१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिद्धार्थ राजमार्ग तीन दिनपछि एकतर्फी खुल्यो

माधव अर्याल

पाल्पा — आइतबार बिहान ९ बजेदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग मंगलबार अपराह्नदेखि एकतर्फी रुपमा खुलेको छ । पहाडै भासिएर राजमार्गमा खसेको पहिरोको जगैदेखि ढुंगामाटो हटाएपछि राजमार्ग एकतर्फी खुलेको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग तीन दिनपछि एकतर्फी खुल्यो

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका–८ तल्लो डुम्रे बजार नजिक खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरूद्ध भएको थियो । एक घर पुरिएको र थप चार घरमा क्षति पुग्ने गरी खसेको पहिरो पन्छाउन तीन दिन लागेको सडक डिभिजनले जनाएको छ ।

पहिरो ठूलो भएको र ढुंगामाटो फाल्न समस्या भएको थियो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन थप समस्या परेको सडक डिभिजनका सूचना अधिकारी खत्रीले जानकारी दिए । मंगलबार बिहान दुई एक्साभेटर र दुई डोजरका साथै ट्रिपर प्रयोग गरेर पहिरो पन्छाइएको हो । राजमार्ग एकतर्फी खुले पनि वर्षा हुनासाथ समस्या हुन सक्ने भएकाले सावधानी अपनाएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोषकुमार भट्टराईले बताए ।

सडक एकतर्फी खुलेपछि तीन दिनदेखि राजमार्गमा अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । स्थानीय सन्तोष कार्कीका अनुसार महेन्द राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा जाममा फसेका सवारीसाधन समेत पोखरा हुँदै आएकाले पनि सयौं सवारी साधनको जाम भएको थियो । झण्डै तीन किलोमिटर क्षेत्रको लामो सवारीलाई गन्तव्यतर्फ पठाउने काम भएको छ । तीन दिनसम्म सडकमा अलपत्र परेको सयौं यात्री खाना, आवासको समस्यामा परेका थिए ।

प्रकाशित : भाद्र १५, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?