१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) कमजोर

दुवै पक्षबाट नेता कार्यकर्ता फकाउने र रोक्ने प्रयास जारी
घनश्याम गौतम

रूपन्देही — माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो पुस्ताका नेताले छोडेपछि लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । लुम्बिनी प्रदेशबाट नेपाल पक्षमा दोस्रो पुस्ताका प्रभावशाली नेता थिए । केही समय मध्यमार्गी धारमा रहेर एकताको लबिङ गर्दै आएका नेताले साथ छोडेपछि समाजवादी केन्द्रीय नेतृत्वविहीन जस्तै छ । 

लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) कमजोर

लुम्बिनी प्रदेशबाट नेपाल पक्षमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली, उप महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य ठाकुर गैरेलगायतले नेपालको साथ छोडेर एमालेमै लागेका हुन् । ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मासहितका नेता नेकपा एमालेमै छन् । विभाजनले एमालेलाई धेरै असर नपरे पनि नयाँ पार्टी समाजवादी कमजोर देखिएको हो । तर, प्रदेशबाट मेटमणि चौधरी, डा. विजय पौडेल, रामकुमारी झाँक्री, भागवत नेपाली लगायतका नेताहरु समाजवादीको नेतृत्वमा छन् ।

केन्द्रीय नेता एमालेमा रहेसँगै जिल्ला र स्थानीय तहमा पनि मध्यमार्गी नेताहरुकै प्रभाव कारण एकीकृत समाजवादीलाई संगठन निर्माणमा चुनौती छ । तर, केही तेस्रो पुस्ताका नेताले भने संगठन निर्माण सुरु गरेका छन् ।

जिल्ला तहमा रूपन्देहीमा राजु गुरुङले भुसाल एमालेमै रहेपनि जिल्लाको संगठन निर्माणमा कुनै असर नपर्ने बताए । एमालेको तीव्र अन्तरसंघर्षकै बेला जिल्लामा भुसालको नेतृत्वमा समानान्तर समिति गठन भएको थियो । गुरुङकै अध्यक्षतामा समिति गठन भएर अहिलेपनि क्रियाशील छ । गुरुङले मध्यमार्गी नेताले धार परिवर्तन गरेपनि समाजवादीलाई त्यस्तो ठूलो असर नपरेको बताए । ‘घनश्यामजी एमालेमा जाँदा १० प्रतिशत मात्र फरक पर्ला,’ उनले भने, ‘अन्य केही फरक पर्दैन ।’ केही जनप्रतिनिधि अहिले तटस्थ बसेको र २१ दिनको समय अवधि रहेका कारण त्यतिबेलासम्म जनप्रतिनिधिसँगै अन्य धेरै नेता कार्यकर्ता समाजवादीमै खुल्ने उनको दाबी छ ।

लुम्बिनी प्रदेशसभामा माधव समूहमा यसअघि दुई नेता मात्र खुलेका थिए । कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती नेपाल समूहमा थिइन् । अहिले दुवै कतै खुलेका छैनन् । गुल्मीमा गोकर्ण विष्ट एमालेमै रहेपछि समाजवादीको प्रभाव न्यून छ । तर, केही युवा पुस्ताका नेताहरु समाजवादीमा लाग्ने गरी छलफल गरिरहेका छन् । जिल्लामा प्रभाव रहेका हिरा एसी, हरि छन्तेल, श्रीराम महत, हिमाल थापालगायतका नेताहरुले समाजवादीको संगठन निर्माणका लागि छलफल गरिरहेको महतले बताए ।

समाजवादीको केन्द्रीय सदस्यमा रहेका नेताहरुको जिल्लामा जिल्ला तहकै नेता समाजवादीमा खुलेका छन् । पाल्पा, बाँके, दाङ, कपिलवस्तु लगायतका जिल्लामा पनि समाजवादीको नेतृत्व देखिएको छ । अधिकांश जिल्लामा समाजवादीका संयोजक रहेका माधव नेपाल आफैंले फोन गरेर नेता र कार्यकर्ता 'कन्भिन्स' गरिरहेका छन् । त्यस्तै एमालेबाट पनि केन्द्रीय तहका नेताहरुले जनवर्गीय संगठन, जिल्ला र स्थानीय तहका नेता कार्यकर्तालाई फोन गर्ने र आ–आफ्नो दलमै राख्ने प्रयास गरिरहेका छन् ।

प्रकाशित : भाद्र १०, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?