सर्वाेच्चले माग्यो प्रदेश सांसद न्यौपाने र पन्थीलाई हटाउनुको कारण- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वाेच्चले माग्यो प्रदेश सांसद न्यौपाने र पन्थीलाई हटाउनुको कारण

अमृता अनमोल

बुटवल — सर्वाेच्च अदालतले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण सोधेको छ ।

एमाले प्रवेश गरेपछि प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदकहरुले नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको मागसहित निवेदन दिएका थिए ।

आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।

न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरुलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त घोषणा पत्रका आधारमा निर्वाचनमा लडेकाले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदकहरुको जिकिर छ ।

प्रकाशित : श्रावण १७, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ का प्रमुख झा रोल्पामा 

काशीराम डाँगी

रोल्पा — प्रदेश २ का प्रमुख राजेश झाले तराई र पहाड एकसाथ हुन सके राष्ट्रियता थप मजबुत हुने विचार व्यक्त गरेका छन् ।शुक्रबार रोल्पाको भ्रमणका क्रममा लिबाङ आएका प्रदेश प्रमुख झाले नेपालीहरुबीच भावनात्मक एकता गराउन अहिलेको राजनीति सफलसिद्ध हुनेमा विश्वास रहेको बताए ।

फाइल फोटो

‘नेपाली मनलाई एकता बनाउनु आवश्यक छ, स्थानीय प्रशासन, पत्रकार, बुद्धिजीवी र अगुवासँगको भेटका क्रममा उनले भने, ‘सबैबीच भावनात्मक एकता र बलियो नेतृत्व हुन सके १० वर्ष भित्रमै नेपाल विकसित हुनेमा शंका छैन ।’ प्रदेश प्रमुख हुनुअघि र पछि देश भ्रमणमा चासो र रुचि भएका बनाउँदै पूर्वपत्रकार एवं लेखक झाले भ्रमणको क्रममा रोल्पा ४४ औं जिल्ला भएको बताए । भ्रमणका क्रममा स्थानीयसँग छलफल गर्दै रैथाने रहनसहन, कला संस्कृति, भाषा र प्राकृतिक सम्पदाबारे गहिरो अध्ययन गर्न मन लागेको उनले बताए ।

सानो सुरक्षा टोलीसहित सामान्य अवस्थामा मुलुक भ्रमणमा निस्केका उनी अति सहज तरिकाले राष्ट्र र राष्ट्रियताबारे सहभागीका तर्क, भावना र कुरा सुन्छन् । ‘पहिले मुलुकलाई बुझ्नुपर्छ । मानिसलाई चिन्नुपर्छ र एकतामा जोड्नुपर्छ ।’ अनौपचारिक यात्रामा चासो बढेको बताउँदै उनले व्यक्तिगत यात्राले मुलुक बुझ्न सघाउने बताए । रोल्पामा आउँदा उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आउनुअघि सूचना दिएका थिएनन् । मुलुकभित्रका सबै जिल्लामा पुग्न सके आफ्नो भूमि र भावनाबारे जान्ने मेसो मिल्ने उनको बुझाई छ ।

उनले मुलुकका निर्माता पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि अझै नेपाली–नेपालीबीच भावनात्मक एकीकरण हुन बाँकी रहेको दाबी गरे ।

राज्यका प्रतिनिधि नागरिकको घरमै पुग्नुपर्छ भन्ने संकेत गर्दै उनी ज्येष्ठ नागरिक एवं समाजसेवी चिन्तामणि आचार्यको घर रहेको रोल्पा नगरपालिका–२ पिपलचौतारामै पुगेका थिए । आचार्यले २०१९ सालमा रोल्पा जिल्लाको गठन गर्दाको प्रक्रिया र प्रसंग सुनाएका थिए भने झाले निकै रुचिपूर्वक सुनेका थिए । ज्येष्ठ नागरिकहरु इतिहास र अनुभवका खानी हुने उनको विश्वास छ । रोल्पा सदरमुकाम लिबाङमा भेटघाट, घुमघाम गरेपछि प्युठानस्थित स्वर्गद्वारी महाप्रभुको मन्दिरको दर्शन गरेर प्रदेश प्रमुख झा जनकपुर फर्केका थिए ।

प्रकाशित : श्रावण १७, २०७८ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×