कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घर छाडेर जान्छन्, फर्कंदैनन्

पीडितले क्षतिपूर्ति नपाउँदा परिवारको बिजोग, मजदुरी गर्न जानेको दुर्घटना बिमासमेत हुँदैन
काशीराम डाँगी

रोल्पा — सुकबहादुर पुन ह्वीलचेयरमा ओहोरदोहोर गर्छन् । घर र आँगन नै उनको संसार बनेको छ । कुनै बेला हातपाखुरा खियाएर परिवारको रेखदेख गर्दै आएका उनी अरूको सहारामा निर्भर छन् । गाउँमा स्वरोजगारको उपाय नभएपछि काम खोज्दै उनी उवाबाट मुस्ताङ पुगेका थिए ।

घर छाडेर जान्छन्, फर्कंदैनन्

२०७५ असार २२ मा दुर्घटनामा परेर गम्भीर घाइते दुई जनामध्ये सुकबहादुर एक हुन् । उक्त दुर्घटनामा १० मजदुरको मृत्यु भएको थियो । उनीहरू मुस्ताङको दामोदरकुण्ड–३ स्याङबोचेमा सडक निर्माणमा खटिएका थिए । रोल्पालीहरु आकर्षक ज्यालाको आसले बर्सेनि स्वदेश र विदेशमा मजदुरीका लागि पुग्ने गरेका छन् ।

२०७३ भदौ पहिलो साता भारतको हिमाचलस्थित रामपुरनजिक पहिरो खस्दा जिल्लाको तालाबाङस्थित रिजाबाङका लक्ष्मीराम घर्तीको परिवारै पुरियो । उक्त खबर भारतीय सञ्चारमाध्यममार्फत करिब दुई सातापछि गाउँमा पुगेको थियो । प्रशासनलाई पनि उनीहरूको ठेगाना पहिचान गर्न मुस्किल परेको थियो । ‘खबर सुनेपछि हामी मूर्छित भयौं,’ लक्ष्मीरामकी बुहारी बेबुले भनिन्, ‘तर दुःख सहनुको विकल्प थिएन ।’ आफन्त पदम घर्तीमगरका अनुसार दुर्घटनामा पर्नुभन्दा ६ वर्षअगाडि परिवारसहित लक्ष्मीराम गाउँ आएका थिए । ‘फर्केर गएपछि परिवारै पहिरोमा परेको खबर आयो,’ उनले भने, ‘कमाउन गएको एउटा परिवारै गुमाउनुपर्‍यो ।’ अहिले उनको सम्पत्ति लथालिंग छ । घर भत्कियो, जग्गा बाँझो छ ।

जिल्लाको होलेरी नजिक बाइजा गाउँबाट कामको खोजीमा प्यूठान पुगेका एकै गाउँका ७ युवाको एक वर्षअघि ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु भयो । भिंगृ–स्वर्गद्वारी सडक कालोपत्र योजनामा कार्यरत उनीहरू साउने संक्रान्ति मनाएर घरबाट कार्यस्थल फर्कने क्रममा ट्र्याक्टर दुर्घटनामा परेका थिए । रोल्पाको रुन्टीगढी–५ का सागर बस्नेत, रिमबहादुर बस्नेत, कविराम बस्नेत, वीरेन्द्र बाठामगर, थमन बाठा मगर र गोवर्द्धन बुढामगरको मृत्यु भएको हो । त्रिवेणी–२ नुवागाउँका चालक कमल कुँवरको पनि घटनास्थलमै मृत्यु भएको थियो भने रोल्पा बाइजाकै विशाल थापा भने हाम फालेर जोगिएका थिए । उनीहरू ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीअन्तर्गत काम गर्थे । रुन्टीगढी–५ का वडाध्यक्ष नेपबहादुर थापाले राहतसमेत नपाएकाले कमाउने व्यक्तिको मृत्यु भएपछि अन्य सदस्यको अवस्था निकै दुःखपूर्ण भएको बताए । ‘सामान्य किरिया खर्च मात्रै पाएका थिए,’ उनले भने, ‘उनीहरूको परिवारको अवस्था अहिले दयनीय छ ।’

