भारतमा एक नेपालीको मृत्यु

काशीराम डाँगी

रोल्पा — रोजगारीका सिलसिलामा भारत जाँदै गरेका रोल्पाका एक जनाको ज्यान गएको छ । पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका ५० वर्षीय चित्रबहादुर खत्रीको साउन १२ मा दक्षिण भारतस्थित तमिलनाडुमा रेलबाट खसेर ज्यान गएको वडा अध्यक्ष केशव कुँवरले बताए ।

एक साताअघि घरबाट भारतको केरलास्थित कोचिन जान हिँडेका खत्री दिल्लीदेखि केरला चल्ने रेलबाट खसेका थिए । भारतस्थित नेपाली मजदुरहरुको संस्था मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अनुसार चलिरहेको रेलबाट तमिलनाडुको तिरुप्पुर नजिक खस्दा खत्रीको घटनास्थलमै ज्यान गएको थियो ।

वडा अध्यक्ष कुँवरका अनुसार दिल्लीसम्म गाउँबाट साथै गएका ४/५ जनासँगै रहेको तर त्यसपछि उनीहरु आ–आफ्नो गन्तव्य पुग्न छुट्टिएको खबर घरसम्म आइपुगेको हो । उक्त घटनाबारे भारतीय प्रहरीले नेपालस्थित खत्रीको घरसम्म खबर पठाएको थियो ।

दुई दिनपछि भारतस्थित नेपाली मजदुरहरुको संस्था मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्यहरुको सक्रियतामा मृतक खत्रीको अन्तिम दाहासंस्कार गरिएको थियो । त्यसअघि प्रहरीले मुचुल्का संकलन र अस्पतालमा पुर्‍याइ पोस्टमार्टमसमेत गरेको थियो । खत्रीका श्रीमतीसहित चार सन्तान छन् ।

प्रकाशित : श्रावण १७, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?