१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेस वडा तहमा पुरानाकै वर्चस्व

४ जिल्लाका धेरैजसो वडामा सहमतिमै नेतृत्व चयन 
 पाल्पा, गुल्मीलगायतमा भदौ २२ लाई तोकियो, सदस्यता विवादका कारण बाँके र बर्दियामा अधिवेशन नै भएन
प्रदेश ब्युरो

लुम्बिनी — लुम्बिनी प्रदेशका ४ जिल्लामा शुक्रबारदेखि नेपाली कांग्रेसको नेतृत्व छनोट प्रक्रिया सुरु भएको छ । रूपन्देही, अर्घाखाँची, पश्चिम नवलपरासी, दाङमा वडाको नेतृत्व छनोट भएको हो । पाल्पा, गुल्मीलगायतका जिल्लामा भदौ २२ मा वडा अधिवेशन गर्ने तयारी छ । बाँके र बर्दियामा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको छ ।

कांग्रेस वडा तहमा पुरानाकै वर्चस्व

लामो समयपछि नेतृत्व चयनको प्रक्रिया सुरु भएकाले अनुभवी र युवा पुस्ताबीच प्रतिस्पर्धा देखिएको छ । केही जिल्लाका वडामा युवा पनि नेतृत्वमा पुगेका छन् तर धेरैजसोमा पुरानै नेतृत्व दोहोरिएको छ । कांग्रेसको विधानअनुसार टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमति, प्रदेश कार्यसमिति र केन्द्रीय समिति गरी ८ तहको पार्टी संरचनाको व्यवस्था छ ।

क्षेत्र, जिल्ला हुँदै केन्द्रीय नेतृत्वमा पुग्न वडा तहबाटै छनोट हुनुपर्ने भएकाले जिल्लादेखि केन्द्रमा बसेर राजनीति गर्नेहरू पनि अहिले जिल्ला र वडामा भेला भएका छन् । निर्वाचन भएका अधिकांश वडामा सहमतिमै नेतृत्व चयन भएको छ । अर्घाखाँचीमा पत्रकार पनि वडाको नेतृत्वमा पुगेका छन् ।

रूपन्देहीका अधिकांश वडामा शुक्रबार नै नेतृत्व चयन भएको छ । जिल्लाका १ सय ५५ वटा वडामध्ये ७ वडामा मात्र निर्वाचन रोकिएको छ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए । बुटवल–३, ८ र ९, तिलोत्तमा–१४, सम्मरीमाई–२ र ६, देवदह–४ र १० मा शनिबार निर्वाचन हुने अधिकृत घिमिरेले बताए ।

कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकका अनुसार वडा तहका निर्वाचनमा क्षेत्रीय प्रतिनिधिका आकांक्षी धेरै देखिएको र प्रायः वडामा निर्विरोध नेतृत्व चयन भएको छ । ‘युवाको सहभागिता उल्लेखनीय देखियो,’ उनले भने, ‘हरेक पदमा एक तिहाइ महिला पनि चुनिएका छन् ।’ धेरै वडामा सर्वसम्मत नेतृत्व चुन्ने प्रयास गरिएको भए पनि केहीमा विरोध र आकांक्षी धेरै आएकाले रोकिएको उनले बताए । रूपन्देहीमा कांग्रेसका २२ हजार क्रियाशील सदस्य छन् ।

दाङका १० स्थानीय तहका सय वडामा कांग्रेस वडा अधिवेशन सुरु भएको छ । सहायक निर्वाचन अधिकृत कुमारराज श्रेष्ठका अनुसार जिल्लाभर १ सय मतदान अधिकृत र २ सय सहायक मतदान अधिकृत खटिएका छन् । शनिबार सबै निर्वाचन टोली वडा तहमा पुग्ने र आइतबारदेखि निर्वाचन सुरु हुने उनले बताए । वडास्तरमा सहमतिबाटै नेतृत्व चयनमा जोड दिइएको कांग्रेस जिल्ला सचिव शंकर डाँगीले बताए । ‘धेरै वडामा सहमति पनि भइसकेको छ,’ उनले भने, ‘नभएका वडामा मतदान प्रक्रियामा जान्छ ।’

