अर्घाखाँचीमा १४ दिन निषेधाज्ञा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीमा १४ दिन निषेधाज्ञा

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासनले १४ दिन कडा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबारबाट साउन ३० गते रातिसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ । 

प्रशासनका अनुसार यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म डेरी, खाद्यान्नलगायत अत्यावश्यक पसल मात्र खोल्न दिइनेछ । सार्वजनिक, निजी यातायात चल्नेछैनन् । बैंक तथा वित्तीय संस्था पुरै बन्द हुनेछन् ।

शिक्षण संस्था, धार्मिक स्थल, विभिन्न कार्यक्रम, सभासम्मेलनलगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । ‘गाउँमा कोरोना संक्रमण दर बढेकाले नियन्त्रणको लागि कडा निषेधाज्ञा जारी गर्नुपरेको हो,’ उनले भने, ‘अर्घाखाँचीवासी १४ दिनसम्म घरभित्रै सुरक्षित भएर बस्नुस्, कतै नहिँड्नुस् । कोरोना नियन्त्रणमा सघाउनुस् ।’

जिल्लामा हाल ५ सय ७१ जना कोरोना संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । गाउँ–गाउँमा रुघाखोकी, ज्वरोका बिरामी छन् । गाउँमा एन्टिजेन्ट परीक्षण बढाउने र संक्रमित भएकालाई होम क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने प्रजिअ पौडेलले बताए ।

गाउँमा तेस्रो लहर आएकाले कोरोना संक्रमण बढेको अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले बताए । ‘एन्टिजेन परीक्षण गरिएका मध्ये आधाको रिपोर्ट पोजिटिभ आउने गर्छ । अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन दिएर बचाउनु परेको छ । जिल्लामा तेस्रो लहरको संक्रमण दर बढ्दो छ,’ उनले भने, ‘बेलैमा नियन्त्रण नगरिए भयावह स्थिति हुन सक्छ ।’

गाउँमा धेरैजसो रुघाखोकी, ज्वरो आउनेका बिरामी प्राय: घरैपिच्छे भएकाले स्थानीय तहको समन्वयमा एन्टिजेन परीक्षण गर्ने र संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताए ।

प्रकाशित : श्रावण १७, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

भैंसी व्यापारीसँग कोरोना खोप किनेर लगाउँदा पक्राउ

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–४ का चोपनारायण श्रेष्ठले भारतीय एक भैंसी व्यापारीसँग किनेर एक साताअघि आफू, श्रीमती, छोरा र छिमेकीसमेत सात जनालाई कोरोनाविरुद्धको खोप लगाए । वाङ्लास्थित सन्देश नेवारी खाजाघरभित्र खोप लगाएको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा राखे ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङ्लास्थित सन्देश नेवारी खाजाघरमा खोप लगाइँदै । तस्बिर : चोपनारायण श्रेष्ठको फेसबुकबाट

तर यसरी तस्बिर सार्वजनिक भएपछि उनले सास्ती बेहोर्नुपरेको छ । उनले प्रहरीलाई चारपटक बयान नै दिइसकेका छन् । प्रहरी निगरानीमै रहेका उनले फेसबुकबाट खोप लगाएको तस्बिर भने हटाइसकेका छन् ।

प्रहरीले श्रेष्ठसँग खोप कसरी आयो भन्नेबारेमा सोधपुछ गरेको छ । ‘कोरोनाविरुद्धको खोप कहाँबाट ल्याइयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले भने, ‘बोलाएका बेला आउने गरी श्रेष्ठलाई निगरानीमा राखेका छौं ।’ प्रहरीका अनुसार श्रेष्ठले नेपाल–भारत सीमाबाट भैंसी व्यापारीले ल्याइदिएको खोप होटलमा ल्याएर लगाएको बताएका छन् ।

‘खोप लगाउन पाइएन । भैंसी खरिद गर्न गाउँमा आउने व्यापारीले सीमातिर खोप पाइन्छ ल्याइदिऊँ भनेर सोधेका थिए । पाइन्छ भने ल्याइदिनूस् भनें, एक महिनापछि खोप ल्याइदिए,’ श्रेष्ठले भनेका छन्, ‘वाङ्लामा मेडिकल चलाउने मेरो मामाको छोरो दीपक श्रेष्ठलाई बोलाएर म, श्रीमती, छोरोसहित छिमेकीले खोप लगायौं ।’ भैंसी व्यापारीलाई आफूले फेरि देखे चिन्ने बताए पनि उनले घर र ठेगाना थाहा नभएको बताए । श्रेष्ठले प्रतिडोज खोप एक हजार रुपैयाँमा किनेको बताए । त्यो खोप एक पटक लगाए पुग्ने भैंसी व्यापारीको भनाइ थियो ।

प्रहरीले उनका छोरालाई पनि बयानका लागि बोलाउने गरेको छ । खोप लगाइदिने दीपक श्रेष्ठ पनि प्रहरी निगरानीमा छन् । उनले आफूले भेरोसेल खोप लगाइदिएको प्रहरीलाई बताएका छन् । खोप लगाउनेहरू २० देखि ५८ वर्षसम्मका छन् ।

‘श्रीमती घरमै छिन्, अरू कोही काठमाडौं गए, कोही काम गर्न विभिन्न ठाउँ गए,’ चोपनारायण श्रेष्ठले भने । प्रहरीले खोप ल्याउने ती व्यापारीलाई हाजिर गराउन भनेको छ । उल्फतमा आइलागेको झमेला टुंग्याउन भैंसी व्यापारी आए भने प्रहरीकहाँ बुझाउने सोचाइमा श्रेष्ठ छन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले खोप सरकारी निकायभन्दा गैरकानुनी बाटोबाट ल्याइएकाले अनुसन्धान भइरहेको बताए । ‘कस्तो खोप हो, कहाँबाट ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । श्रेष्ठले खोपको खोल जलाएको बयान दिएका छन् ।

सरकारले जिल्ला जनस्वास्थ्य र गाउँका स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप लगाउँदै आएको छ । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले वाङ्लामा उनीहरूलाई सरकारी निकायको अनुमतिबाट खोप नलगाइएको बताए । ‘भ्याक्सिन स्वास्थ्यचौकीमै लगाइन्छ, होटलमा होइन,’ उनले भने ।

प्रकाशित : श्रावण १५, २०७८ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×