रहरीले घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङस्थित बाम्ला गाउँका वृद्धा गौसरी र उनका नातिको मृत्यु भएको जनाएको छ ।

पानी परिरहेको बेला सोमबार बिहान २ बजेतिर स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा उनकी पत्नी गौसरी र ५ वर्षीय नाति हिमालको मृत्यु भएको हो । करिब २ सय मिटर माथिबाट खसेको पहिरोले घर च्याप्दा उक्त घरमा साथै सुतिरहेका पूर्णबहादुरका छोरी भीमकुमारी र ज्वाई मनबहादुर रोका घाइते भएका छन् । विवाहपछि उनीहरु माइतीमा बस्दै आएका थिए । घाइतेमध्ये दुई जिउकी भीमकुमारीको स्वास्थ्य अवस्था जाँच गर्न जिल्ला अस्पतपाल लैजाने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

दुर्घटनाबारे राति नै खबर पाए पनि उद्धारका लागि प्रहरी त्यहाँ पुग्न बिहानसम्म पर्खनु परेको थियो । सडक र गारेटो बाटो समेत पहिरोले अवरुद्ध भएकाले उद्धारमा गएको प्रहरी टोलीलाई समस्या भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनले स्थानीयले भने मृतकको शव निकालेको र घाइतेको उद्धार गरेको बताए ।

पहिरो खस्दा घरमूली पूर्णबहादुर गोठमा भएकाले उनी बाँच्न सफल भएका छन् । दुई छोराहरू त्यस दिन घरमा नभएकाले दुर्घटनाबाट जोगिएका हुन् । वडा कार्यालय नजिकैको उक्त गाउँका अरु घरमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ पहिरो स्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा पर्छ ।

यसैगरी, पहिरोले पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको जेलबाङमा भागीराम रोकाको गोठ भत्कदा ३ वटा गोरु र ६ वटा बंगुर मारिएका छन् । त्यहाँ स्थानीय लघु विद्युत् योजनामाथि क्षति पुगेकाले विद्युत आपूर्ति बन्द छ । जेलबाङको छिमेकी गाउँ फगाममा स्थानीयको गोठमा पहिरोले क्षति पुर्‍याउँदा विभिन्न व्यक्तिका २० वटा जति बाख्रा र एउटा गाई मारिएका छन् । सुनछहरीकै गाममा पनि ६ वटा घर र गोठ भत्किएका छन् । प्रनाउ सुवेदीले पानी निरन्तर परेकाले अन्य स्थानमा के कति क्षति भएको हो भन्ने बारेमा खोजी भइरहेको बताए ।

यस्तै, अत्यधिक पानी परेकाले पूर्वी रोल्पाको सुलिचौर र रुइनीबाङको बीचमा पर्ने फगाम खोला उर्लंदा स्थानीय निजी विद्यालय रोल्पा सनलाइट बोर्डिङ स्कुलको बस बगाएको छ । प्रहरीका अनुसार मर्मतका लागि स्थानीय मोटर ग्यारेजमा राखिएको रा १ ख २०६८ नम्बरको बस बगाएको थियो ।

प्रकाशित : भाद्र २१, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?