कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाढी–पहिरोले मुख्य राजमार्ग नै अवरुद्ध

कच्ची र साँघुरो हुँदा भित्री सडकमै हुन थाल्यो जाम, बिरामी र वृद्धवृद्धालाई सकस

पाल्पा/परासी/अर्घाखाँची/रूपन्देही — लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्रका मुख्य–मुख्य राजमार्ग बाढीले कटान र पहिरो खसेपछि एक सातादेखि यात्रुले सास्ती बेहोर्नु परेको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा दुईवटा पुल भासिएका छन् । बाढीले डाइभर्सन बगाएको छ । यही खण्डमा रहेको दाउन्नेमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको छ । 

बाढी–पहिरोले मुख्य राजमार्ग नै अवरुद्ध

अविरल वर्षाका कारण रूपन्देहीको देवदह–३ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाह पुल भासिएकाले १० दिनदेखि यात्रुले कठिनाइ झेल्नु परिरहेको छ । सर्वसाधारण भैरहवा हुँदै परासी भएर यात्रा गर्न बाध्य छन् । पुल निर्माणमा समय लाग्ने भएकाले आवतजावत गर्न रोक लगाइएको छ । जसका कारण यात्रुलाई समस्या परेको हो ।

बुटवलबाट काठमाडौंका लागि छुट्ने सवारी साधन सिधा जान नपाएपछि घुमेर जाँदा अपायक पर्ने र इन्धन बढी खर्च हुने गरेको बुटवल–काठमाडौं गुड्ने बसका चालक रमेश कुमालले बताए । उनले कोरोनाकै कारण मानिस थोरै हुने र फेरो लगाउँदा इन्धन मात्र धेरै खर्च हुने गुनासो गरे । राजमार्ग चौराहासम्म आएर भैरहवा हुँदै जान परेपछि कतिपय गाडी फर्किने गरेको भन्दै उनले पर्ता नै नपर्ने र सडक अवरुद्ध हुँदा अप्ठ्यारो हुने बताए । ‘नयाँ बाटोमा गाडी चलाउँदा सुरुमा गाह्रो लाग्छ,’ उनले भने, ‘बानी परेको सडक खण्डमा हरेक विषय ज्ञान हुन्छ, बाटो काटिन्छ । नयाँमा भीड धेरै हुन्छ, फेरो, मोडबारे अन्जान भइन्छ, कहिलेकाहीं दुर्घटना निम्तन पनि सक्छ ।’

गएको बुधबारदेखि काम सुरु भए पनि केही दिन लाग्ने भएकाले राजमार्ग चौराहामा ब्लकेड राखी यात्रुलाई वैकल्पिक बाटोबारे जानकारी दिइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । चिनियाँ प्राविधिकले पुल मर्मतको काम थालेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । उनका अनुसार पुलमा डाइभर्सन निर्माणका लागि ह्युमपाइप र ग्याबिन जाली लगाई पानीको निकास गराउँदै साना सवारी साधन गुड्न मिल्ने बनाउन थालिएको छ । राजमार्गअन्तर्गत दाउन्ने खण्डमा दैनिक चार/पाँच घण्टा जाममा बस्नुपर्ने बाध्यता छ । कावासोतीबाट बुटवल पुग्न यहाँकी भावना घिमिरेलाई सात घण्टा लाग्यो । ‘दाउन्नेको जाममा चार घण्टा बस्नुपर्‍यो,’ उनले भनिन्, ‘भुमही हुँदै भैरहवा भएर बुटवल पुगें ।’ बिरामी तथा वृद्धवृद्धा मर्कामा परेका छन् ।

