एकै जिल्लामा ४० भन्दा बढी योजना वर्षौंदेखि अलपत्र- लुम्बिनी - कान्तिपुर समाचार

एकै जिल्लामा ४० भन्दा बढी योजना वर्षौंदेखि अलपत्र

काम सुरु भए पनि निर्माण व्यवसायी र कार्यालय प्रमुखको लापरबाहीले पूरा भएनन्
पछिल्लो समय कोरोनाको बहाना बनाउँदै काम नगरी बर्सेनि म्याद थप प्रयास
माधव अर्याल

पाल्पा — पाल्पामा ठूला विकासे योजना वर्षौंदेखि अलपत्र परेका छन् । १२ वर्षदेखि ठूला योजना अलपत्र पर्दासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । कतिपय संघ सरकारले सुरु गरेका योजना छन् भने केही प्रदेश सरकार र कतिपय स्थानीय सरकारले जिम्मा लिएका योजना छन् । 

१० वर्षदेखि अलपत्र पाल्पाको भुजात–चापाकोट जोड्ने पक्की पुलको पिलर । तस्बिर : माधव/कान्तिपुर

रामपुर अस्पताल भवन निर्माणको म्याद तीन वर्षअघि नै सकिएको हो । अझैसम्म निर्माण व्यवसायीले काम सकेका छैनन् । रविना कन्स्ट्रक्सनले २२ करोड २२ लाख रुपैयाँ लागतमा भवन निर्माणको जिम्मा लिएको थियो । तर, उसले टेन्डर बिड गर्दा घटेर १८ करोडमा तीन वर्षमा सक्ने गरी काम लिएको रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वासुदेव भट्टराईले बताए । ‘म्याद सकिएको तीन वर्ष भइसक्यो,’ उनले भने, ‘अहिले असार मसान्तसम्म पनि पाइन्छ कि भनेको पाइएको छैन । काम अझै धेरै नै बाँकी छ ।’ वर्षभरिमा वैशाख, जेठ, असारमा काम गर्ने निर्माण व्यवसायीले पछिल्लो समय कोरोनाको बहाना बनाउँदै काम नगरी बर्सेनि म्याद थप्दै बसेका छन् ।

पाल्पा, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीका केही भागका जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ५० शय्याको अस्पतालका लागि भवन निर्माण थालिएको रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विजय परियारले बताए । ‘भवन समयमा निर्माण नहुँदा कर्मचारीले बस्ने ठाउँसमेत पाएका छैनन्,’ उनले भने, ‘सेवा सञ्चालन गर्नसमेत मुस्किल परेको छ ।’ पुरानो भवनबाटै काम चलाउनुपरेको छ ।

रामपुर नगरपालिकास्थित कालीगण्डकी नदीमा निर्माण सुरु भएको भुजात र स्याङ्जाको चापाकोट जोड्ने पुल १० वर्षदेखि अलपत्र छ । १२ करोड लागत बढेर १८ करोड रुपैयाँ पुगिसक्यो । दुई प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माण सुरु गरेको पक्की पुल ठेक्का लागेको वर्षौंसम्म अलपत्र रहेको सडक डिभिजनका प्रमुख मुकुन्द अधिकारीले बताए । स्थानीयले भने निर्माण व्यवसायी र सडक डिभिजनको लापरबाहीले नदीमा पुल निर्माण सम्पन्न हुन नसकेको आरोप लगाउने गरेका छन् । यही नजिक अर्को पक्की पुल पनि १० वर्षदेखि अलपत्र छ ।

रामपुरको प्याकलुकदेखि स्याङ्जाको चापाकोट नगरपालिका जोड्ने उक्त पुलमा १० वर्षसम्म अझै काम सकिएको छैन । यसको लागत पनि १२ करोडबाट बढेर १५ करोड रुपैयाँ पुगेको छ । चापाकोट जोड्ने भुजात र प्याक्लुकका दुवै पुलका डिजाइनमा गल्ती भेटिएको बताइएको छ । ‘काम सुरु गरेपछि नै पोलमा समस्या आएको हो,’ सडक डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने, ‘अहिले त्यसको डिजाइन नै परिवर्तन गरेर काम अघि बढेको छ ।’

चापाकोट–भुजात र प्याक्लुक–चापाकोट दुई पक्की पुल १० वर्षमा ४० प्रतिशत मात्र काम भएको छ । पुल निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी, कन्सल्टेन्ट र सरोकारवालाको बेवास्ताका कारण निर्माणमा ढिलाइ हुँदा सरोकारवाला निकायको ध्यान नपुगेको र निर्माण सम्पन्न नभएको स्थानीय रवीन्द्र पंगेनीले बताए । रम्भाको असेर्दी, बगनासकालीको यम्घामा सुरु गरिएका पुलको पनि काम भएको छैन ।

तानसेन नगरपालिका–७, बाघखोरमा निर्माणाधीन कोल्ड स्टोर ९ वर्षदेखि अझै सम्पन्न हुन सकेको छैन । २०६९ फागुन २३ मा निर्माण सुरु भएर २०७१ जेठ १५ मा सकिने गरी निर्माण व्यवसायीसँग सम्झौता भए पनि अझै सम्पन्न हुन नसकेको हो । तानसेनस्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरमा निर्माण सुरु भएको एकीकृत भवन ६ वर्षसम्म पनि काम सकिएको छैन । दुईवटा भवन निर्माण कहिले काम सुरु भएको र काम सकिने कहिले हो भन्नेसमेत जानकारी छैन । कति बजेटको हो भन्नेसमेत कहींकतै उल्लेख छैन । निर्माण व्यवसायी कुन हो र कसले, कहिले सम्पन्न गर्नेसमेत कतै उल्लेख छैन । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय कार्यान्वयन इकाइ भैरहवाबाट काम भए पनि पटकपटक सम्पर्क गर्दासमेत जानकारी पाइएको छैन ।

