विद्यार्थीलाई निःशुल्क सिम- लुम्बिनी - कान्तिपुर समाचार

विद्यार्थीलाई निःशुल्क सिम

कान्तिपुर संवाददाता

पाल्पा — रम्भा गाउँपालिकाले अनलाइन कक्षा सञ्चालन गर्न पाठशाला क्लोज युजर ग्रुप ‘सीयूजी’ सिम निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले शिक्षा शाखाको समन्वयमा सात मावि र एक आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकलाई यस्तो सिम वितरण गरेको हो ।

बाँकी एउटा माविलाई केही दिनभित्र वितरण गरिने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । हुँगीको जनकल्याण र श्रीकृष्ण गण्डकी मावि, फोक्सिङकोटको सानाहुँगी मावि, पीपलडाँडाको अमृत पब्लिक मावि, कृष्ण मावि झेस्काङ र रविकिरण माविलाई सिम वितरण गरिएको छ । यसैगरी, ताँहुको रम्भा मावि र प्राकृतिक आधारभूत विद्यालयमा अनलाइन कक्षा सञ्चालनका लागि सिम वितरण गरिएको छ । अहिलेसम्म १ हजार ७ सय ६५ शिक्षक र विद्यार्थीलाई सिम वितरण गरिसकेको छ । हुमिनको जनहित भगवती माविको कागजपत्र पूरा नभएकाले पूरा हुनासाथ केही दिनमै सिम वितरण गरिनेछ ।

शिक्षक र विद्यार्थीले प्रयोगकर्ता समूहभित्र फोन गर्दा पैसा लाग्दैन । ‘अनलाइन कक्षा सञ्चालनका लागि डाटासहितको सिम वितरण गरिएको हो,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने, ‘यसबाट अनलाइन कक्षा सञ्चालन गर्न सहज भएको शिक्षकबाट प्रतिक्रिया पाएका छौं ।’ गाउँपालिकाले संघ सरकारको ससर्त अनुदानबाट मावि र आधारभूत विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क सिम दिएको शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले बताइन् ।

नेपाल टेलिकमका अनुसार १ सय २९ रुपैयाँ प्रतिसिम एक महिनाका लागि खर्च लाग्छ । यसमा आठ जीबी डाटा निःशुल्क हुन्छ । युजर समूहभित्र फोन गर्दा पैसा लाग्दैन । बाहिर नम्बरमा भने कल गर्न नमिल्ने नेपाल टेलिकमका अधिकृत नारायण घिमिरेले बताए । ‘सुरुमा एकमुष्ट १ सय २९ रुपैयाँका दरले तिर्नुपर्छ र रिचार्ज गर्दा पनि एकमुष्ट नै तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘शिक्षक, विद्यार्थीको विवरण रनागरिकता पेस गरेर मात्र सिम लिन पाउने सुविधा छ ।’

प्रकाशित : श्रावण १५, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

तुइनबाट खसेर महाकालीमा एक जना बेपत्ता

मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । सोही ठाउँका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान ८ बजेतिर महाकालीमा खसेको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार गाउँबाट दार्चुला सदरमुकाम खलंगा आउन महाकालीको तुइन तरेर भारत पुगेका थिए । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धम्क्याएर तुइन खोल्न लगाउँदा त्यसैको तारले तानेर उनी महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन तरेर व्यासका केही मानिस भारतीय बजार गएका थिए । प्रहरी घटनास्थलमा पुगेको र थप विवरण आउन बाँकी रहेको दार्चुला प्रहरीका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए ।

अहिले दुम्लिङ र सुन्सेरा प्रहरी चौकीको टोली तथा स्थानीय बासिन्दा मिलेर बेपत्ता धामीको खोजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण १५, २०७८ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×