कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेस नेता गुट बनाएरै दौडधुपमा

वडा अधिवेशनमा आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि ल्याउन नेताहरुको लबिङ तीव्र
वीरेन्द्र केसी

अर्घाखाँची — कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका तोकिएपछि गुल्मी र अर्घाखाँचीका जिल्ला सभापति पदका आकांक्षी माहोल बनाउन दौडधुपमा लागेका छन् । विभिन्न पेसा व्यवसायका लागि संघ र प्रदेश राजधानीमा रहेका पार्टी कार्यकर्तासँग भेटघाट, बैठक र छलफलसहित आफ्नो पक्षमा वातावरण बनाउन केन्द्रीय नेताहरूकहाँ धाइरहेका हुन् । 

कांग्रेस नेता गुट बनाएरै दौडधुपमा

आफूले जिल्ला सभापति जित्नका लागि भदौ १८ गते हुन लागेको वडा अधिवेशनमा आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि ल्याउन नेताहरूको लबिङ तीव्र छ । कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि यतिबेला सभापतिका आकांक्षी नेताहरू काठमाडौंमा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य मन्त्रीलाई बधाईसँगै वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शीर्ष नेताहरूकहाँ पुगेका छन् ।

गुल्मी कांग्रेस सभापति भुवन श्रेष्ठ दुई साता राजधानी बसेर जिल्ला फर्किएका छन् । उनी पुनः अधिवेशनबाट पार्टी सभापतिमा दोहोरिने कसरतमा छन् । प्रधानमन्त्री, मन्त्रीलाई बधाई दिँदै अन्य नेताहरूलाई भेटेर फर्केका हुन् । सभापतिका आकांक्षी जिल्ला सचिव खिलध्वज पन्थी राजधानीमा छन् । नेतासँग भेटघाटसहित गाउँमा विकास निर्माणका योजनामा बजेट पारिदिन विभिन्न विभागीय प्रमुख र मन्त्रालयमा निवेदन दिए । अर्का आकांक्षी विष्णु बलाल जिल्लाका कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

जिल्ला नेताहरू अहिले देउवा र वरिष्ठ नेता पौडेल समूहमा विभाजित भएरै प्रचारमा जुटेका छन् । श्रेष्ठ, पन्थी र बलाल पौडेल पक्षधर हुन । गुल्मीमा कमजोर रहेको देउवा समूह मिलेरै नेतृत्वमा जाने रणनीतिमा छ । उक्त समूहबाट सभापतिमा कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाको चर्चा छ । चन्द्र केसी र छन्द पहराई प्रदेशमा जाने भएपछि थापाको चर्चा भएको हो । सभापति बन्न गाउँमा जनाधार कमजोर भएकाले अन्य पदमा मिलेरै छिर्ने रणनीतिमा छ । आउँदो संसदीय निर्वाचनमा पार्टीलाई जिताउन र संगठन बलियो बनाउन आफू एकपटक सभापतिमा दोहोरिन चाहेको सभापति श्रेष्ठले बताए । अहिले गाउँदेखि केन्द्रसम्म अधिवेशन केन्द्रित भेटघाट र गतिविधि भइरहेको उनले बताए । राजधानीमा रहँदा गुल्मीबाट विभिन्न पेसा, व्यवसाय र रोजगारका सिलसिलामा काठमाडौंमा बस्ने गुल्मीबासी कांग्रेसलाई श्रेष्ठ र पन्थीले भेटघाट गरे । युवामाझ पन्थी लोकप्रिय छन् । पौडेल पक्षमा तीन जना उम्मेवार भएकाले सभापतिमा जित्न सकिने रणनीति देउवा समूहले बनाउँदैछ । सबैको सहमति र सल्लाह अनुसार अधिवेशनबाट नेतृत्व लिन अघि बढ्ने थापाले बताए । केन्द्रीय सदस्य चन्द्र भण्डारीको गृहजिल्ला हो गुल्मी । अघिल्लो महाधिवेशनमा भण्डारी देउवातिर भए पनि यसपालि छैनन् । अधिकांश नेता/कार्यकर्ताले नयाँ नेतृत्व खोजेकाले आफू सभापतिमा अघि सरेको सचिव पन्थीले बताए । ‘विभिन्न पेसामा काठमाडौं, बुटवलमा रहेका कांग्रेस कार्यकर्तासँग भेटघाट गरेको छु,’ उनले भने ।

