राजमार्गमा मारिने वन्यजन्तु बढ्दै- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गमा मारिने वन्यजन्तु बढ्दै

बढ्दो सवारी चाप र चालकको लापरबाहीले जोगाउन मुस्किल
रुपा गहतराज

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जभित्रका सडक वन्यजन्तुका लागि खतरा बनेका छन् । तीव्र गतिमा चलाइने सवारीसाधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम बढेको हो ।निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्ग र कोहलपुर–सुर्खेत (रत्न) राजमार्गमा सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिएका छन् ।

गत आर्थिक वर्ष ०७७/७८ मा मात्रै ४३ वन्यजन्तु सवारीसाधनको ठक्करबाट र २५ वटा अन्य कारणले मारिएका निकुञ्ज प्रशासनले जनाएको छ । ‘बर्सेनि बढ्दो यो संख्याले निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनिरहेको देखिन्छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भने, ‘तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई ठक्कर दिने गर्छन् ।’ यसरी सडक दुर्घटनाकै कारण मर्ने जनावरहरूमा चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु बढी रहेको उनको भनाइ छ । राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरबाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको उनले बताए ।

पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर र रत्न राजमार्गको ३२ किलोमिटर खण्ड बाँके निकुञ्जभित्र पर्छ । निकुञ्जको तथ्यांकअनुसार आव ०७१/७२ मा सडक दुर्घटनामा परी १६ वन्यजन्तु मारिएका थिए भने कुकुरको टोकाइ र अन्य कारणबाट ८ वन्यजन्तु मरेका थिए । यसैगरी, आव ०७२/७३ मा सडक दुर्घटनाबाट ४३, कुकुरको टोकाइबाट ३ र अन्य कारणले ४ वन्यजन्तु मरेका थिए । आव ०७३/७४ मा सडक दुर्घटनामा परी ६१ र अन्य कारणले १५ वन्यजन्तु मारिएका निकुञ्जको भनाइ छ ।

यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको संख्या हरेक वर्ष बढ्दै गएको छ । आव ०७४/०७५ मा ७२ वन्यजन्तु सडक दुर्घटनामा परी मारिएका थिए । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले ६ वन्यजन्तु मारिए । सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव ०७५/०७६ मा सडक दुर्घटनामा ४४, कुकुरको टोकाइबाट १३ र अन्य कारणले ९ वन्यजन्तु मारिए । आव ०७६/०७७ मा ५४ वन्यजन्तु मारिएका थिए । सवारी साधनको ठक्करबाट वन्यजन्तु मारिने क्रम नरोकिएपछि निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्डको व्यवस्था गरेको छ । राजमार्गमा गुड्ने सवारीसाधनको गति कम गरी वन्यजन्तुलाई जोगाउन टाइम कार्डको व्यवस्था गरिएको सहायक संरक्षण अधिकृत न्यौपानेले बताए । उनका अनुसार वन्यजन्तु जोगाउन राजमार्गका विभिन्न क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको छ ।

वन्यजन्तुलाई सडक वारपारका लागि राजमार्गका विभिन्न स्थानमा आकाशे पुल (क्यानोफी ब्रिज) समेत बनाइएको छ । ‘लोखर्के, बाँदर, सर्प, प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा नपरून् भन्ने उद्देश्यले निकुञ्जमा पर्ने राजमार्गका विभिन्न स्थानमा आकाशे पुल निर्माण गरेका हौं,’ न्यौपानेले भने, ‘सवारीसाधनको गति मापन गर्न राडार गन ल्याउने तयारी छ ।’ निकुञ्जले वन्यजन्तु जोगाउन विभिन्न प्रयासहरू गरेको दाबी गरे पनि वन्यजन्तु मर्ने क्रम भने उस्तै छ ।

रेन्जर प्रनयकुमार झाका अनुसार घटना भएको स्थलमा कारबाही पोस्टले नै गर्छ । यस आर्थिक वर्षमा ९ वटा मुद्दा दर्ता भएका छन् । ०७६/७७ मा २० वटा मुद्दा दर्ता भएका थिए । ०७७/७८ साउन २० गतेसम्म ६४ वटा मुद्दा दर्ता भएका छन् । ‘कारबाहीको अवस्था भनेको कार्यालयमा सम्झाइबुझाइ गरेर १० हजार रुपैयाँसम्म जरिवाना गर्ने ब्यवस्था छ,’ रेन्जर झाले भने ।

सवारी साधनको ठक्करबाट हुने मृत्यु कमगर्न राजमार्गमा गुड्ने सवारी साधनलाई नियन्त्रित गर्न जरुरी रहेको सरक्षणकर्मी कृष्ण चौधरीले बताए । ‘वन्यजन्तुमैत्री सडकका लागि आकाशे पुल बनाउन आवश्यक छ,’ उनले भने, ‘राजमार्गमा टाइम कार्ड अझै व्यवस्थित गर्न सकेका छैनौ । एउटै टाइम कार्डले प्रभावकारी हुँदैन । निकुञ्ज क्षेत्रभित्रै टाइमकार्ड राखेर व्यवस्थापन गर्न जरुरी छ ।’

५ सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बाँके निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । वन्यजन्तुका लागि पिउन, आहाल बस्नलगायतका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्जभित्र सयभन्दा बढी पानीका स्रोत छन् । तर अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छन् । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्कने गर्छन् । यसै क्रममा धेरै वन्यजन्तु विभिन्न कारणले मारिने गरेको निकुञ्जको बुझाइ छ ।

