१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश २ का प्रमुख झा रोल्पामा 

काशीराम डाँगी

रोल्पा — प्रदेश २ का प्रमुख राजेश झाले तराई र पहाड एकसाथ हुन सके राष्ट्रियता थप मजबुत हुने विचार व्यक्त गरेका छन् ।

शुक्रबार रोल्पाको भ्रमणका क्रममा लिबाङ आएका प्रदेश प्रमुख झाले नेपालीहरुबीच भावनात्मक एकता गराउन अहिलेको राजनीति सफलसिद्ध हुनेमा विश्वास रहेको बताए ।

प्रदेश २ का प्रमुख झा रोल्पामा 

‘नेपाली मनलाई एकता बनाउनु आवश्यक छ, स्थानीय प्रशासन, पत्रकार, बुद्धिजीवी र अगुवासँगको भेटका क्रममा उनले भने, ‘सबैबीच भावनात्मक एकता र बलियो नेतृत्व हुन सके १० वर्ष भित्रमै नेपाल विकसित हुनेमा शंका छैन ।’ प्रदेश प्रमुख हुनुअघि र पछि देश भ्रमणमा चासो र रुचि भएका बनाउँदै पूर्वपत्रकार एवं लेखक झाले भ्रमणको क्रममा रोल्पा ४४ औं जिल्ला भएको बताए । भ्रमणका क्रममा स्थानीयसँग छलफल गर्दै रैथाने रहनसहन, कला संस्कृति, भाषा र प्राकृतिक सम्पदाबारे गहिरो अध्ययन गर्न मन लागेको उनले बताए ।

सानो सुरक्षा टोलीसहित सामान्य अवस्थामा मुलुक भ्रमणमा निस्केका उनी अति सहज तरिकाले राष्ट्र र राष्ट्रियताबारे सहभागीका तर्क, भावना र कुरा सुन्छन् । ‘पहिले मुलुकलाई बुझ्नुपर्छ । मानिसलाई चिन्नुपर्छ र एकतामा जोड्नुपर्छ ।’ अनौपचारिक यात्रामा चासो बढेको बताउँदै उनले व्यक्तिगत यात्राले मुलुक बुझ्न सघाउने बताए । रोल्पामा आउँदा उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आउनुअघि सूचना दिएका थिएनन् । मुलुकभित्रका सबै जिल्लामा पुग्न सके आफ्नो भूमि र भावनाबारे जान्ने मेसो मिल्ने उनको बुझाई छ ।

उनले मुलुकका निर्माता पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि अझै नेपाली–नेपालीबीच भावनात्मक एकीकरण हुन बाँकी रहेको दाबी गरे ।

राज्यका प्रतिनिधि नागरिकको घरमै पुग्नुपर्छ भन्ने संकेत गर्दै उनी ज्येष्ठ नागरिक एवं समाजसेवी चिन्तामणि आचार्यको घर रहेको रोल्पा नगरपालिका–२ पिपलचौतारामै पुगेका थिए । आचार्यले २०१९ सालमा रोल्पा जिल्लाको गठन गर्दाको प्रक्रिया र प्रसंग सुनाएका थिए भने झाले निकै रुचिपूर्वक सुनेका थिए । ज्येष्ठ नागरिकहरु इतिहास र अनुभवका खानी हुने उनको विश्वास छ । रोल्पा सदरमुकाम लिबाङमा भेटघाट, घुमघाम गरेपछि प्युठानस्थित स्वर्गद्वारी महाप्रभुको मन्दिरको दर्शन गरेर प्रदेश प्रमुख झा जनकपुर फर्केका थिए ।

प्रकाशित : श्रावण १७, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?