अभिभावकलाई पनि अनलाइन कक्षाको सकस- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिभावकलाई पनि अनलाइन कक्षाको सकस

बालबालिकालाई समेत शारीरिक र मानसिक समस्या बढ्न सक्ने विज्ञको भनाइ
सन्जु पौडेल

लुम्बिनी — बुटवल उपमहानगरपालिका–८ का दीपक ज्ञवाली बिहान उठेदेखि निकै व्यस्त रहन्छन् । १२ वर्षदेखि बुटवलमै व्यवसाय गरिरहेका उनलाई १० बजे पसल खोल्नुपर्ने चटारो हुन्छ । अहिले त्यो चटारोमा मानसिक तनाव थपिएको छ– कक्षा ५ मा अध्ययनरत छोरी अनुको अनलाइन कक्षाले ।

नित्यकर्म सकी खान नभ्याउँदै छोरीको अनलाइन कक्षा सुरु हुन्छ । आफ्नै मोबाइल दिई दीप छोरीसँगै बसेर शिक्षकले पढाएको सुन्न थाल्छन् । उनले अनलाइन सुरु भएदेखि पसल समयमा खोल्न नपाएको र कर्मचारीको भरमा व्यापार छोड्न बाध्य भएको बताए ।

‘छोरीको पढाइ राम्रो छ,’ उनले भने, ‘एक्लै छोडिदिए अरूका अभिभावक बस्नुहुन्छ भनेर गुनासो गर्छिन् ।’ अनुको बाल मानसिकतामा अभिभावक आफूसँग बस्न नभ्याउने भन्ने भान नपरोस् भनेरै आफूसँगै बसेर पढाउने गरेको उनले सुनाए । छोराछोरीको विद्यालय शुल्क तिर्न पनि पसल चलाउन उत्तिकै आवश्यक रहेको उनले बताए । श्रीमतीले सानो छोराको पढाइमा आफ्नो मोबाइल लिएर पढाउने र आफू छोरीको कक्षामा बस्ने भएकाले खाना पकाउनेदेखि खाने र छोराछोरीलाई खुवाउनेसमेत तालिका बदलिएको दीपकले सुनाए ।

कोरोना महामारीका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई अनलाइनबाट पढाउन थालेपछि बालबालिकासँगै अभिभावकसमेतलाई समस्या परेको छ । कतिपय अभिभावकले घरदेखि नै मिलेसम्म काम गर्ने र छोराछोरीको कक्षामा साथै बसेर पढाउने गरेका छन् भने कतिपयका छोराछोरी एक्लै कक्षामा बसेर पढ्ने गरेका छन् । ठूला कक्षामा पढ्ने विद्यार्थीका लागि मोबाइल दिएर, साथै नबसे समस्या उत्पन्न नहुने भए पनि साना बालबालिकाको हकमा भने अभिभावकले मानसिक रूपमै तनाव खेपिरहेका छन् ।

तिलोत्तमा–४ नयाँमिलका श्लोक पन्थी सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्छन् । बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म ल्यापटपअघि बस्नैपर्ने उनको दिनचर्या छ । बुबाआमा व्यवसायी भएकाले उनीसँग विरलै बस्छन् । घरमा एकटक स्क्रिनअघि बसेर पढ्नुपर्दा छोरालाई धेरै कुराको अप्ठ्यारो पर्ने गरेको आमा शान्ताले बताइन् । ‘राम्रोसँग पढ है भनेर छोडेर हिँड्ने हो,’ उनले भनिन्, ‘बच्चा हो, बेलुका आएर पढाइबारे सोध्दा केही सम्झेको हुन्छ भने केही भुलिसकेको हुन्छ ।’ शान्ताले नियमित भिडियोकलमा बस्दा टाउको दुख्ने भनेर छोरा रुँदा आफूलाई पनि पीडा हुने बताइन् ।

