एमाले संसदीय दलमै छु : सांसद विमला वली

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री (वली)ले आफू एमाले संसदीय दलमै रहेको बताएकी छन् । नेकपा पार्टी छदा सूर्य चिन्हबाट चुनाव जितेकी उनले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेको बताएकी थिइन् ।

एमाले संसदीय दलमै छु : सांसद विमला वली

वलीले सोमबार प्रेस विज्ञप्ती निकाल्दै आफू सूर्य चिन्हबाट चुनाव लडेकाले पार्टी विभाजन भएपनि एमालेमै बस्ने निर्णय गरेको बताएकी छन् । विज्ञप्तीमा प्रदेश सभामा रहँदा सुरुमा पार्टीप्रति केही गुनासा र अविश्वास भएपनि ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमाले पार्टी र एमाले प्रदेशसभा संसदीय सदस्यको सदस्यकै रुपमा रहने प्रतिबद्धता जनाएकी हुन् । एमाले छोडेर माओवादी केन्द्रमा जाने कुरा कानुनी रुपमा ठिक नभएको र पार्टी विभाजनपछि एमाले संसदीय दलकै बैठकमा सहभागी भएकाले भ्रममा नपर्न समेत आग्रह गरेकी छन् ।

वली दाङ क्षेत्र नम्बर ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचन मार्फत चुनिएकी हुन् । उनी पार्टी विभाजनपछि पनि एमाले संसदीय दलको बैठकमा सहभागी हुने र पार्टीको बैठकमा जाने गरेकी थिइन् ।

यद्यपि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वाशका मत ल्याएको बेला एकाएक हराएकी उनले वैशाख १९ मा माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलनमार्फत जानकारी गराएकी थिइन् । त्यसयता उनलाई एमालेले आफ्नो सदस्य भएको दाबी गर्ने र माओवादी केन्द्रले आफ्नो दाबी गर्ने जुहारी चलेको थियो ।

पछिल्लो समय गत बिहीबार अर्थात् साउन १४ देखि उनी माओवादी केन्द्रको सम्पर्क बाहिर थिइन् । पार्टीको सम्पर्क बाहिर रहेको भन्दै माओवादीले उनको खोजबिन गर्दा नेपालगन्जमा आफन्तकोमा बसेर उपचार गराइरहेको बताएकी थिइन् ।

यस्तो छ सांसद वलीको विज्ञप्ति :

प्रकाशित : श्रावण १८, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?