आफ्नो भवन छाडेर भाडामा पालिका

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको कोटहीमाई गाउँपालिकाको सुविधासम्पन्न आफ्नै नयाँ भवन छ । गाउँपालिकाको केन्द्रमा रहेकाले सेवाग्राहीलाई पायक पनि पर्छ । तर, सेवाग्राही कार्यालय पुग्दा अधिकांश कार्यकक्षमा ताल्चा लगाएको पाइन्छ ।

आफ्नो भवन छाडेर भाडामा पालिका

सेवा नपाएपछि स्थानीय भौंतारिन बाध्य छन् । गाउँपालिकाका मुख्य कर्मचारी भने सदरमुकाम भैरहवास्थित भाडाको कार्यालयमा भेटिन्छन् । गाउँपालिकाले मायादेवी–८ स्थित एक फ्ल्याट भाडामा लिएर कार्यालयको काम त्यहींबाट गर्ने गरेको पाइएको हो ।

पालिकामा कार्यरत कर्मचारीमध्ये अधिकांशमा कोरोना संक्रमण भएपछि गत वैशाखमा पालिका सिलबन्दी गरिएको थियो । त्यसपछि भैरहवामा फ्ल्याट भाडामा लिएर काम गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले बताए । गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गराएर भाडामा कार्यालय सञ्चालन गरिएको उनले सुनाए । ‘असारमा कामको चटारो हुन्छ,’ उनले भने, ‘कार्यालय समयबाहेक पनि काम गर्न पाइयोस् भन्ने उद्देश्यले फ्ल्याट भाडामा लिएका हौं ।’ गाउँ कार्यपालिकाको बैठकले निर्णय गरी भैरहवामा भाडाको फ्ल्याटमा कार्यालय सञ्चालन गरिरहेको उपाध्यक्ष भानमति बानियाँले बताइन् । फ्ल्याटको भाडा मासिक १६ हजार रुपैयाँ रहेको उनले बताइन् ।

स्थायी इन्जिनियर कामविहीन

गाउँपालिका स्थायी दरबन्दीका इन्जिनियरले आफूलाई भूमिकाविहीन तुल्याइएको गुनासो गरेका छन् । गाउँपालिकामा योजना अनुगमन र लागत अनुमानको काम करारका इन्जिनियरमार्फत गराउँदै आएको पाइएको छ । गत चैतमा दाङको तुलसीपुर उपमहानगरपालिकाबाट सरुवा भएर इन्जिनियर नवराज भण्डारी गाउँपालिकामा आएका थिए । यहाँ आएदेखि पदअनुसारको जिम्मेवारी नपाएको भण्डारीको गुनासो छ । ‘म आउँदा करारमा प्राविधिक राखी काम भइरहेको थियो,’ उनले भने, ‘म आएलगत्तै करारको कर्मचारी स्वतः पदमुक्त हुने भनी निर्णय गरिए पनि अहिलेसम्म हटाइएको छैन ।’ करारका कर्मचारीका परिवारमा कोरोना संक्रमण देखिएर बिदामा बसेका बेला आफूलाई दुईवटा योजनाको जिम्मा दिनेबाहेक कुनै काममा संलग्न नगराइएको भण्डारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत गौडले भण्डारी पालिकामा गत चैतमा आउँदा उनी नयाँ भएकाले बाँकी योजनामा गरिरहेकै कर्मचारीबाट काम पूरा गराइएको दाबी गरे । आफू नयाँ भएको र नयाँ आर्थिक वर्षदेखि काम गर्ने बताएकाले भण्डारीलाई धेरै काममा संलग्न नगराइएको र चालु योजनामा कर्मचारी ओभरल्याप गर्दा बिग्रने समस्या होला भनी करारकै कर्मचारीलाई काम अह्राएको उनले बताए ।

पालिकाका स्वास्थ्य संयोजक मनबहादुर कुँवरले पनि आफूलाई स्वास्थ्य सामग्री खरिद नगरी बिल बनाउन भनेको र आफूले नबनाएपछि सरुवा गरिदिएको आरोप लगाए । उनलाई पालिकाले स्वास्थ्य चौकीमा सरुवा गराएको छ । गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवले प्रमुख प्रशासकीय अधिकृतले आफूहरूलाई पालिकामा भइरहेका कामबारे आवश्यक सूचनासमेत प्रवाह नगर्ने बताए । वैशाखमा कोरोनाको समस्या देखाई पालिकाको काम गर्न भाडामा फ्ल्याट लिइए पनि अहिले पालिको आफ्नै भवनबाट काम भइरहेको उनले दाबी गरे ।

प्रकाशित : श्रावण १४, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?