जिल्लामा ४० भन्दा बढी आयोजना निर्माण व्यवसायी र कार्यालय प्रमुखको लापरबाहीले अलपत्र छन् । सडक निर्माण, पक्की पुल, भवन निर्माण, कृषि, पर्यटकीय स्थल, स्वास्थ्य चौकी, अस्पताल भवन निर्माणका ठेक्का आयोजनामा पेस्की लिएर निर्माण व्यवसायी बेपत्ता हुने र काम नगर्ने प्रवृत्ति छ । दुई वर्षदेखि तानसेन नगरपालिकाले तानसेन श्रीनगर डाँडामा ‘बिग बुद्ध’ बनाउने योजना पनि अघि बढेको छैन । ‘गत वर्ष पनि नगरपरिषद्बाट बजेट छुट्याइएको थियो,’ नगर प्रमुख अशोककुमार शाहीले भने, ‘विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभइसकेकाले काम अघि बढ्न सकेन ।’ यस वर्ष पनि काम हुन सकेन । यही योजनाका लागि हरेक वर्ष बजेट विनियोजन भने भइरहेको छ ।

सार्वजनिक निजी साझेदारीअन्तर्गत रानीमहल, श्रीनगरका लागि टेन्डर परे पनि काम अघि बढेको छैन । राजमार्गमा विश्रामस्थल (रिफ्रेसमेन्ट सेन्टर) निर्माणका लागि पनि सार्वजनिक साझेदारी कार्यक्रमअन्तर्गत सेवाग्राही छनोट भए पनि काम नभएको सूचना अधिकारी दुर्गा थापाले बताए । जिल्लामा सडक निर्माण, स्तरोन्नति, कालोपत्र, सिमेन्ट उद्योग पहुँचमार्गको कामसमेत अलपत्र छन् । सिद्धबाबा क्षेत्रमा कालोपत्र गर्ने ठेक्का पनि समयमा सम्पन्न भएको छैन । १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग आयोजनाका दुई निर्माण व्यवसायीले ठेक्का लिएको आठ वर्षसम्म पूरा गरेका छैनन् । करिडोरको रिडीदेखि राम्दीसम्म ५ करोड बढीको काम सम्पन्न हुन नसकेको आयोजना प्रमुख सुबोध देवकोटाले बताए ।

थोरै काम गरेर निर्माण व्यवसायी सम्पर्कमा नआउने र कार्यालयले काम गराउन नसक्ने अवस्था रहेको उनले बताए । ‘ट्र्याक खुलाउने काम सफल भएको छ,’ उनले भने, ‘अझै दुई निर्माण व्यवसायीको काम सम्पन्न गराउन सकिएको छैन ।’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास कार्यालय, पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका करोडौंका योजना पनि अलपत्र छन् । सहरी विकास तथा भवन कार्यालयअन्तर्गतका निर्माणका काम पनि अलपत्र छन् । डिभिजनअन्तर्गत २५ बढी भवन निर्माणको काम समयमा सकिएको छैन । सडक पूर्वाधार विकास कार्यालयअन्तर्गतका योजना पनि समयमा काम नसकेर अलपत्र छन् ।

प्रकाशित : श्रावण १५, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

खोप नपाएसम्म पाल्पामा शिक्षकहरुले काम नगर्ने

माधव अर्याल

पाल्पा — जिल्लाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाउँदासम्म सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने जनाएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समितिले बुधबार राखेको संयुक्त भेलाले कोभिड विरुद्धको खोप लगाउन नपाएसम्म जुनसुकै बोर्ड परीक्षा, अनलाइन र अफलाइन कक्षालगायत सबै प्रकारका शैक्षिक गतिविधि बिहीबारदेखि बन्द गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।

कोभिड १९ को बढ्दो संक्रमण र त्रासपूर्ण अवस्थामा शैक्षिक अवस्थालाई चलायमान बनाउनका लागि बालबालिकाहरु तथा अभिभावकहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा शिक्षकहरु जोखिममा रहेको उनले बताए ।

सरोकारवाला निकायहरूको ध्यानाकर्षण गरी जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य कार्यालयमा खोप व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष धनकला गाहाले बताइन् । शिक्षकका पेशागत संघसंस्थाले कक्षा ११ को परीक्षा स्थगन गर्ने, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न तय गरेको कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसाद ढकालले बताए । सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप नपुग्दासम्म अन्य शिक्षकहरुले पनि खोप नलगाउने निर्णय गरेको अखिल नेपाल शिक्षक संगठनका सहसचिव कपिल कुँवरले बताए ।

यसैबीच, रैनादेवी छहरा गाउँपालिकामा नेपाल शिक्षक महासंघले कोभिड विरुद्धको खोप लगाउन माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कोणसभा गरेको छ । शिक्षक र सम्बन्धित कर्मचारीले तत्काल खोप लगाउन आवश्यक पहल गर्न गाउँपालिका अध्यक्षमार्फत ज्ञापनपत्र बुझाएको नेपाल शिक्षक महासंघका रैनादेवी छहरा अध्यक्ष तुलाराम गरम्जाले बताए । उक्त पालिकामाभित्र ६२ सामुदायिक, एक निजी विद्यालयमा ४५५ जना शिक्षक/शिक्षिका तथा कर्मचारी कार्यरत रहेका छन् ।

स्वास्थ्य कार्यालयले शिक्षकहरुलाई खोपका लागि प्राथमिकताको तेस्रो स्थानमा राखेकोप्रति आपत्ति जनाउँदै तत्काल खोपको व्यवस्था गर्न माग गरेको छ ।

प्रकाशित : श्रावण १३, २०७८ २१:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×