शिक्षित अभिभावक त्यसमाथि साथमै रहने भए बालबालिकालाई पढाइमा सहज हुने सैनामैनाका शंकर रेग्मीको बुझाइ छ । घरमै रहने आमाबुबा र श्रीमतीलाई शिक्षा र प्रविधिबारे आवश्यक ज्ञान नहुँदा छोराको पढाइमा बाधा परिरहेको उनले सुनाए । ‘म सरकारी जागिरे, बिहानै कार्यालय जान हतार हुन्छ,’ उनले भने, ‘छोराले के पढ्छ ? कत्तिको ध्यान दिन्छ भन्नेबारे घरका सबै अन्जान छौं ।’ शिक्षकले अंग्रेजीमै बोलेर पढाउने र बालबालिकाले अंग्रेजीमै उत्तर दिने भन्दै उनले विद्यालय गएर पढ्दा ढुक्क हुने अनुभव सुनाए । अनलाइन कक्षाकै कारण बालबालिकाले शिक्षक र अभिभावकको आँखा छल्न पाए मोबाइल वा ल्यापटपमा गेम खेलेरै अध्ययन बिगारेको रेग्मीको भनाइ छ । उनले प्रविधिले ल्याएको विकृतिको चपेटामा छोराछोरी पर्ने त्राससमेत रहेको बताए ।

शिक्षकलाई समेत अनलाइन प्रविधिबारे पूर्ण ज्ञान जरुरी भएको शिक्षिका सीता पुनले बताइन् । उनले साना बालबालिका एकैपटक बोल्ने बानी भएकाले अनलाइनमा होहल्ला बढी सुनिने, भौतिक रूपमा देखेर सम्झाउने, सिकाउने जस्तो वातावरण नहुने बताइन् । ‘प्रश्न सोध्नेदेखि हरेक कुरामा एउटा विद्यार्थी बोलेपछि सबैले त्यहीं पुनरावृत्ति गर्दै समय लिन्छन्,’ उनले भनिन्, ‘ठूलाको हकमा केही सहज भए पनि साना बच्चालाई पढाउन कठिनाइ नै हुन्छ ।’ उनीहरूसँग एकैपटक रमाइलो गरी बोल्न, खेलाइखेलाइ पढाउन नपाइने भएकाले पनि अनलाइन प्रविधिको सिकाइ दोहोरो देखादेख गरेर पढाउने र पढ्नेजस्तो नहुने उनको अनुभव छ ।

शान्ति नमुना माविमा प्रावि तहमा अध्यापनरत उनले प्रविधिबाट बालबालिकालाई पढ्ने सामग्री धेरै दिन सकिने तर शिक्षक प्रविधिमैत्री नभए छात्रछात्राले कक्षा बिगारिदिने, खिल्ली उडाउने, सामाजिक सञ्जालमा भिडियो आउने जस्ता नकारात्मक पक्षको विकाससमेत हुने गरेको सुनाइन् । विद्यालय जाँदा घरको सबै काम घरमै छोडेर गइन्थ्यो भने अहिले घरमा रहँदा पारिवारिक काम, विद्युत्को आपूर्तिमा गडबडी हुनेजस्ता समस्या आइपर्ने उनले बताइन् ।

अनलाइन कक्षाले बालबालिकालाई शारीरिक र मानसिक रूपमा समस्या दिइरहेको बाल रोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । उनले बालबालिका लामो समयसम्म स्क्रिनअगाडि बस्दा आँखा दुख्ने, टाउको, घाँटी र ढाड दुख्ने, शौच नै रोकेर बस्दा अर्को रोग थपिने, मोबाइल र ट्याबको नशा लाग्ने बताए । ‘परिस्थितिअनुसार सिर्जित अवस्था भए पनि बालबालिकालाई यसले नकारात्मक असर गरिरहेको छ,’ उनले भने, ‘पढाएकै समयमा गेम खेल्ने, युट्युब हेर्ने लत बसेकाले अभिभावक र बच्चा दुवैलाई मानसिक तनाव थपिएको छ ।’ पढाउनुअघि उभ्याएर व्यायाम गराउने, बीचबीचमा नचाउने, हँसाउने नगरे बालबालिकामा मानसिक समस्या उत्पन्न हुन सक्ने डा. पोखरेलको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