सवारीसाधनको ठक्करबाट ठूला जनावर भने मारिएका छैनन् । प्राकृतिक रूपमा यसबीचमा एक हात्ती र दुइटा बाघको मृत्यु भएको पाइएको छ । ०७८ वैशाखमा हात्ती र ०७६/७७ मा दुइटा बाघको मृत्यु भएको हो । निकुञ्जभित्र रहेका पानीका तीन तिहाइ स्रोत सुकिसकेको प्रमुख संरक्षण अधिकृत श्याम शाहले बताए । ‘एक चौथाइ स्रोतमा धेरथोर पानी छ । बाँकी सुकिसके । अरू सुक्ने क्रममा छन्,’ उनले भने, ‘पानीका कारणले पनि हुन सक्छ, गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ ।’

प्रकाशित : श्रावण २३, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्

वाइल्ड कार्डले खजुरावासी खुसी

रुपा गहतराज

नेपालगन्ज — नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेपछि गृहनगर खजुरावासीमा खुसी छाएको छ । बाँकेको खजुरा गाउँपालिका–३ सिर्जना टोलकी स्थायी बासिन्दा १९ वर्षीया सोनियाको सफलताले आफूलाई मात्र होइन, खजुराकै पहिचान थप उचाइमा पुर्‍याएको स्थानीयले बताए ।

सन् २०१९ मा बंगलादेशमा भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजी तौल समूहमा सोनियाले स्वर्ण पदक जितेकी थिइन् । सोही वर्ष मोरक्कोमा भएको वर्ल्ड जुनियर च्याम्पियनसिपमा उनी एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएकी थिइन् । उनले अन्य प्रतिस्पर्धाको प्रदर्शन आधार मानेर वाइल्ड कार्ड पाएकी हुन् । सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौं खेलाडी हुनेछिन् ।

सोनियाले वाइल्ड कार्ड पाएको खबरपछि गृहनगरका प्रशिक्षक विजय गुरुङ निकै भावुक बने । आफैंले हात समाएर मैदानमा पुर्‍याएको खेलाडीको सफलतालाई उनले आफ्नै मिहिनेत ठानेका छन् । ‘आफूले जन्माएको खेलाडीले यति ठूलो सफलता हासिल गर्दा म कति खुसी छु, शब्दमा व्यक्त गर्नै सक्दिनँ,’ उनले भने, ‘सोनियाको सफलताले मलाई अझ निखार्ने हौसला बढायो ।’ तीन बहिनी र एक भाइको परिवारकी कान्छी छोरी सोफिया ८ वर्षकै उमेरदेखि म्याटमा रमाउँथिन् । सोनियाका गुरु गुरुङ उनलाई हात समाएर खेल्न लैजाँदाको समय सम्झिन्छन् ।

प्रशिक्षक गुरुङ सोफियाको यो सफलतालाई संघर्ष र मिहिनेतको फल भएको मान्छन् । ‘प्रशिक्षकमा खेल खेलाउने गुणमात्र होइन, प्रतिभा चिन्ने क्षमता पनि हुन्छ । त्यसैले मैले उनलाई परिवारको गाली सहेर पनि मैदानमा उतारें,’ निकै भावुक हुँदै उनले भने, ‘सोनियाले मलाई अहिले गुरु मान्छिन् कि मान्दिनन् थाहा छैन । तर, उनको सफलतालाई मैले आफ्नो मिहिनेतको प्रतिफल ठानेको छु ।’

गुरुङ अहिले पनि खजुरा गाउँपालिकाका युवा र बालबालिकालाई निःशुल्क जुडो अभ्यास गराइरहेका छन् । एउटा स्कुलले दिएको सानो कोठामा खेल सामग्री राखेर उनी खजुरालाई प्रतिभावान् खेलाडी दिन तत्पर छन् । खजुरा घर भए पनि उनी नेपालगन्जमै बस्छन् । तर, अभ्यासका लागि साँझ खजुरा पुग्छन् । दुई सिफ्टमा उनी अहिले अभ्यास गराइरहेका छन् । ‘म आफ्नै लगानीमा राम्रा खेलाडी उत्पादन गर्ने अभियानमा छु,’ उनले भने, ‘स्थानीय तहले पार्टी र जातिका आधारमा मात्र सहयोग दिन्छ । त्यसैले साथीभाइसँग हात फैलाएर भए पनि खेलाडीलाई डाइट खुवाउँछु ।’

‘खजुराले खेल संस्कार बुझेको छ, खेलको इज्जत जोगाएको छ । हिजो पनि साग मेडलिस्ट जन्मिएकै हुन्, अहिले ओलम्पिक जाने खेलाडी जन्मायो । लगानीअनुसार प्रतिफल आउँछ भन्ने खजुराले पुष्टि गरेको छ,’ खेलपत्रकार टीएस ठकुरीले भने, ‘तर अझै खेलाडीअनुसार लगानी भने पुगेको छैन ।’

भारोत्तोलनका सुरेन्द्र हमाल (लस एन्जल्स, १९८४), सुटिङका पार्वती थापा (सोल, १९८८) र अनिता श्रेष्ठ (बार्सिलोना १९९२) पछि जुडोकी सोनिया भट्टले (टोकियो, २०२०) गर्दा २८ वर्षपछि खेलाडीको सहर नेपालगन्जले ओलम्पिक रिङ चुम्दैछ । ‘यो सानो सफलता होइन । एउटा विद्यार्थीले पीएचडीको उपाधि हात पार्दाको अनुभूति जस्तै हो यो,’ ठकुरीले भने, ‘लगानीको सही सदुपयोग भएमा प्रतिफल अवश्य आउँछ भन्ने यो एउटा उदाहरण पनि हो ।’ नेपाल पुलिस क्लबमा आबद्ध सोनिया १३ औं दक्षिण एसियाली खेलकुदकी कांस्य पदक विजेता खेलाडी हुन् ।

प्रकाशित : असार २२, २०७८ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×