गत साउन ४ को राति मजदुरी गर्न बागलुङ पुगेका यहाँको गजुलका ४ जनाको विषाक्त मदिरा सेवनले मृत्यु भयो । गलकोटस्थित खानेपानी योजनामा काम गर्न पुगेको एक महिनामै उनीहरूको ज्यान गएको हो । सुनील स्मृति–५ का प्रवीण घर्ती, रेखबहादुर राना, दीपेन्द्र पुनमगर र दूधबहादुर रानाको मृत्यु भएको थियो । रवीन्द्र पुन र खेमराज घर्ती गम्भीर बिरामी भएका थिए । आफैंले पसलबाट मदिरा खरिद गरेर सेवन गरेको र त्यसबाटै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामको खोजीमा विभिन्न स्थानमा पुग्ने सर्वसाधारणलाई काममा लगाउने कम्पनी र राज्यले पर्याप्त क्षतिपूर्तिको व्यवस्था नगरेको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए । यसरी दुर्घटनामा ज्यान गुमाएपछि परिवारको आर्थिक अवस्था झन् खस्किएको उनले बताए । ‘गाउँमा काम दिन सकिएको छैन,’ उनले भने, ‘गाउँलेहरू मजदुरका रूपमा मुस्ताङ पुग्ने गरेका छन् । कुनै ठूलो दुर्घटना भएमा ठूलै क्षति हुन्छ ।’ प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले काम खोज्दै जिल्लाबाहिर पुग्नेको यकिन तथ्यांक नरहेको बताए । ‘अधिकांश ठेकेदारमार्फत काम जहाँ पाउँछन्, त्यहाँ पुग्छन्,’ उनले भने, ‘दुर्घटना भएपछि जानकारी आउने गरेको छ ।’

कम ज्याला पाएर पनि काम खोज्दै मुलुकभित्रैका स्थान र भारतमा समेत मजदुरी गर्न ठूलो संख्यामा जिल्लावासी जाने गरेका छन् । तर स्थानीय तह र प्रशासनले त्यसबारे कुनै तथ्यांक राख्ने गरेका छैनन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले स्थानीय तहले पूर्वाधारका योजना सञ्चालन गर्दा यहीं पनि काम पाउन सक्ने सम्भावना हुँदाहुँदै कतिपय बाहिर जाने गरेको बताए । रोल्पा नगर प्रमुख पूर्ण केसीका अनुसार बर्सेनि काम खोज्न बाहिर जानेहरूको लामो लस्कर देखिन्छ । कोरोना महामारी सुरु भएपछि घर फर्की आएकाहरूलाई व्यवस्थित गर्न निकै प्रयास गर्नुपरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दक्ष र अर्धदक्ष मजदुरलाई ठेकेदार वा नाइकेले लैजाने गरेका सूचना प्राप्त भए पनि त्यसबारे सोधीखोजी नगरिएको बताए । ‘कुनै दुर्घटना भयो भने वा अन्य कारणले सूचना र अनुसन्धान गर्नुपर्ने भएमा मात्रै हामीसम्म सोधीखोजी गर्न आग्रह हुने गरेको छ । अन्यथा यसबारे कसैले सोध्दैन,’ प्रजिअ सापकोटाले भने । स्थानीय तहमार्फत सूचना संकलन गरेमा केही तथ्यांक संकलन गर्न सकिने उनको भनाइ छ । अर्कातिर स्थानीय तहले चाहेमा मजदुरलाई दक्ष बनाउन आवश्यक तालिम दिने र विवरणसमेत राख्न सकिने सम्भावना रहेको उनले बताए । ‘ठेकेदार वा नाइकेमार्फत मजदुरी गर्न जानेहरूको बिमा बने/नबनेको बारे जानकारी हुँदैन,’ उनले भने, ‘सबै मजदुरको दुर्घटना बिमा गर्ने प्रावधान कार्यान्वयन गर्न सकेमा सुरक्षाको उच्च व्यवस्था मिलाउन सकिन्छ ।’

यकिन तथ्यांक नभए पनि बर्सेनि सयौं मजदुर जिल्लाबाहिर पुगेर मजदुरी गर्छन् । केहीले सडक वा अन्य दुर्घटनामा परी ज्यानसमेत गुमाउने गरेका छन् । मजदुरको खोजी दुर्घटना भएपछि मात्रै हुने गरेको छ । जिल्लाबाट मजदुरी गर्न जानेहरूको दुर्घटना बिमा गर्ने चलन छैन । बिमा र सामाजिक सुरक्षाको व्यवस्था अभावमा पीडितलाई क्षतिपूर्तिसमेत मिल्न मुस्किल पर्दै आएको छ ।

प्रकाशित : श्रावण २२, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?