भेमाथाङ पहिरोको अध्ययन हुने

हिमनदीले बगाएको गेग्रानले बाढीको रुप लिएको प्रारम्भिक अनुमान
ऋषिराम पौड्याल

काठमाडौँ — भूगर्भविद्सहितको प्राविधिक टोली शुक्रबार मेलम्ची बाढीपहिरोको उद्गमस्थलको भौगोलिक अवस्था अध्ययन गर्न हेलम्बुको भेमाथाङ जाने भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटा नेतृत्वको टोलीले भेमाथाङ र त्यसमाथिको हिमाली भेग (करिब ४५ सय मिटर उचाइ) पुगेर अध्ययन गर्नेछ । मेलम्चीमा पहिरो गएपछि सरकारले पहिलोपटक त्यहाँ विज्ञ टोली पठाउन लागेको हो । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलका अनुसार टोलीका लागि स्याटेलाइट फोन, सर्भेको इक्विपमेन्ट, ड्रोन, टेन्ट खाद्यान्नलगायतका सामग्रीको व्यवस्थापन मिलाइएको छ । शुक्रबार सानो हेलिकप्टरबाट वरिष्ठ भूगर्भविद् बाँस्कोटासँगै प्राधिकरणका अधिकारी, सर्भेयर, ड्रोन प्राविधिक र पथप्रदर्शकसमेत ६ जना भेमाथाङ पुग्दै छन् । ‘मौसमले साथ दियो भने चार दिन बसेर अध्ययन गर्ने तयारीमा छौं,’ टोली प्रमुख बाँस्कोटाले भने, ‘हिमनदीले बगाएको गेग्रानले बाढीको रूप लिएको प्रारम्भिक अनुमान गरेका छौं ।’

मेलम्ची खोलाको मुहानबाट सुरु भएको बाढीपहिरोले डेढ महिनामा तल्लो तटीय क्षेत्रको झन्डै ४० किमि क्षेत्रमा बसोबास गर्दै आएका ४ जनाको ज्यान गएको छ भने २० जना अझै बेपत्ता भएका छन् । घर, खेतीयोग्य जमिन, पक्की तथा झोलुंगे पुल, मेलम्ची खानेपानी, सार्वजनिक भवनहरूको व्यापक क्षति भएको छ । गत असार १ गते र फेरि आएको बाढीपहिरोले थप क्षति भएको हो । बेलायतको डुर्हाम विश्वविद्यालयको सहयोगमा स्याटेलाइटमार्फत भेमाथाङ क्षेत्रको तस्बिर दिनैपिच्छे खिचिरहेकाले त्यसकै आधारमा पहिरोको अध्ययन सहज हुने प्राधिकरणका सीईओ पोखरेलले बताए ।

ट्रेकिङमा गएका स्थानीय गाइडका अनुसार चैत–वैशाखसम्म भेमाथाङ हरियो चौरका रूपमा थियो । माथिल्लो भेगको दायाँबायाँबाट आएका साना खोला उक्त चौरमा बग्थे । हेलम्बुका ट्रेकिङ गाइड सोनाम लामाका अनुसार भेमाथाङ चौर निकै ठूलो भागमा फैलिएको छ । ट्रेकिङका बेला उक्त चौरमा बास बस्ने गरिन्थ्यो । ‘हामीले टेन्ट हालेर बस्ने गरेको ठाउँ गेग्रानले भरिएको छ,’ लामाले भने, ‘यस्तो होला भन्ने कल्पना हामीले गरेका थिएनौं ।’ स्याटेलाइटमार्फत खिचिएको तस्बिरका आधारमा असार १ गतेको बाढीले भेमाथाङको गेग्रान बगाएको थिएन । पहिलो बाढी गएको एक महिना १७ दिनपछि मात्र भेमाथाङको गेग्रान बग्न थालेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।

