कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जनशक्ति नहुँदा संक्रमितको उपचार प्रभावित

प्रदेश सरकारले निर्णय नगर्दा अस्पतालको स्तरवृद्धि र सेवा विस्तार अन्योलमा
काशीराम डाँगी

रोल्पा — जनशक्ति अभावमा रोल्पा अस्पतालमा कोभिड बिरामीको उपचार प्रभावित भएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धिका लागि पर्याप्त दरबन्दी र कर्मचारी पठाउन नसक्दा सेवा प्रभावित भएको हो । 

जनशक्ति नहुँदा संक्रमितको उपचार प्रभावित

प्रदेश सरकार मातहतको उक्त अस्पतालमा दैनिक कोभिडका बिरामी आउने गरेका छन् । थोरै जनशक्तिका भरमा कोभिड र गैरकोभिड बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी बिदामा नबसी दिनरात खट्दा पनि समस्या आएको छ । अस्पतालका अनुसार सीमित जनशक्तिकै भरमा अस्पतालमा आउने र आइसोलेसनमा रहेका बिरामीको समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्लेले प्रदेश सरकारको अस्पतालको सेवा र स्तर वृद्धिको घोषणा र कार्यक्रमअनुसार कार्यान्वयन गर्न चुनौती भइरहेको बताइन् । ‘प्रदेश सरकारले रोल्पा अस्पतालको स्तर वृद्धि र सेवा विस्तार गरिएको प्रारम्भिक कार्यक्रम र बजेट पठाएपछि हामीले त्यसै अनुसार सेवा विस्तार थाल्यौं,’ उनले भनिन्, ‘तर, सेवा र स्तर वृद्धि गरिएको अन्तिम पत्र र निर्णय नआएको हुँदा थालिएका कार्यक्रम सम्पन्न गर्न मुस्किल भएको छ ।’

लुम्बिनी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य मन्त्री सुदर्शन बरालले दुर्गममा रहेका अस्पतालको स्तर वृद्धि गरेको र त्यसै अनुसारको जनशक्ति पठाउन कार्यक्रम अघि सारेका थिए । त्यसै अनुसार रोल्पा अस्पतालमा बजेट र केही जनशक्ति पनि प्राप्त भएको हो । तर, हाल प्रदेश सरकारले अस्पतालको स्तर वृद्धिबारेको पछिल्लो निर्णय र अवस्थाबारे कुनै जानकारी पठाएको छैन ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. काफ्लेका अनुसार प्रदेश सरकारले पठाएको बजेटअनुसार ४६ जना कर्मचारीको दरबन्दी कायम गरी परिपूर्ति गर्नुपर्नेमा हाल २२ जनालाई नियुक्ति दिइसकिएको छ । ‘सेवा थपिंदै गएको छ । तर, जनशक्ति अभाव छ । कोभिडका बिरामीलाई उपचार गर्न झन् जनशक्ति अभाव भएको छ,’ डा. काफ्लेले भनिन् । उनका अनुसार चिकित्सकसहित अझै २४ जना कर्मचारी परिपूर्ति गर्नुपर्नेछ । प्रदेश सरकारको पहलमा यसअघि अस्पतालमा थेरापी, आँखा र ल्याबसम्बन्धी सेवा विस्तार गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीलाई रोल्पा नगरपालिकाले पनि प्रोत्साहन भत्ता दिंदै आएको छ । यसअघि अस्पतालमा नगरले करिब १४ लाखको ठूलो क्षमताको जेनेरेटर प्रदान गरेको थियो । अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले सेवा क्षेत्रका हिसाबले स्थानीय तहमा रहेको अस्पतालका लागि पर्याप्त दरबन्दी सिर्जना गर्ने र आर्थिक लगायतका सहयोग गर्न पदाधिकारीले कन्जुस्याइँ गर्न नहुने बताए ।

अस्पताल र नगरले सञ्चालन गरेका आइसोलेसनमा समेत अस्पतालले स्वास्थ्यकर्मी खटाएको छ । नगरले अस्पतालमा खटाएका तीन जना स्वास्थ्यकर्मी फिर्ता बोलाएपछि झन् समस्या देखिएको छ । तर, यसबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले अन्य स्वास्थ्य इकाइमा आवश्यक परेकाले उनीहरूलाई फिर्ता बोलाइएको बताए । ‘फेरि अस्पतालमा आवश्यक परेमा करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी पठाउन नसकिने होइन,’ पौडेलले भने । यसअघि नगरले १० नम्बर वडामा कार्यरत स्वास्थ्यकर्मीलाई फिर्ता बोलाएपछि पनि विवाद भएको थियो । खासगरी अस्पताललाई प्रादेशिक घोषित गरिएपछि स्थानीय तह र अस्पताल व्यवस्थापन समितिबीच सहयोगी सम्बन्ध बन्न सकेको छैन । केही वर्षअघिसम्म अस्पताल व्यवस्थापन समितिको अध्यक्ष सम्बन्धित स्थानीय तहको प्रमुख रहने प्रावधान भएकामा प्रदेश सरकारले अध्यक्ष हुन कम्तीमा स्नातक उत्तीर्ण गरेको र १० वर्ष सामाजिक क्षेत्रमा योगदान गरेको योग्यता हुनुपर्ने नयाँ ऐन ल्याएको छ । तर, रोल्पा अस्पतालका अध्यक्ष भने माओवादी केन्द्रका नगर प्रमुख फविन्द्र आचार्य नै छन् ।

केही स्वास्थ्यकर्मी नगरले फिर्ता गरेको बारे अस्पतालकी मेसु डा. काफ्लेले नगर प्रमुख पूर्ण केसीसँग छलफल भइरहेको बताइन् । नगर प्रमुख केसीले आवश्यक परेमा अन्य कर्मचारी र स्वास्थ्यकर्मी पठाउन सकिने आश्वासन दिएको डा. काफ्लेले बताइन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष आचार्यले नगरले थप सहयोग गरेमा अस्पतालको सेवा प्रवाहमा सहयोग पुग्ने बताए ।

प्रकाशित : श्रावण २८, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?