कांग्रेसका क्रियाशील सदस्यको नामावली सच्याउन माग

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषयमा विवाद चर्किएको छ । जिल्लामा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य तथा कांग्रेस नेता विक्रम खनाल समूहबीच क्रियाशील सदस्यता वितरण सम्बन्धमा सुरुवाती चरणदेखि नै विवाद थियो ।

वडा, नगर र क्षेत्रबाट स्वीकृत भएर केन्द्रमा पठाइएको नाम परिवर्तन भएपछि अहिले थप विवाद चर्किएको हो । जिल्लाका केही वडामा क्रियाशील सदस्यको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले त्यो रद्द गर्न माग गरेको छ । संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्रकुमार गुप्ता र सोही क्षेत्रका प्रदेश कार्यसमिति सभापति दिनेशमणि पाठकले आइतबार विज्ञप्ति जारी गर्दै जिल्ला र क्षेत्रले समेत टुंग्याउन नसकेका नामहरू जिल्लाका केही नेताको दबाबमा केन्द्रमा थपघट गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा रामग्राम नगरपालिका–३, १५, १६ र पाल्हीनन्दन गाउँपालिका–४ मा सदस्यतासम्बन्धी वडास्तरबाटै विवाद उत्पन्न भएकामा केन्द्रमा गठित छानबिन समितिको प्रतिवेदनले समेत उक्त वडाहरूमा नयाँ सदस्यता थप नगरी १३ औं महाधिवेशनका सदस्यबाट अधिवेशन गर्न राय दिएको तर अधिवेशन आफू अनुकूल बनाउन जिल्लाका केही नेताले केन्द्रमा दबाब दिएर नामावली थपघट गरेको उल्लेख छ ।

अन्य पालिकाहरूका केही वडामा पनि एकपक्षीय रूपमा नामावली थपघट गर्ने, पोस्टिङ भइसकेका नाम झिकेर आफू अनुकूलका व्यक्तिको नाम राख्ने कार्य भइरहेकाले त्यसतर्फ समेत केन्द्रीय पदाधिकारीको ध्यानाकर्षण गराउँदै त्यस्ता नामावली रद्द गर्न माग गरिएको कांग्रेस नेता तथा संघीय क्षेत्र नम्बर २ का सभापति नरेन्द्रकुमार गुप्ताले बताए ।

जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढी क्रियाशील सदस्यको नामावली पठाइएको पार्टी जिल्ला समितिले जनाएको छ । जिल्ला सभापतिका लागि अहिले संविधानसभा सदस्य विक्रम खनाल समूहबाट अर्जुनकुमार पोखरेल र प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल समूहबाट मोहन शर्माको नाम चर्चामा छ ।

प्रकाशित : श्रावण १८, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?