२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

गठबन्धनमा सहभागी दुई सदस्यलाई कारबाहीको माग
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । 

विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

एमालेले आफ्ना दुई प्रदेशसभा सदस्यलाई कारबाही गर्न माग गर्दै सभामुख पूर्णबहादुर घर्तीलाई सभाको बैठक सुरु हुनु केहीबेर अघि पत्र बुझाएको थियो । पत्रकै कारण निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिला सुरु भएको बैठकमा विपक्षी दलको पत्रको विषयका कारबाही अघि नबढाएको र सदनलाई जानकारी पनि नदिएको भन्दै एमालेले बैठक अवरोध गरेको हो ।

विपक्षी दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले यसअघि अन्य पार्टीका कारबाही र आफ्नै पार्टीका सदस्यको राजीनामा सभामुखले मसी सुक्न नपाउँदै कारबाही र स्वीकृत गर्ने गरेको तर अहिले एमालेले कारबाहीका लागि गरेको सिफारिस बेवास्ता गरेपछि बैठक अवरुद्ध गरेको बताए । ‘हामीले कारबाही नभएसम्म बैठक अवरोध गरिरहन्छौं,’ उनले भने, ‘सभामुखले पार्टीकै जसरी काम गर्नु भएन ।’ एमालेले उपनिर्वाचनबाट निर्वाचित दाङकी विमला खत्री वली एमालेको सूर्य चिह्न लिएर निर्वाचित भएको र नेकपा विघटनपछि पनि एमाले पार्टी र संसदीय दलको बैठकमा सहभागी भएको भन्दै उनले माओवादी दल रोज्न नपाउने दाबी गर्दै आएको छ ।

त्यस्तै अहिलेको गठबन्धनको सरकारमा बिना विभागीय मन्त्री भएका नवलपरासी पश्चिमबाट निर्वाचित अजय शाहीले पनि एमाले चुनाव चिह्नबाट निर्वाचित भएको र अहिलेसम्म एमालेको संसदीय दलबाटै प्रतिनिधित्त्व गरेको भन्दै उनलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

बैठक अघि सत्ता पक्ष र विपक्षी दलका बीच बैठक सुचारु गर्ने विषयमा छलफल भएको थियो । कारबाही प्रक्रिया अघि नबढेसम्म बैठक चल्न नदिने विपक्षीको अडानपछि साढे दुई बजे बैठक सुरु भएको थियो । बैठक सुरु गर्नासाथ विपक्षी दलका प्रमुख सचेतक ढकालले कारबाहीको माग गरेका थिए । विपक्षी दलका सांसदले पनि उठेर विरोध जनाएका थिए ।

विरोधका बीच सभामुख घर्तीले प्रदेश प्रमुख अमिक शेरचनको अधिवेशन आह्वान सम्बन्धी र सरकार गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । दुवै पत्रको बेहोरा बैठकलाई जानकारी गराएपछि बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित : भाद्र १, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?