लुम्बिनीको एमालेले प्रदेश सरकारलाई मान्यता नदिने- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनीको एमालेले प्रदेश सरकारलाई मान्यता नदिने

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारलाई एमालेले मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै छोडेर बाहिरिएको थियो । बैठक छोडेर विश्वासको मत विभाजन प्रक्रियामा सहभागी नभएको एमाले संसदीय दलले सरकारलाई वैधानिकता दिन नसक्ने बताएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेश सभामा सोमबार ‘नाटक मञ्चन’ गरिएको भन्दै त्यस्तो नाटकबाट बनेको सरकार असंवैधानिक रहेको बताए । ‘सरकार बन्दा नै वैधानिक प्रक्रिया पुरा भएको छैन,’ उनले भने, ‘त्यस्तो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा नै आउँदैन ।’

उनले एमालेले कारबाहीको सिफारिस गरेका दुई प्रदेश सभा सदस्य पदमुक्त नहुँदासम्म प्रमुख प्रतिपक्षको हैसियतले प्रदेश सभा बैठक बहिष्कार गर्ने पत्रसहित जानकारी दिँदादिँदै पनि जबरजस्ती बैठक सञ्चालन गरेर संसदीय मर्यादा नाघेको बताए । प्रतिपक्षबिना नै लिएको विश्वासको मतको कुनै अर्थ र वैधानिक स्पष्टता नहुने एमालले जनाएको छ ।

एमालेले आफ्ना दुई सदस्यलाई कारबाही नहुँदासम्म प्रदेश सभा बैठक चल्न नदिने अडान अझै पनि जारी रहने पनि स्पष्ट पारेको छ ।

प्रमुख प्रतिपक्षको बहिष्कारबीच मुख्यमन्त्री केसीले सोमबार प्रदेश सभाका ८० मध्ये ४२ जनाको मत पाएका थिए । केसीलाई कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र १ स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । केसी साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल एमालले भने प्रदेश सभा सदस्य अजय शाही र विमलाकुमारी खत्री एमालेको भन्दै दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको र पदमुक्त गर्न दबाब दिँदै आएको छ । सभामुख पूर्णबहादुर घर्तीले दुवै जनालाई कारबाही गर्न नमिल्ने पत्र एमाले संसदीय दललाई पठाएपछि आक्रोशित बनेको एमालेले बैठक बहिष्कार गर्दै आएको हो ।

प्रकाशित : भाद्र ८, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

आर्सनलको कमजोरी

द गार्डियन

लन्डन — आर्सनल समर्थकलाई इमान्दारितापूर्वक भन्न गाह्रै छ, क्लबमा के भइरहेको छ । र, यो नै सत्य हो । आर्सनल इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग सजिलै २–० ले पराजित भएको छ । रोमेलु लुकालु आफ्नो लन्डन प्रतिद्वन्द्वीमाथि साह्रै भारी परेको छ ।

समर्थकबाट यस्तै प्रतिक्रिया आउँदो हो । यही बेला आर्सनल जसरी पराजित रह्यो, त्यसको गम्भीर विश्लेषण गर्ने हो भने चारैतर्फ कमजोरी देखा पर्छ । स्तरीयताका आधारमा आर्सनल फितलो नै छ ।

खेलका क्रममा आर्सनलका ११ खेलाडीले एकपछि अर्को समान भुल गरिरहेका थिए । यिनै ११ खेलाडीमात्र यस्ता थिए, जसले आर्सनल कहाँनिर कमजोर छ, त्यो देखिरहेको थिएन । चेल्सीले आर्सनलमाथि आइतबारको खेलमा जे जस्तो गरेको छ, त्यस्तै पारा यो सिजन अन्य क्लबमाथि पनि दोहाोर्‍याउने छ । अहिलेसम्म लिग उपाधि होडमा चार टिम देखापरेका छन् । त्यसमध्ये चेल्सी नै त्यस्तो टिम छ, जसको अधिकांश क्षेत्र बलियो छ ।

