तराईमा बाढी, पहाडमा पहिरो

चुरेबाट ढुंगासहितको पहिरो खस्दा ७ घर पुरिए
जथाभावी खनिएका खाडल र डाइभर्सनले डुबान

बुटवल/परासी/पाल्पा/रोल्पा — रूपन्देहीको बुटवल उपमहानगरस्थित घना बस्तीमा निरन्तर पहिरो जान थालेपछि स्थानीय आत्तिएका छन् । आइतबार पहिरोले बुटवल–३ लक्ष्मीनगरका १३ घर पुरेको थियो । सोमबार स्थानीय ज्योतिनगरमा खसेको पहिरोले ७ घर पुरेपछि स्थानीय त्रसित भएका हुन् ।

तराईमा बाढी, पहाडमा पहिरो

बुटवल–३ ज्योतिनगर बमघाटमा चुरेबाट ढुंगासहितको पहिरो खस्दा ५० घर प्रभावित भएका छन् । पहिरोले मानवीय क्षति छैन । इलाका प्रहरी बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा ढुंगासहितको लेदो माटो पसेको छ । आइतबार दिउँसोदेखि पानी रोकिएको छ । तर, चुरेबाट लेदो बग्ने क्रम रोकिएको छैन । चुरेबाट बगेको लेदो पानी सिद्धार्थ राजमार्ग हुँदै अस्पताल लाइनसम्म आएको छ ।

पहिरोले उपमहानगरपालिकाले गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोको क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी, नगर प्रहरी र स्थानीय युवा क्लब पीडितको उद्धारमा जुटेका छन् । कसैलार्ई आफन्त एवं कसैलाई बुटवल बहुमुखी क्याम्पसमा आश्रयका लागि राखिएको छ । बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन् । भूगर्भविज्ञ भोजराज कडेरियाले चुरेको पत्रे चट्टान भएकाले यसको बेलैमा संरक्षण गर्नुपर्ने बताए । ‘पहिरोले १० हजारभन्दा धेरै परिवार बसेको बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको क्षेत्र नै जोखिममा छ,’ उनले भने, ‘यसलाई दीर्घकालीन समाधानका लागि भूक्षयबाट खसेको पहाड संरक्षण गर्ने वा कटान गर्नुपर्ने हुन्छ ।’ बुटवलमाथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवल नै सखाप पार्ने उनले बताए ।

बर्सेनि बाढी

एक वर्षअघि साउनमा पश्चिम नवलपरासीका पाल्हीनन्दन, सुस्ता, सरावल र प्रतापपुरमा डुबान भयो । एक हजारभन्दा बढी घर जलाम्य बने । डुबान क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिदेखि मन्त्रीसम्म अवलोकन गर्न पुगे । उनीहरूले केन्द्र र प्रदेशबाट राहत पाउने र बाढी नियन्त्रणका लागि तटबन्धन र नहर निर्माण गर्ने आश्वासन दिएर फर्किए । पीडितले १५ किलो चामल, दाल र नुनबाहेक अन्य राहत पाएनन् । भत्किएका घर निर्माणका लागि प्रदेश र केन्द्र सरकारको आश गर्दागर्दै यसपटक पनि बाढीले घर डुबाएको छ । ‘गत वर्ष बस्ती डुबेको थियो । नेतादेखि मन्त्रीसम्म आएर हेरे,’ सरावल–६ का दिनेश राजभरले भने, ‘बर्सेनि दोहोरिने घटनाको पनि समाधान नखोजेर हरेक वर्ष राहतको नाममा चामल बाँड्ने मात्र काम भएको छ ।’

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बाढीको स्थलगत अनुगमन गरेर राहत र क्षतिपूर्ति दिने आश्वासन दिए । जिल्लाको मुख्य व्यापारिक केन्द्र परासी, सुनवल र बर्दघाटमा यसअघि अहिलेको जस्तो बाढी आएको थिएन । यस वर्ष एक्कासि बाढी आउँदा स्थानीय पनि आश्चर्यमा परेका छन् । पूर्व–पश्चि राजमार्गको क्षेत्रमा बाढी पस्नुको कारण भने राजमार्ग विस्तारका क्रममा जथाभावी खनिएका खाडल र डाइभर्सन भएको स्थानीयको भनाइ छ । ‘राजमार्ग विस्तार गर्दा जताततै खाडल छन् । यसैबाट बाढी बस्तीमा सोझिएको हो,’ सुनवलका पुरन अधिकारीले भने, ‘खोलाको सतह बर्सेनि बढ्दै जानु र डाइभर्सनमा वर्षाको पानीको निकास नहुने गरी सानो हेम्पपाइप राख्दा पानी बस्तीमा पसेको हो ।’ हिउँदमा बाढी र पहिरो रोकथामका लागि पूर्वतयारी नहुँदा यस वर्ष पनि जिल्लाका सातवटै स्थानीय तहमा बाढी र डुबानले स्थानीय समस्यामा परेका छन् । बाढी आउँदा राहत, उद्धारका लागि हतारिने प्रशासन र स्थानीय तह खोलानालाको सतह घटेपछि चुप लागेर बस्दा बर्सेनि समस्या बल्झिरहेको छ । समयमा नदीको बाँध मर्मत नगर्नु, नदीजन्य पदार्थको अवैध निकासी बढ्नाले पनि बर्सेनि खोला तथा नदीले आफ्नो धार परिवर्तन गरिरहेका छन् ।

