कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

७० घर पहिरोको जोखिममा

घर छाडेका एक दर्जन परिवार आफन्त र गोठमा बास बस्दै
शमशेरविक्रम जीसी

प्यूठान — घरमुनिबाटै बुधबार ठूलो पहिरो गएपछि केरबहादुर थापा चिन्तित छन् । नौबहिनी–५ डार्मीका उनलाई पहिरोले कतिखेर आफ्नै घर तान्ला भन्ने त्रास छ । त्यसमाथि निरन्तरको वर्षाले बस्नै नमिल्ने गरी घर भत्किएको उनले बताए ।

७० घर पहिरोको जोखिममा

‘दैनिक पानी परिरहन्छ, कतिबेला घरबारी पहिरोमा बिलाउने हो,’ थापाले भने, ‘बस्नै नमिल्ने गरी घर चिरा परेको छ ।’ उनको पाँच जनाको परिवार अहिले केही परको गोठमा बसिरहेका छन् । घर बगाउन थालेपछि रातारात सामान सारेको उनले बताए । ‘एकै रातको पहिरोले घर र सम्पत्ति कामै नलाग्ने बनायो,’ उनले भने । उनका अनुसार २० रोपनी जमिन फेरि प्रयोग गर्न नमिल्ने भएको छ । आफ्नो जमिनमा पहिरो गएपछि घर बनाएर कता बस्ने भन्ने अन्योलमा उनी छन् ।

नौबहिनी–५, डार्मीकै दलजिता घर्तीले भदौ २ गतेबाट घर छाडेकी छन् । बस्तीको तल र माथिबाट पहिरो जान थालेपछि आफन्तकहाँ आश्रय लिएको उनले सुनाइन् । ‘तीन जनाको परिवार छिमेकीकहाँ बसेका छौं,’ उनले भनिन्, ‘घर त कतिबेला के हुने हो थाहा छैन ।’ माथिबाट आएर पुर्छ कि तलबाट तान्छ भन्ने भएको उनले बताइन् । एकै रातको पानीले आफ्नो उठीबास लगाएको उनले सुनाइन् । ‘साँझ परेपछि चराले गुँड खोज्दै आउँछन्, हामी अरूकहाँ बास खोज्दै हिँड्नुपर्छ,’ उनले भनिन् । उनको डार्मीकै पात्लेखोला र पोखरामा जग्गा छ । त्यता पनि पहिरो गएको छ । ‘सधैंभरि अरूकहाँ बसेर पुग्दैन, गाईबस्तु एक जनाको घरमा र मान्छे अर्कैकोमा गरेर कति दिन बस्ने ?’ उनले दुःखेसो पोखिन् । कतै सुरक्षित स्थान पहिचान गरी ओत लाग्ने छानो बनाइदिए दलजिता यो ठाउँ छाडेर जान सोचाइमा छिन् ।

गाउँनजिकै सुरक्षित ठाउँ कतै छैन । भएको विद्यालय पनि पहिरोको जोखिममा छ । अन्त बस्ने ठाउँको खोजी गरी बस्ती नै स्थानान्तरण गर्नुपर्ने स्थानीय मानबहादुर पुनले बताए । ‘एक/दुई जनाको घर पहिरोले बगाएको भए पो अन्त आश्रय लिनु,’ उनले भने, ‘सबै उस्तै पीडित छौं, कसले कसको मुख हेर्ने ?’ नौबहिनी गाउँपालिका–५ डार्मीको ठूलो डार्मी, सानो डार्मी, बसेलगायतका आधा दर्जन गाउँ पहिरोको जोखिममा छन् । ठूलो डार्मीका केरबहादुर थापा, दलजिता थापा, राजिमा घर्तीलगायत एक दर्जन परिवारले घर छाडिसकेका छन् । अन्य पनि अहिले पहिरोको डर मानेर जोखिम क्षेत्रमै बसेका छन् । डार्मीमा मात्रै ७० घर पहिरोको जोखिममा परेको मानबहादुरले बताए ।

‘सानो डार्मीमा घर थियो, त्यहाँ पहिरो गएपछि अन्तै सर्‍यौं,’ डार्मीकी हीरादेवी पुनले भनिन्, ‘पहिरो त पछि लागेर आयो ।’ घरमाथि र तल दुवैतिरबाट जमिन चिराचिरा परेर पहिरो जान थालेको छ । तर डर मानेरै जोखिम क्षेत्रमा बस्नुपरेको उनले बताइन् । ठूलो डार्मी र सानो डार्मीको सम्बन्ध अहिले टुटेको छ । मान्छे हिँड्नेसम्म बाटो छैन । ‘पानी पर्न थालेपछि निद्रा हराउँछ,’ पुनले भनिन्, ‘कतिबेला पहिरोसँगै बगिने हो, काल कुरेर बसेजस्तै भएको छ ।’

डार्मीका ७० परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने अवस्था रहेको नौबहिनी–५ का वडाध्यक्ष अनबहादुर घर्ती मगरले बताए । ‘सिंगो गाउँ नै पहिरोको जोखिममा छ,’ उनले भने, ‘तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ ।’ समयमै नागरिकलाई सुरक्षित स्थानमा सार्न ढिला गरे नियमित परिरहेको पानीले ठूलो क्षति पुर्‍याउन सक्ने उनले सुनाए । ‘वडा तहबाट धमाधम विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘गाउँपालिकालाई पनि जानकारी गराएका छौं ।’

क्षतिका आधारमा राहत र सुरक्षित स्थानका विषयमा छलफल भइरहेको उनले बताए । जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित भएर बस्न आग्रह गरिएको नौबहिनी गाउँपालिका अध्यक्ष शिवराज रिजालले बताए । ‘कति क्षति भएको भन्ने जानकारी गाउँपालिकामा आइसकेको छैन,’ उनले भने, क्षतिको विवरण आउँदै गर्छ, हामी पनि अनुगमनका लागि जाने तयारीमा छौं ।’ नियमित पानी परिरहेको र सडक ठाउँठाउँमा बगाउँदा पुग्नै समस्या भएको उनले सुनाए ।

पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि डार्मीका अधिकांश बस्तीमा अहिले खानेपानीको समस्या भएको छ । वर्षाले विद्युत् पोल बगाएपछि सानो डार्मी, बसेलगायतका बस्तीमा बुधबारदेखि विद्युत् अवरुद्ध छ ।

प्रकाशित : भाद्र ६, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?