जिल्लामा १९ हजार बढी मतदाता रहेको डाँगीले बताए । अहिलेको अधिवेशनमा वडा कार्यसमितिका पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधि चयन हुने उनले बताए । तलबाट जनमत लिएर मात्रै माथिल्लो नेतृत्वमा जान पाइने विधानको व्यवस्थाअनुसार नेताहरू वडा तहमै सर्वसम्मत र प्रतिस्पर्धामा उत्रिएका छन् ।

अर्घाखाँचीका अधिकांश वडामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । ६१ वडामध्ये धेरै वडामा शुक्रबार निर्वाचन सकिएको हो । नेतृत्व चयनमा सर्वसम्मतको प्रयासले पुराना नेता नै नेतृत्वमा पुगेका छन् । क्षेत्रीय प्रतिनिधि र केही वडामा युवा पनि नेतृत्वमा छनोट भएका छन् । पत्रकार पनि कांग्रेसको क्षेत्रीय समितिमा चयन भएका छन् । पत्रकार प्रेमनारायण आचार्य सन्धिखर्क नगरपालिका–१० बाट र पत्रकार हलिन खाँन मुस्लिम कोटाबाट प्रतिनिधि चयन भएको कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले बताए ।

पश्चिम नवलपरासीका ७ स्थानीय तहका २१ वडामा अधिवेशन सकिएको छ । ७४ वडामध्ये अधिकांशमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । पश्चिम नवलपरासीमा कांग्रेसका १ हजार २ सय ८४ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । जिल्लामा नेतृत्व चयनका लागि कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनाल पक्षधरबीच कडा प्रतिस्पर्धा छ । वडा अधिवेशनले जिल्ला र नगर अधिवेशनलाई प्रभावित पार्ने भन्दै दुवै पक्ष आ–आफ्नो पक्षलाई जिताउने अभियानमा छन् ।

कांग्रेस पाल्पाले शुक्रबारको वडा अधिवेशन स्थगन गरेको छ । क्रियाशील सदस्यता छुट भएका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकेपछि प्राविधिक कारण जनाउँदै स्थगन गरिएको हो । पार्टी सचिव झपेन्द्र गहिरेले केन्द्रीय निर्वाचन अधिकृत दिनेश त्रिपाठी आएपछि शनिबार बैठक बसेर मिति तय गर्ने बताए । वडा अधिवेशनको सम्पूर्ण तयारी भइसकेको कांग्रेसले जनाएको छ ।

पाल्पामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य छन् । दुई नगरपालिका र आठ गाउँपालिकामा ८१ वडा छन् । जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री आइसकेको छैन । पाल्पामा क्षेत्र १ मा ६ सय ६७ जना र क्षेत्र २ मा ७ सय ८० जना प्रतिनिधि चयन हुनेछन् । यिनीहरूमध्येबाटै क्षेत्रीय र जिल्ला कार्यसमिति चयन हुनेछ । जिल्लाबाट ५१ जना महाधिवेशन प्रतिनिधि, ६४ जना प्रदेश महाधिवेशन प्रतिनिधि र ५५ जना जिल्ला कार्यसमितिमा चयन हुनेछन् ।

गुल्मीमा कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भदौ २२ मा वडा अधिवेशन गर्ने निर्णय गरेको छ । जिल्लाका १२ स्थानीय तहका ९३ वडामा एकैसाथ अधिवेशन गर्ने गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

-माधव अर्याल (पाल्पा), सन्जु पौडेल, (लुम्बिनी) दुर्गालाल केसी (दाङ), वीरेन्द्र केसी (अर्घाखाँची) र नवीन पौडेल (पश्चिम नवलपरासी)

प्रकाशित : भाद्र १९, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?