राजमार्गमा सास्ती

पाल्पामा पहिरो सफा नगर्दै सवारी साधन गुडाउँदा सिद्धार्थ राजमार्गमा यात्रुले सास्ती खेप्नु परेको छ । हिलाम्मे पहिरोमा सवारी साधन फसेपछि डोजर, स्काभेटरमा टोचन लगाएर तान्नु परेको छ । सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीका अनुसार सवारी साधनका यात्रु आत्तिएकाले पहिरोमाथिबाटै सवारी साधन पास गराउनु परेको बताए । उनका अनुसार फोरह्वील भएका केही साना जिप, स्कर्पियो पहिरोबाट पास गराइएको छ । ठूला बसलाई पनि पास गराउन लाग्दा हिलोमा फसेकाले टोचन लगाएर वारपार गराउनु परेको उनले बताए । ‘वर्षा नरोकिएकाले पहिरोमा हिलो दलदलले समस्या पारेको हो,’ उनले भने, ‘सबै पहिरो पन्छाउन तीन–चार दिन लाग्छ ।’


यहाँ पहिरोको ढुंगामाटो फाल्न तल्लो भागमा घरहरू रहेका छन् । सवारी साधनको लाइन धेरै लामो भएको र यात्रुको दबाबले पहिरो सबै नपन्छाउँदै सवारी साधन वारपार गराउन बाध्य भएको प्रहरीले जनाएको छ । झण्डै ५ सय मिटर माथिल्लो भागबाट खसेको पहिरोले सिद्धार्थ राजमार्ग आइतबार बिहान ९ बजेदेखि अवरुद्ध भएको हो । मुग्लिन–नारायणढ–बुटवलको सडकमा समस्या भएपछि पोखरा हुँदै आएका सवारी साधनका कारण पनि लाइन लामो भएको छ । पश्चिमका नेपालगन्ज, धनगढी, सुर्खेतलगायत जाने र आउने सवारी साधन यही पहिरोमा रोकिएका छन् । सवारी साधन बाटोमै दुई दिनदेखि अलपत्र छन् ।

‘अलपत्र परेका सवारीसाधनलाई पास गराउन लाग्दा झन् समस्या भएको छ,’ सडक डिभिजनका सूचना अधिकारी खत्रीले भने, ‘तर, समस्या समाधन गर्न खोज्दा झन् सास्ती बेहोर्नु परेको छ ।’ पहिरो पन्छाउन माटो साइडमा फाल्न पाउने हो भने बिहानदेखि बेलुकीसम्म दुईतर्फबाट डोजर लगाए सकिन्छ । तर, टिपरमा बोकाएर फाल्ने हो भने तीन/चार दिन समस्या आउने उनले बताए । पहिरोले तीन घरमा क्षति पुगिसकेको छ । तानसेन नगरपालिका–८, डुम्रेकी शान्ति सारुको घर पूर्ण रूपमा पहिरोले पुरेको छ । सडकदेखि तल्लो भागमा रहेका उकबहादुर सारु र टीकाराम थापाको घरसम्म पहिरो पसेको छ । ‘प्रशासन, प्रहरीले जबर्जस्ती माटो फाल्न लगाएपछि हामीलाई सह्य भएन,’ थापाले भने, ‘घरमा पहिरो आएर पसेको छ । प्रशासनले राहत, उद्धारको कुरै गरेन । एकैपटक हाम्रो घर भएतर्फ डोजर लगाएर माटो फाल्न खोजेको थियो ।’

सहिद मार्ग अवरुद्ध

निरन्तर वर्षाका कारण दाङदेखि रोल्पा हुँदै रुकुम जोड्ने सहिद मार्गका विभिन्न खण्डमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । पहिरो पन्छाउँदै आवागमन सुचारु गर्ने प्रयास गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घोराहीदेखि होलेरीबीचको सडक खण्डमा दिनमा पनि निकैपटक अवरुद्ध हुने गरेको छ । कालोपत्रसमेत भत्किएकाले नियमित सवारी साधन सञ्चालन हुन मुस्किल भएको छ ।

होलेरीदेखि नुवागाउँ हुँदै गैरीगाउँको तिलासम्मको खण्डमा पनि निकै पहिरो खसेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । ‘नुवागाउँको भाङ्गोबारी, गैरीगाउँको गरगरे, माडीको कोर्चाबाङलगायतका क्षेत्रमा ठूलठूला पहिरो खसेका छन्,’ सुवेदीले भने, ‘प्रहरीले पहिरो पन्छाउँदै सडक सुचारु गर्ने प्रयास गरिरहेको छ ।’ सडकमाथिबाट पहिरो र ढुंगासमेत खस्ने भएकाले बर्सेनि यहाँ पनि समस्या देखिँदै आएको छ । ‘सहिद मार्गको लगानी ठूलो भए पनि समयमै सडक निर्माण कार्य सकिएन,’ त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले भने, ‘हाम्रो आफ्नो क्षेत्रमा यो मार्ग भएकाले छिट्टै निर्माण भए हुन्थ्यो भन्ने चाहेका छौं ।’

प्रकाशित : भाद्र १५, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?