चेल्सीको खेल निकै तीव्र छ । पखेटा फिँजाएर यो टिमले आक्रमण गर्ने गर्छ । मध्यपंक्तिले बल अगाडि बढाएर रोमेलु लुकाकुसम्म पुग्दा स्थिति विपक्षी टिमका लागि निकै घातक साबित भइसक्छ । आर्सनलविरुद्ध चेल्सीले दोस्रो हाफमा त्यस्तै गतिले खेल्न सकेन । अबका खेलमा पनि खेल्न सक्ने छैन । तर यसका लागि प्रशिक्षक थोमस टचेलसँग उपाय छ । मैदानमा एन’गोलो कान्टे र हाकिम जिएच उत्रनेछन् । खेललाई हल्का सुस्त नै सही तर चलायमान बनाउनेछन् ।

गम्भीर भएर भन्नैपर्छ, चेल्सी निकै बलियो देखिएको छ । तर यहाँनिर अर्को सत्य के छ भने यो सिजन चेल्सीलाई सधैं सजिलो हुने छैन । किनभने सबै प्रतिद्वन्द्वी आर्सनल पनि त हुँदैनन् । मिकेल आर्टेटाले तय गरेको ४–२–३–१ को रणनीतिले रिउस जेम्सजस्ता खेलाडीलाई मैदानको आधा भागबाट सजिलै अगाडि बढ्न रोक्नसमेत सकेन । पूर्णतः चार खेलाडीको डिफेन्सलाई मात्र दोष दिनुहुन्न । पूरा टिम दोषी देखिन्छ ।

आर्सनलका खेलाडीमा रणनीतिक शिक्षाको अभाव देखिन्छ । उनीहरू आफ्नो ‘पोसिजन’ को व्याकरण बुझ्न असमर्थ देखिएका छन् । सायद यत्तिको खराब टिम ब्रेन्टफोर्ड मात्र छ । खेलमा लुकाकुले गरेको पहिलो गोलकै चर्चा गरौं । त्यतिबेलासम्म आर्सनलले ठिकै खेलिरहेको थियो । तर जतिबेला चेल्सीले आक्रमण बढायो, आर्सनलका खेलाडीको प्रदर्शन अचम्मले कमजोर देखिन थाल्यो । जतिबेला जेम्सले लुकाकुलाई क्रस दिए, त्यतिबेला आर्सनलका कोही पनि खेलाडी ठिक पोसिजनमा थिएनन् ।

टिममा देखिने यस्तो रोगको उपचार हुन्न । बरू प्रश्नमाथि प्रश्न हुन्छ । जस्तो, किन निकोलस पेपेले ‘लेफ्ट विंग्स’ पछ्याइरहेको थियो ? बुकायो साकाको खास पोसिजन के हो त ? यस्ता प्रश्न वास्तवमै धेरै छन् । त्यसैले भन्न सुरु भएको छ, आर्सनल जत्तिको प्रिमियर लिगमा खराब टिम अरू कोही छैन । फेरि चेल्सीले ९ करोड ७५ लाख पाउन्ड तिरेर लुकाकु जत्तिको खेलाडी किन्न सक्छ । तर, यही बेला आर्सनलमा उनी जत्तिको अरू कोही खेलाडी आउन तयार हुने छैनन् ।

यदि टिममा स्तरीयता छैन भने स्तरीय खेलाडी आउने पनि छैन । त्यसका लागि आर्सनलले अहिले जे जति खेलाडी उपलब्ध छ, त्यसैबाट काम निकाल्नुपर्नेछ । यसका लागि चलाखीपूर्ण प्रशिक्षण चाहिन्छ । पहिलो हाफको तुलनामा दोस्रोमा आर्सनलको प्रदर्शन अपेक्षाकृत राम्रो रह्यो । यसक्रममा उसले चेल्सीमाथि धावा बोलेको थियो । पक्कै पनि आर्सनलको चारैतर्फ कमजोरी छ । यसलाई सच्याउन नसकिने होइन, तर कडा मिहिनेत आवश्यक छ ।

प्रकाशित : भाद्र ८, २०७८ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×