अर्घाखाँचीका नेता काठमाडौं आउजाउ गरेका छन् । जिल्ला सभापति विष्णु मुस्कान दुई साता काठमाडौं बसेर भेटघाट गरी बुधबारदेखि बुटवलका कार्यकर्तासित भेटघाटमा लागेका छन् । ‘महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भनेर दबाब दिन काठमाडौं गएको हुँ,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीलाई बधाईसँगै पार्टी नेताहरूसँग भेटघाट गरें । मन्त्री र विभाग प्रमुखसँग अर्घाखाँचीका चालु विकास योजना र नयाँ योजनाका लागि बजेट माग गरेको छु ।’ राजधानी रहँदा पार्टी नेता/कार्यकर्तासँग महाधिवेशन केन्दित छलफल र सरसल्लाह गरेर फर्केको उनले बताए । केन्द्रीय नेतादेखि जिल्लाका अधिकांश नेता/कार्यकर्ताको सल्लाहअनुसार आफू पुनः सभापतिमा दाहोरिन चाहेको उनले बताए । उनी वरिष्ठ नेता पौडेल निकटतम् हुन् ।

अर्घाखाँचीबाट जिल्ला सभापतिका चार जना आकांक्षी देखिएका छन् । पौडेल समूहबाट मुस्कान र महासमिति सदस्य युवा नेता केशव श्रेष्ठ छन् । देउवा गुटबाट महासमिति सदस्य एवं शिक्षक संघका अध्यक्ष यादवप्रसाद घिमिरे र बाबुराम पौडेल मैदानमा उत्रिएका छन् । पौडेल समूहको बाहुल्य रहेको जिल्लामा पार्टी केन्द्रीय नेताले गुट बनाएरै अधिवेशन केन्द्रित गतिविधि सञ्चालन गरेपछि मुस्कान र श्रेष्ठमध्ये एक जना सभापतिको उम्मेदवार बन्न भेटघाटमा कार्यकर्ताले दबाब दिएका छन् । मुस्कान अघिल्लो अधिवेशनमा निर्विरोध सभापति भएका थिए । श्रेष्ठ निकट समूहले मुस्कानलाई लुम्बिनी प्रदेश महामन्त्री वा केन्द्रीय सदस्य बन्न सुझाव दिएका छन् । मुस्कान निकट कार्यकर्ताले एकपटक सभापतिमा दोहोरिन दबाब दिएका छन् । समयमै क्रियाशील सदस्यता पार्टी केन्द्रलाई बुझाउने अर्घाखाँची पहिलो जिल्ला भएकाले र संगठन निर्माणमा राम्रो भूमिका निर्वाह गरेकाले धेरैले आफूलाई सभापतिमा दोहोर्‍याउन चाहेको मुस्कानले बताए ।

‘सभापतिमा मेरो आकांक्षा छ,’ श्रेष्ठले भने, ‘मुस्कान दाइ प्रदेश वा केन्द्रमा गएर मलाई समर्थन गर्न भनेको छु । परिस्थिति अनुसार हामी दुईमध्ये एक जना मात्रै सभापतिको उम्मेदवार बन्छौं ।’ देउवा समूहकी कांग्रेस केन्द्रीय सदस्य एवं संघीय संसदीय दलकी सचेतक पुष्पा भुसालले सभापतिमा घिमिरेलाई अघि सारेकी छन् । उनी यसपालि आफू निकटलाई सभापति बनाउन दौडपुधमा छन् । देउवा समूहमा घिमिरेभन्दा आफू पुरानो भएकाले बाबुराम सहयोग जुटाउन केन्द्रीय नेताकहाँ धाएका छन् । ‘देउवा समूहबाट म नै सभापतिको उम्मेदवार हुँ,’ उनले भने, ‘मलाई सबैको सहयोग रहन्छ ।’

अर्घाखाँचीमा अघिल्लो अधिवेशनमा संस्थापन र इतर समूहको गुट थिएन । यसपालि देउवा र पौडेल गुट बनाएर लबिङमा लागेको गाउँका कार्यकर्ताले मन पराएका छैनन् ।

प्रकाशित : भाद्र १६, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?