पश्चिम नवलपरासीको सुनवलस्थित तुरियाखोलाको पुल भासिएपछि एक सातायता यातायात सञ्चालन हुन सकेको छैन । पुलबाट साना सवारी साधन र एम्बुलेन्स आवातजावत गर्दै आए पनि भदौ १२ गतेबाट पुलमा थप क्षति हुन नदिन सडक विभागले यातायात सञ्चालनमा पूर्णतः रोक लगाएको हो । जसका कारण भित्री सडक हुँदै यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ । भित्री सडकको अवस्था पनि जीर्ण भएकाले सवारी जाम बढेको छ । सुनवलमा नै सामान्य वर्षामा पनि डाइभर्सनबाट यातायात सञ्चालन हुन नसक्दा यो खण्डमा सवारीको जाम लामो हुने गरेको छ । ठूला सवारीसाधन कच्ची सडकमा फसेपछि समस्या थप बल्झिएको हो । बेलिब्रिजको निर्माणको काम सुरु भएको भए पनि १० दिनभन्दा बढी समय लाग्ने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मरासिनीले बताए ।

पाल्पाअन्तर्गत सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर र तानसेन–तम्घास सडकमा यात्रुले सास्ती खेपिरहेका छन् । सरोकारवाला निकायले बेलैमा ध्यान नपुर्‍याउँदा यात्रुलाई जहिलेसुकै सास्ती भोग्नु परेको हो । सिद्धार्थ राजमार्ग दिनहुँजस्तै बन्द हुने र खुल्ने गरेको छ । पहाडबाट तराई जाने र तराईबाट पहाड आउने यात्रुको मुख्य सडक सिद्धार्थ राजमार्ग नै हो । स्याङ्जा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, कास्की, मुस्ताङसम्म पुग्ने यात्रुले छोटो दूरी पर्ने भएकाले सिद्धार्थ राजमार्ग रोज्ने गर्छन् । भारतबाट आउने अधिकांश यात्रुले पनि यही राजमार्ग प्रयोग गर्छन् । यो राजमार्ग भएर दैनिक १० हजार सवारी साधन ओहोरदोहोर गर्छन् । तर यात्रुले भने वर्षायाम लागेपछि पहिरो र सडक जामको समस्या खेप्नु पर्ने बाध्यता छ । ‘वर्षायाम सुरु भएपछि तीन/चार घण्टा जाममा पर्नु सामान्यजस्तै भइसकेको छ,’ तानसेन नगरपालिका–३ का सुशील पौडेलले भने, ‘जुनसुकै स्थानमा पहिरो खस्ने, सडक जाम हुने समस्याले हैरानी खेप्नु परेको छ ।’

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र, पैठेडाँडा, भूतखोला, झुम्सा, हिउँदेखोला, २४ माइल, डुम्रेलगायत स्थानमा सडक भासिएको छ । यी स्थानमा सवारी साधन एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था छ । जसले गर्दा सवारी साधन बिग्रने हो भने घण्टौं जाममा फस्नु पर्ने जिप चालक सुजन खड्काले बताए । ‘बुटवल पुगेर पाल्पा फर्किन वर्षायाम लागेपछि कम्तीमा ७ घण्टा लाग्छ,’ उनले भने, ‘यात्रुले छाडेर फर्कने भन्दै रिजर्भ लगेका हुन्छन् । हाम्रो पीडा कसले बुझ्ने ?’ राजमार्गमा पहिरो खस्ने समस्या बढेको छ । डुम्रेमा डाँडै भासिएको छ । साता दिनसम्म पनि दोहोरो यातायात सञ्चालन हुन सकेको छैन । गौडे, कालीमाटीलगायत स्थानमा नयाँ पहिरो खसेको छ । उता राम्दीतर्फ पनि पहिरो खस्ने समस्या उस्तै छ । अगाहाखोला, पीपलडाँडा, सेरालगायत स्थानमा पहिरो खसेर हैरानी खेप्नुपर्ने बाध्यता छ ।

