कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कहाँ हराए बाघमुखे चुलेसी ?

शमशेरविक्रम जीसी

प्यूठान — बाघमुखे चुलेसी प्यूठानको परिचय बनेको थियो । यहाँ आउने उच्च पदस्थलाई त्यही चिनो दिने गरिन्थ्यो । घुमफिर गर्न आउनेले सम्झनास्वरूप किनेर लैजान्थे । पित्तलबाट बनाइने चुलेसीले धेरैलाई लोभ्याउने गर्थ्यो ।

कहाँ हराए बाघमुखे चुलेसी ?

‘प्यूठानको नाम फैलाएको थियो,’ मल्लरानी गाउँपालिका–४ बुडाचौरका टुकबहादुर विश्वकर्माले भने, ‘अहिले त बनाउने मान्छे नै भेटिंदैनन् ।’ गाउँका एक दुई जना वृद्धले यस्तो चुलेसी बनाउने गरेका थिए । उनीहरूको मृत्युसँगै चुलेसी बनाउने सीप लोप हुने अवस्थामा पुगेको हो ।

मल्लरानी–४ बुडाचौरका केदारसिंह विश्वकर्मा बाघमुखे चुलेसी बनाउने कलामा निपुण थिए । दुई वर्षअघि उनको मृत्यु भयो । ‘बुबाको मृत्युपछि पेसा संकटमा पर्‍यो,’ केदारसिंहका छोरा ६० वर्षीय दुर्गबहादुरले भने, ‘युवाले चासो दिएनन्, पुरानासँगै यो सीप पनि हराएर गयो ।’ पुर्ख्यौली पेसा लोप हुन थालेको भन्दै दुर्गबहादुरले चिन्ता व्यक्त गरे । नयाँ पुस्ता रोजगारी खोज्दै विदेश पलायन भयो । सीप सिकाउने भने कोही छैन । अब त आरन पेसा नै हराउलाजस्तो भयो । ‘बुबाले बनाएको हेरेर अलिअलि सिकेको छु,’ उनले भने, ‘तर, बाघमुखे त बनाउन आउँदैन ।’ स्कुल पढ्दाको समयमा हेरेरै सिकेको सीपले अहिले फलामको चुलेसी बनाउने गरेको बताए । उनका अनुसार जनशक्ति नहुँदा फलामकै चुलेसी बनाउन तीन दिनसम्म लाग्ने गरेको छ । फलाम पिट्न पर्‍यो, घन उठाएर फलाम पिट्ने तागत आफूमा छैन । मान्छे कुरेर बस्नुपर्छ ।

पुस्तौंदेखि गर्दै आएको पेसालाई व्यावसायिक बनाउन नसक्दा पेसा नै संकटमा पर्न थालेको बुडाचौरका जोखबहादुर कसेराले बताए । दुई तीन दिन लगाएर बनायो, बजारमा दुई हजारमा पनि बिक्दैन । अनि, कसरी परिवार पाल्नू ? पेसालाई आर्थिक उपार्जनतर्फ जोड्न सके र यसलाई व्यावसायिक बनाउन स्थानीय तहको सहयोग भए लोपोन्मुख बाघमुखे चुलेसी संरक्षण हुने उनले बताए । ‘नयाँ पुस्तालाई सीप सिकाउनुपर्छ, काम गर्नेलाइ प्रोत्साहन गर्ने कर्तव्य स्थानीय तहको हो,’ उनले भने, ‘तर, अहिलेसम्म कसैले के छ अवस्था भनेर एकपटक सोध्न आएका छैनन् ।’ स्वर्गद्वारीलाई जसरी मान्छेले चिन्थे, पहिले बाघमुखे चुलेसी भनेपछि प्यूठानको नाम त्यसरी नै आउँथ्यो । तर, अहिले बजारमा पनि खोज्नै छोडे । देबलको माटो, मैन, धानको भुस र पित्तलको प्रयोग गरी चुलेसी बनाउने गरिन्छ । जंगलमा दाउरा पाइनै छाडेको छ । जनशक्ति अभाव र कच्चा पदार्थको अभावमा पनि यो पेसा लोप हुने अवस्थामा पुगेको छ ।

बजारमा पनि चुलेसीको माग घटेको मल्लरानी गाउँपालिका–४ खलंगाका राजन कक्षपति बताउँछन् । एकातर्फ उत्पादन नै हुन छाडेको छ । अर्कोतर्फ यसलाई अहिले सजावटका रूपमा मात्रै प्रयोग गर्ने गरिन्छ । ‘पन्ध्र सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुन्छ,’ उनले भने, ‘कोरोनाले गर्दा अहिले त फलामबाट बनेका पनि पाइँदैनन् ।’

सीप विकास र चुलेसीको प्रवर्द्धनमा स्थानीय आफैं सक्रिय नभएको मल्लरानी गाउँपालिका–४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘सीप सिक्न चाहने युवालाई आवेदन दिन आह्वान गरेका हौं,’ उनले भने, ‘कसैले पनि वास्तै गरेनन् ।’ चुलेसीको सीप सिक्न चाहने र आरन व्यवसाय दुवैलाई वडाले प्राथमिकतामा राखेको उनले सुनाए । ‘सीप सिक्छौं भन्नेलाई दक्ष कालिगढ मगाएर सीप सिकाउने योजना ल्याएका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण ३२, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?