२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चुरेको पहिरोले उठीबास

घना बस्तीमा पहिरो पसेपछि जोखिममा परेका परिवार सुरक्षित स्थान खोजेर सर्दै
सन्जु पौडेल

लुम्बिनी — सोमबार बिहान साढे ११ बजेतिर बुटवल–३ ज्योतिनगरकी कमला पाण्डे खाना पकाइरहेकी थिइन् । त्यही बेला टिनले छाएको २ कोठे घरभित्र हिलोसहितको लेदो पस्न थाल्यो ।

चुरेको पहिरोले उठीबास

प्यारालाइसिस भएर बिस्तरामा परेका ७१ वर्षीय श्रीमान् कृष्णदत्तलाई निकालेर सार्ने उपाय कमलाको रहेन । ‘आत्तिँदै वरपरकाले सुन्ने गरी चिच्याएँ,’ ६८ वर्षकी उनले भनिन्, ‘तीन जना छिमेकी भाइहरू आएर बोकेर तलसम्म लगिदिनु भयो ।’ श्रीमान्लाई रिक्सामा राखी छोरीको घरमा लगिएको उनले सुनाइन् । उनी बुटवलको बुद्धनगरमा आश्रय लिएर बसेका छन् ।

अविरल वर्षाले देशैभरि पारेको असरसँगै बुटवल–३ मा २३ वर्षपछि चुरे पहाडदेखि खसेको पहिरोले १० घर पूर्णरूपमा क्षतिग्रस्त भए भने २ सयभन्दा बढी घरधुरी उच्च जोखिममा छन् । २०५५ सालको पहिरोपछि राष्ट्रपति चुरे संरक्षणले बर्सेनि बजेट निकासा गरी ज्योतिनगरको डाँडामा चेक ड्याम बनाएको छ । यसपटक आएको पानीले पहाडका रुख, ठूला ढुंगासहित ड्याम नै नाघेर बस्तीमा पसी विस्थापित गराएको हो । पूर्ण रूपमा घरमा क्षति भएका स्थानीय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने जोखिममा रहेकाहरूले अन्यत्र कोठा भाडामा लिई सर्ने काम गरिरहेका छन् ।

चुरे पहाडको तीन स्थानबाट पहिरो खसेको छ । एउटा पहिरोले पहिलो दिन ४ र अर्को दिन ७ गरी ११ घरमा पूर्णरूपमा क्षति गरेको हो भने अर्को पहिरो डाँडामा रहेको जनज्योति प्राविदेखि लक्ष्मीनगर पार्क हुँदै सडकमा बगिरहेको छ । जसलाई घरमा पस्न नदिन स्थानीयले नाली निकास भएको स्थानमा सडक फोडी निकास दिएका छन् । त्यस्तै, अर्को पहिरोले बहुमुखी क्याम्पसको मैदान हुँदै बिटीआई, नेपाल हाइड्रो पावर र मुख्य सडकमा नै असर गरिरहेको छ । तीनवटै स्थानमा हिलोसहित लेदो माटो डोजरको सहायताले पन्छाई सफा गर्ने काम भइरहेको छ ।

स्थानीय अमृत खड्काले अहिले जोखिम भएका १ सय ५० बढी घरका स्थानीय बस्तीबाट अन्यत्र सरिसकेको बताए । पानी ट्यांकी र पर्खालले एउटा बस्तीलाई जोगाएको उनले जानकारी दिए । ‘पहिरो खाली स्थान हुँदै तल आएको छ,’ उनले भने, ‘पानी ट्यांकी फुट्यो भने ज्योतिनगर पूरै र लक्ष्मीनगरमा पनि क्षति पुग्ने निश्चित छ ।’ मुख्य सडक हुँदै लक्ष्मीनगर र ज्योतिनगरमा २ हजारभन्दा बढी घरधुरी छन् । अहिले ती सबै घर जोखिममा रहेको उनले बताए ।

बुटवल उपमहानगरपालिकाका वातावरण इन्जिनियर योगेश चापागाईंले तत्काललाई पहिरो खसेको मुख्य स्थानमाथिको भाग कटान गरी पोन्डिङ गर्ने र पानी परिहाले माथिबाट बग्ने भल त्यही खाडलमा जम्मा भई बस्तीमा असर नगर्ने गरी काम सुरु गरेको बताए । बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष टंक पराजुलीले वडा ३ र ४ को सीमामा रहेको मितेरी खोल्सा र वडा ३ को खोल्साबाट लेदोसहितको माटो बगेर आउन थालेपछि जोखिम बढेको बताए । त्यस्तै लक्ष्मीपार्कको पश्चिम–उत्तरतर्फको भाग ढुंगा–माटोले भरिएको उनले सुनाए । पराजुलीका अनुसार लक्ष्मीपार्कको पूर्वतर्फबाट बग्ने सुखौरा खोलामा लगाइएको चेक ड्याम कतै बगाएको छ भने कतै क्षति पुगेको छ । उपमहानगरपालिकाको बुटवल–वसन्तपुर केबलकार र रिङरोड हिउँद र वर्षायाममा पहिरो खस्ने स्थानमै पर्छ । उक्त रोड निर्माणको काम अहिले रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले काम अघि नबढेको स्थानीयले बताए ।

राष्ट्रपति तराई मधेस चुरे संरक्षण समिति बुटवलका जलाधार व्यवस्थापन अधिकृत विमल राउतका अनुसार अहिलेको पहिरोको तुलनामा २०५५ सालको पहिरो सानो रहेको थियो । यसपटक चुरेबाट एकै ठाउँमा जोडिएर खसेकाले धेरै क्षति भएको उनले बताए । आफूहरूले लक्ष्मीनगरको डाँडामा चेक ड्याम बनाएको र त्यसले पहिरो बस्तीमा पस्नबाट जोगाएको भन्दै उनले ज्योतिनगरमा भने काम गर्न नपाउँदै माथिको चेकड्याम नाघेर पहिरो आएको बताए ।

‘केबुलकार पहिरो खसेको स्थानदेखि पश्चिमतर्फको साइडमा बनाउने भनिएको छ,’ उनले भने, ‘त्यसका लागि अध्ययन त भएको होला तर बुटवलको सिद्धबाबा क्षेत्रभित्र पर्ने स्थान जोखिमयुक्त स्थानमै पर्छ ।’ चुरे क्षेत्रमा ठूला संरचना बनाउनु जोखिमपूर्ण भएकाले वातावरणीय मूल्यांकन गर्दा त्यसको व्यवस्थापन गरिने भने पनि कार्यान्वयन गर्न चुनौती रहेको उनले सुनाए । केबुलकार निर्माण गर्दा प्राकृतिक क्षतिलाई न्यूनीकरण गर्दै वातावरणीय संरक्षणका लागि स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?