चिकित्सकमाथि दुर्व्यवहार

कान्तिपुर संवाददाता

अर्घाखाँची — पूर्वराष्ट्रिय सभा सदस्य एवं एमाले नेता चन्द्रबहादुर खड्काले बुधबार अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेका छन् ।

उनले अस्पताल प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्सभित्र थुन्नुका साथै डा. पूजा पन्थलाई दुर्व्यवहार गरेका हुन् । कोरोना संक्रमणबाट सिकिस्त खड्काकी आमा टीकादेवीको थप उपचारका लागि काठमाडौं रेफर गर्ने क्रममा खड्काले दुर्व्यवहार गरेका हुन् ।

कोभिड–१९ को महामारीमा खटिने स्वास्थ्यकर्मीलाई अस्पतालमै धम्की दिएको घटनाले आफूहरू असुरक्षित भएको स्वास्थ्यकर्मीले बताएका छन् । अर्घाखाँची अस्पतालले बुधबार विज्ञप्ति नै निकालेर कानुनी कारबाहीको माग गरेको छ । टीकादेवीलाई एम्बुलेन्समा सार्ने क्रममा खड्काले डा. पन्थ र अन्य स्वास्थ्यकर्मीलाई ‘बिरामी तलमाथि भए तिमीहरू जिम्मेवार हुन्छौ’ भन्दै धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पताल प्रमुख डा. कपिल गौतम आएर एम्बुलेन्समा अक्सिजन मिलाउँदै गर्दा खड्काले पछाडिको ढोका लगाएर चालकलाई हिँड्न भन्दै आफू अगाडिको सिटमा बसेका थिए । प्रत्यक्षदर्शीले डा. गौतम एम्बुलेन्सभित्र भएको जानकारी गराउँदा गराउँदै एम्बुलेन्सको ढोका लगाएर ‘यो डाक्टरको काम पनि छैन, काठमाडौं लैजानुपर्छ, बिरामीसँगै जान्छ’ भन्दै अपशब्द प्रयोग गरी चालकलाई तुरुन्तै गाडी कुदाउन दबाब दिएका थिए । केहीबेर एम्बुलेन्सभित्र थुनिएका गौतम अन्य व्यक्तिले ढोका खोलिदिएपछि बाहिर निस्किएका थिए ।

सीमित स्रोत साधनका बाबजुद संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै छानबिन गरी दोषी खड्कामाथि कानुनी कारबाही अगाडि बढाउन अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पताल प्रमुख डा. कपिल गौतमले विज्ञप्ति निकालेर माग गरेका छन् ।

प्रकाशित : श्रावण १५, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?