१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘सम्मानले हौसला बढ्यो’

महामारीविरुद्ध लडेका लुम्बिनीका तीन चिकित्सक सम्मानित
सन्जु पौडेल

लुम्बिनी — बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा. नन्दु पाठकलाई तीन दिनदेखि बधाई दिनेको ओइरो छ । बारबरा फाउन्डेसन पुरस्कार प्राप्त भएपछि उनलाई बधाई दिंदै कोरोनाको तेस्रो लहरविरुद्ध उच्च मनोबलका साथ लड्न धेरैले शुभकामना दिए । ११ वर्षदेखि यहाँ कार्यरत उनी कोरोनाको पहिलो र दोस्रो लहरविरुद्ध दिनरात नभनी लडेका थिए । उनको सक्रियताले अन्य सहकर्मीलाई हौस्याएको थियो । 

‘सम्मानले हौसला बढ्यो’

आफूले पुरस्कार पाए पनि अस्पताल प्रशासन र खटिने सबै कर्मचारीको देन रहेको उनले उल्लेख गरे । ‘मैले पाएको पुरस्कार रकम पहाडी क्षेत्रमा बन्ने एक अस्पतालका लागि दिने निर्णय गरेको छु,’ उनले भने, ‘यस्ता पुरस्कार र हौसलाले कामप्रतिको बफादारिता र जिम्मेवारीमा सकारात्मक प्रभाव पारेको छ ।’ कोरोनाको पहिलो चरणदेखि नै संक्रमितको उपचारमा खटिएका उनले यसपटक फोकल पर्सनकै भूमिका पाएका छन् ।

अस्पतालमा जटिल बिरामीको आईसीयूमा उपचारदेखि दैनिक संक्रमण भएका बिरामीको उपचार र उनीहरूलाई परामर्श दिनुपर्ने जिम्मेवारी पाठकलाई छ । कामको सिलसिलामा बझाङसम्म पुगेका नन्दुको परिवारले उनीसँगै यो खुसी साट्न भने पाएको छैन । उनी छुट्टै कोठामा बसेका छन् । घरपरिवारले ढोकाबाटै शुभेच्छा दिए पनि सँगै खुसियाली मनाउन नपाउँदा भने केही खल्लो महसुस भएको उनले बताए । काम गर्ने कुरामा परिवारले सधैं बुझिदिँदा सहज भएको उनको भनाइ छ ।

१० वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा अर्थोपेडिक्सको रूपमा काम गरिरहेका डा. प्रकाश थापाले डेढ वर्ष भयो मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेको । उनले यसअघि डोटी जिल्लामा मेडिकल अफिसरको रूपमा काम गरेका थिए । त्यहाँ छँदासमेत एचआईभी संक्रमितका लागि गरेको उल्लेख्य उपचार सेवा र परामर्शले सम्मानित थापाले गत वर्ष राष्ट्रपतिबाट प्रबल जनसेवा श्री (चतुर्थ) पदक प्राप्त गरेका थिए । त्यस्तै, अर्थोपेडिक सेवा विस्तारमा उत्कृष्ट काम गरेबापत ०७७ मै उनलाई स्वास्थ्य दर्पण राष्ट्रिय सेवा अवार्ड प्रदान गरिएको थियो ।

डा. थापाले हाडजोर्नीका बिरामीको उपचारमा काम गरिरहँदा कोभिड महामारी भित्रिएपछि मेसुका हिसाबले कोरोनाका बिरामी र तिनका अवस्थाबारे मसिनरी बुझ्ने मौका पाएको बताए । यसपटक पनि आफ्नो कामको मूल्यांकन गरी बारबरा फाउन्डेसनले पुरस्कृत गरेकामा खुसी लागेको भन्दै उनले अस्पतालका सबै सहकर्मीको सहयोगले यो सफलता हासिल गर्न सफल भएको बताए । उनीसँगै भेरी अस्पतालका सात जनाले विभिन्न विधामा पुरस्कार पाएका थिए । डा. थापाले उक्त पुरस्कारले थप जिम्मेवार बन्न हौसला दिएको बताए । ‘पुरस्कार पाएको जानकारी पाउँदा एकाएक भावुक बनें,’ उनले भने, ‘सधैंभरि यसरी सेवा गर्न पाइयोस् भन्ने लाग्यो ।’ पुरस्कारबापत पाएको रकमले सामाजिक कार्यमै लगानी गर्ने उनले बताए ।

भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले पनि बारबराको पुरस्कार प्राप्त गरे । उनले यसअघि सिकलसेल रोगसम्बन्धी काम गरेबापत अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार पाएका थिए । वीर अस्पतालबाट एमडी हासिल गरेका पाण्डे गोरखा जिल्लामा जन्मिएर विभिन्न स्थानमा पढ्दै चिकित्सकीय पेसामा लागेको १७ वर्ष भयो । उनले भेरी अस्पतालअघि नवलपरासी, रोल्पा, दाङलगायतका जिल्लामा बसेर काम गरेका थिए । ‘१० वर्ष भयो, भेरीमा काम गरिरहेको,’ उनले भने, ‘पुरस्कारले हौसला दिएको छ । महामारी अझै नसकिएकाले काम गर्ने मनोबल बढेको छ ।’ उनले प्राप्त रकममध्ये केही बजेट सिकलसेलकै क्याम्प वा उपचार गर्न नसक्ने बिरामीका लागि खर्च गर्ने बताए ।

प्रकाशित : श्रावण १९, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?