‘राजमार्गको जतासुकै उस्तै अवस्था भइसकेको छ,’ यात्रु जीवन रेगामी मगरले भने, ‘सरोकारवाला निकायको बेलैमा ध्यान नपुग्दा यस्तो समस्या आएको हो ।’ सडकबाट माथिल्लो भागमा मोटरबाटो जथाभाबी खन्ने समस्या बढेको छ । तानसेनदेखि तम्घास जाने सडकको ढुंगाखानी, सम्मोबारी, सिरुखर्क, मालमूल, जोर्तेलगायतका स्थानमा पनि पहिरोको समस्या छ । जथाभाबी सडक चौडा गर्ने, नाली नबनाउने, रिटेनिङ वाल नलगाउँदा पनि पहिरोको जोखिम राजमार्गमै बढेको छ । कालीगण्डकी करिडोरको पीपलडाँडा, निकीचौर, भोअर, असेर्दीलगायतका स्थानमा पहिरो खस्ने समस्या बढेको छ । सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले सडक डिभिजनको जनशक्तिले भ्याएसम्म काम गरेको बताए ।

अर्घाखाँचीमा वर्षायाममा सडक भत्किएर यात्रा कठिन बनेको छ । सन्धिखर्क–धारापानी–ढाकावाङ सडक निर्माण कार्य दुई दशकदेखि निरन्तर चलिरहेको छ । ग्राभेल दुई वर्ष पनि टिकेन । बर्खामा भेलले सडकका गिट्टी, ढुंगा र बालुवा बगाउँछ । हिलाम्ये चिप्लो सडकमा गाडी वारपार गर्न सकस छ । यो प्यूठान सदरमुकाम र सन्धिखर्क जोड्ने जिल्लाको मुख्य सडक हो । हिउँदमा खाल्डाखुल्डी पुर्ने, सम्याएपछि सरर गाडी चल्छन्, बर्खामा सबै भेलेले खोलेर बगाउँछ । स्थानीय लालबहादुर खत्रीले दुई दशकदेखि यो सडक निर्माण र मर्मत गरिरहेको देखेका छन् । ‘एउटै सडक बर्सेनि निर्माण भइरहन्छ,’ उनले भने, ‘हिउँदमा बनाउने, बर्खामा पानीले बिगारेर पुरानै अवस्थामा फर्काउँछ ।’ गाउँबाट सहर आउजाउ गर्ने, नुन, तेल, चामल ल्याउनलाई बर्खामा सकस छ ।

गुल्मी सदरमुकाम तम्घास जोड्ने सन्धिखर्क–ठूलापोखरा हुँदै तम्घास र अर्कोतिर वाङ्ला–बल्कोट–तम्घास सडक पनि दुई वर्षअघि ग्राभेल गरिएको हो । धेरै ठाउँमा नाली काटिएको छैन । अहिले धेरै ठाउँमा सडक बिग्रेको छ । उकालो सडकमा भेलले ग्राभेल बगाएर लगेको छ । पानी परेका बेला गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्‍याउन समेत सकस भइरहेको छ ।

शीतगंगा नगरपालिकाको दुई करोड रुपैयाँ लगानीमा भेडामारे–सिमलपानी सडक ग्राभेल यसै वर्ष सम्पन्न भयो । गत आर्थिक वर्षको असार मसान्तसम्म ग्राभेल सकिएपछि बर्खा लाग्यो । भेडामारेदेखि छेडा, पावरा–विक्रम हुँदै कपिलवस्तुको पिपरासम्म जोड्ने सडक हो । अहिले यो बाटोमा गाडी चल्दैनन् । बीचबीचमा सडक खाल्डाखुल्डी छन् । माथिबाट पहिरो खसेर सडक पुरेको छ । ‘धेरै वर्ष निर्माण गर्दै बल्ल ग्राभेल गरियो,’ शीतगंगा नगरपालिका उपप्रमुख टीका रेग्मीले भने, ‘भेडामारेदेखि विक्रम पावरसम्म गाडी चल्दैन । बर्खाको भेलले बाटो बिगारेको छ ।’ बजेट अभावमा एकैचोटि पिच गर्न नसकिएको उनले बताए । बिग्रेको बाटो मर्मत गर्दै जानुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २१, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?