३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जथाभावी डोजर लगाउँदा बाढीपहिरो

पहाडी भूभागमा ग्रेड नमिलाएर ट्र्याक खोल्दा र सडक स्तरोन्नति गर्दा बढी क्षति
माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–२, जल्पाकी टिकीसरा दर्लामीको काम गरेर वर्षभरि खान पुर्‍याउने बारी पहिरोले बगाएको छ । आम्दानीको स्रोत अम्लिसो, तेजपात, हुर्केका मकै सबै पहिरो र सडक खन्दा भलले बगाएको हो । ढोलीमाराबाट मैदान र साठीकोल लगेको सडक स्तरोन्नति गर्दा खसेको पहिराले बारी पुरिएको उनले बताइन् ।

जथाभावी डोजर लगाउँदा बाढीपहिरो

‘श्रीमान्को कमाइ छैन, बारीमा भएका सबै पहिरोले पुरिदियो,’ उनले भनिन्, ‘अब के खाने हो भन्ने चिन्ताले सताउन थालेको छ ।’ दर्लामीका अनुसार माथिल्लो भागमा डाँडै थर्किने गरी डोजरले खनिएको छ । ठूला उपकरणको कम्पनले खलबलिएको जमिन वर्षायाममा पानीले गलेर बगेको हो । सडकमा जमेको पानीले खोल्सा बनाएको छ । पहिरो र भेलले ढुंगा र माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासिने, भूक्षय हुने, खोल्साखोल्सीमा बाढीले कटान गर्ने क्रम बढेको छ ।

‘बलियो पहाड थियो, अहिलेसम्म केही भएको थिएन,’ स्थानीय नीलबहादुर दर्लामीले भने, ‘माथिल्लो भागमा सडक चौडा गर्दा माटो, गेगर र ढुंगा बगाएर बर्बादै बनायो ।’ कमजोर भूबनोटका पहाडी भेगका डाँडाक्षेत्रमा जथाभावी खनिएका सडकका कारण हरेक वर्ष पहिरो खस्छ । जथाभावी फालिने डेबरेज (ढुंगामाटो) ले पनि बालीनालीमा क्षति पुगेको छ । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै ठूला उपकरण प्रयोग गरिन्छ ।

जथाभावी गरिने सडक निर्माणका क्रममा निकालिएको माटो र भल व्यवस्थापन नहुँदा विपद्को जोखिम बढेको रामपुर नगरपािलका–८, खालीवनका जुद्धबहादुर श्रेष्ठले बताए । डोजरले सडक खन्दा पहिरोको जोखिमसँगै खानेपानी ट्यांकीहरूमा क्षति पुगेको छ । पानी नपाएर खोल्सीमा धाउनु परेको छ । ‘सानो पहिरो खस्दाखस्दै ठूलै खस्यो,’ उनले भने, ‘जसबाट क्षति तल्लो तटीय क्षेत्रसम्म पुगेको छ ।’ डोजर लगाएर सडक खन्दा वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण केही पनि नहुने उनले बताए । भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुसी खनेका सडक वर्षायाममा भने विपद्को प्रमुख कारण बनेका हुन् । नाममात्रका उपभोक्ता समितिले ठूला उपकरण लगाएर सडकको नयाँ ट्र्याक बनाउने गर्छन् । सडक स्तरोन्नति गर्न संघ, प्रदेश र स्थानीय सरकाले प्रारम्भिक वातावरणीय परीक्षणसमेत गर्दैनन् । अधिकांश सडकमा पर्खाल पनि लगाउन्नन् । वृक्षारोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापनमा ध्यान दिँदैनन् । जसले गर्दा वर्षायाममा पानी पर्नासाथ पहिरोको समस्या बढेको पूर्वखोला गाउँपालिका–२, जल्पाका नवलसिंह घर्तीले बताए । ‘सडक चौडा गर्दा इन्जिनियर, कर्मचारी कोही हुँदैनन्,’ उनले भने, ‘डोजर चालकले मनपरी खन्छन् । अनि, वर्षा हुनासाथ पहिरो खस्छ ।’

संघ, प्रदेश र स्थानीय सरकारको बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाउने परिपाटी हटेको छैन । सडक पूर्वाधार विकास कार्यालयअन्तर्गत ७० बढी योजना अघिल्लो आर्थिक वर्षमा भए । १० स्थानीय तहका २ हजार बढी सडक चौडा गर्ने, स्तरोन्नति गर्ने योजना भएका छन् । सडक डिभिजनका पनि सय बढी त्यस्ता योजना छन् । हुँगीबाट फोक्सिङकोट जाने दुई–तीनवटा सडकमा बढी समस्या देखिएको छ ।

पहाडी भूभागमा ग्रेड नमिलाएर ट्र्याक खोल्ने, सडक स्तरोन्नति गर्ने काम गर्दा बढी क्षति पुगेको छ । रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार सडक ट्र्याक खोल्दा केही क्षति पुगे पनि त्यसलाई वातावरण जोगाउने गरी आगामी दिनमा काम गर्ने योजना छ । माथिल्लो भेगमा खनेको सडकले तल्लो भेगमा बालीनाली पुर्ने, कालीगण्डकी करिडोर सडकमा डेबरेज बगेर आउने गुनासो आएको उनले बताए । ‘क्षति कम गर्ने गरी काम गर्ने हो,’ उनले भने, ‘कतिपय स्थानमा पहिरो खस्ने र डेबरेज बगाएर समस्या पनि ल्याएको गुनासो सुन्नुपर्छ ।’ हुँगी, असेर्दीमा अघिल्लो वर्ष माथिल्लो भागबाट बगाएर ल्याएको डेबरेजले एक जनाको मृत्युसमेत भएको थियो । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रेम बस्यालका अनुसार नयाँ ट्र्याक खोल्दा बढी समस्या देखिएको छ । तर, प्रदेश सरकारका ७० योजनामा अधिकांश चौडा गर्ने थिए । यस वर्ष २३ किलोमिटर सडकमा चौडा गर्ने थियो । अब आगामी वर्षमा ग्राभेल, नाली र टेवा पर्खालको काम गर्ने उनले बताए । ‘कतिपय सडकमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईर्ई) गरे अनुसार डेबरेज व्यवस्थापन गर्न नसकिने अवस्था छ,’ उनले भने, ‘कतिपयमा प्रतिकूल असर पर्छ वा पर्दैन भन्ने कुराको अध्ययन गरिएको हुन्छ ।’

डाँडापाखो खन्ने प्रवृत्ति रोक्न प्रारम्भिक वातावरणीय परीक्षणबिना सडक चौडा गर्न, ट्र्याक खोल्न, स्तरोन्नति गर्न दिन नहुने डिभिजन वन अधिकृत मोहन पौडेलले बताए । ‘हामीले वन क्षेत्रमा सडक ट्र्याक बनाउँदा होस् वा अन्यत्र पनि यस विषयमा कुरा राख्ने गरिएको छ,’ उनले भने, ‘तर, हामीलाई अवरोध गर्ने, विकास विरोधी भन्ने गरिन्छ । त्यसैले धेरै कुरा भन्नसमेत अप्ठ्यारो लाग्छ ।’

प्रकाशित : श्रावण १८, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?