प्राधिकरणको प्रारम्भिक अध्ययनका आधारमा पहिरो सुरु भएको भेमाथाङको लम्बाइ झन्डै साढे दुई किमि र चौडा करिब ७ सय मिटर रहेको अनुमान छ । जेठको अन्त्यबाट सुरु भएको वर्षात्का कारण हिमाली भेगबाट ढुंगा, माटो जम्मा भएको अनुमान गरिएको छ । सोही ढुंगा, माटो र बालुवाको थुप्रो बिस्तारै बग्दै बाढीमा परिणत भएको भूगर्भविद्हरूले अनुमान लगाएका हुन् । भेमाथाङमा रहेको स्तूपलाई दायाँ र बायाँबाट बगेको ठाडो खोला र हिमाली डाँडाबाट आएको गेग्रानले पुरेको छ ।

१० देखि १२ फिट बालुवा, ढुंगा र गेग्रानले पुरिएको स्तूपको टुप्पो मात्र देखिएको छ । दोस्रोपटक बाढी आएपछि हेलिकप्टरबाट भेमाथाङ पुगेर फर्केका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भेमाथाङ चौरको एक छेउबाट अर्को छेउ पुग्न झन्डै ४५ मिनेट लाग्छ । ‘गेग्रानले भरिएको जमिन कडा छ । बालुवा, ढुंगा र माटो जमेको छ,’ उनले भने, ‘चौरको दक्षिण–पूर्वी भागबाट मेलम्ची हेड वर्क्सतिर (खोला बगेको भागतिरै) सुरु भएको बाढीले लगातार कटान गरिरहेको छ ।’

हेलम्बु जोड्न यान्त्रिक ब्रिज

हेलम्बुको लाइफ लाइनका रूपमा रहेको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हेलम्बुको तार्केघ्याङ, शेर्माथाङ, मेलम्चीघ्याङलगायतका बस्तीमा सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार यहाँ आउजाउ र ढुवानीको मुख्य समस्या छ । समाधानका लागि मेलम्ची प्रवेश मार्गको चनौटेमा यान्त्रिक पुल (केबलकार जस्तै) बनाउने तयारी थालिएको छ । यान्त्रिक पुल निर्माणका लागि ६० देखि ६५ लाख खर्च हुने अनुमान छ ।

‘पुल निर्माणका लागि अध्ययन सुरु भइसकेको छ । बाढीले बेलिब्रिज बगाउन सक्ने, निर्माणको समय र लागतका हिसाबले पनि यान्त्रिक पुल सहज हुने देखिएको छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने । यान्त्रिक पुल एक प्रकारको केबलकार जस्तै हो । लट्ठामा जडान गरिएको कोक्रोको

माध्यमबाट मान्छे आउजाउ गर्न र ढुवानीका सामान ओसारपसार गर्न सकिन्छ । विद्युत्बाट सञ्चालन हुने पुल बिजुली नभएको अवस्थामा मान्छेले पनि चलाउन सक्ने उनले बताए । अहिले यस्तो पुल तनहुँको दुलेगौंडामा सञ्चालनमा छ ।

चनौटेको रातो पुल गत आइतबारको बाढीले बगाएपछि हेलम्बुसँगको यातायात पूर्णरूपमा बन्द भएको छ । चनौटेबाट मेलम्ची मुहानको अम्बाथानसम्मको सडक खण्डको सबैजसो भाग खोलामा मिसिएको छ । तत्काल सडक बनाउने सम्भावना छैन । मेलम्ची पुल बजारदेखि खानेपानी मुहानसम्मको करिब २० किमि सडक छियाछिया भएको छ ।

प्रकाशित : श्रावण २२, २०७८ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×