प्रलोभनमा पारेर भारत

बालबालिका उद्धार गरेर परिवारको जिम्मा लगाइयो
मधु शाही, माधव ढुंगाना

बाँके/भैरहवा — बुबा छैनन्, आमाले दोस्रो बिहे गरिन् । त्यसपछि एक्लिएकी पाँच वर्षीया पूजा माझीले विद्यालयको दैलो टेक्न पाइनन् । आर्थिक अभावले पेटभरि खान र आङ ढाक्ने लुगा पाएकी छैनन् । ‘आमाले रक्सी खाएर पिटेको पिट्यै गर्नुहुन्छ,’ पूजाले भनिन्, ‘घरै बस्न मन लाग्दैन ।’ 

प्रलोभनमा पारेर भारत

कोहलपुर–४ की पूजा एक दिन घरनजिकै शिव मन्दिर पछाडि खेलिरहेकी थिइन् । त्यही बेला एक जनाले घुमाउन लैजाने भन्दै नजिक आए । केही मिठाई दिए । उनको विश्वास जिते । भारतको बरेली सहर घुमाउने र थुप्रै खेलौना किन्दिने भन्दै उनी र सँगै खेलिरहेका दुई बालकलाई लगे । तर ती व्यक्तिको नाम बालबालिकालाई थाहा छैन । सोधखोज गर्ने उमेर भएको छैन । उनीहरूका अनुसार त्यसभन्दा अगाडि ती व्यक्तिलाई गाउँमा देखेका थिएनन् । फकाएपछि तोते बोल्ने पूजा मक्ख परिन् । खुसीले हात समाउँदै कोहलपुर नगरपालिकादेखि पैदल नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारतको बरेलीसम्म पुगेको खुलेको छ । उनीसँगै कोहलपुर–४ का अन्य दुई बालक पनि थपिए ।

६ महिनाअघि कोरोना महामारीले जिल्ला प्रभावित भएका बेला कोहलपुरका तीन जना बालबालिकालाई भारत पुर्‍याइयो । उनीहरूलाई ट्रकमा राखेर लगिएको थियो । ट्रकमा बालबालिका देखेपछि भारतमा केही संस्थाले स्थानीय प्रशासनलाई जानकारी दिए । त्यसपछि त्यहाँको एक बाल सुधार गृहले उद्धार गरेको थियो । प्रवासी मित्र मञ्च र मानव कल्याण मित्र मञ्चले कोहलपुरका तीनसहित चार जना बालबालिकालाई उद्धार गरेर यहाँसम्म ल्याएको हो । संस्थाले गत आइतबार तीन बालबालिकालाई जिल्ला प्रशासन रूपन्देहीको रोहबरमा आफन्तको जिम्मा लगाएको छ । बैतडीको पाटन नगरपालिकाका १५ वर्षीय प्रकाश भनिने कृष्णसिंह महरालाई आफन्त नआएकाले रूपन्देहीकै बालगृहमा राखिएको नेपाली मित्र मञ्च दिल्लीका महासचिव रघुनाथ पाण्डेले बताए ।

पाण्डेका अनुसार नेपालबाट दुई दिनमा बरेलीसम्म पुर्‍याएका ती युवकले राति बालबालिकालाई रेल हेर्न पठाएर आफू बेपत्ता भएको खुलेको छ । कोहलपुर–४ का दुई बालक सात वर्षीय विशाल वादी, नौ वर्षीय रोशन वादी र पाँच वर्षीया बालिका पूजा माझीलाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको हो । उद्धारकर्ताले जिल्ला प्रशासन रूपन्देहीमा आयोजित कार्यक्रममा बालबालिकालाई कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारू र आफन्तको जिम्मा लगाएका थिए । रूपन्देहीबाट वडाध्यक्ष थारूले तीन बालबालिकालाई यहाँ ल्याएका हुन् । उनले बालबालिकालाई पालनपोषणमा सघाउने बताए । तीनै बालबालिकाले घरमा राम्रो स्याहार पाएका छैनन् । नौ वर्षीय रोशन वादीले बरेलीमा रेल हेर्न मन लागेर गएको बताउँछन् ।

नचिनेको मान्छेसँग हिँड्दै, डुल्दै पुगेका उनी सौतेनी आमाको कुटाइ सहन नसकेर भागेको सुनाए । रोशन र विशाल दुई भाइ हुन् । उनीहरू पारिवारिक अशान्त वातावरण, गरिबी र अभिभावकको बेवास्ताले गर्दा पटक–पटक घर छोडेर भागेको बुझिएको छ ।कतिपय बालबालिकाले मागेर खाने संस्कारको विकास भएको छ । पछिल्लो समय प्रविधिको लोभलाग्दो दुनियाँमा मोहित भएर पनि बालबालिका घर छोडेर भागेका उदाहरण रहेको नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) का नेपालगन्ज संयोजक सिद्धराज पनेरुले बताए । उनका अनुसार गत वर्ष मोबाइल चलाउने इच्छाले घरै छोडेर कमाइ गर्न भागेका बालक फेला परेका थिए । देखासिखी गर्ने, लोभ र प्रलोभनमा पर्ने बाल मनोविज्ञानलाई परामर्श गर्ने खालको अभिभावक नहुनुले धेरै बालबालिकाको जीवन संकटमा छ ।

कोहलपुर इलाका प्रहरी कार्यालय बाँकेका डीएसपी रवीन्द्र खनालका अनुसार प्रलोभनमा पारेर, बाटो बिराएर हराउने बालबालिकालाई ‘मिसिङ चाइल्ड’ भन्न मिल्छ । यस्ता बालबालिकाको तुलनामा घरबाट ढाँटेर भाग्ने बालबालिकाको संख्या बढी रहेको उनले सुनाए । ‘कतिपय भागी बिहे गरेर जाने हुन्छन्,’ उनले भने, ‘भेटिएपछि प्रहरीलाई जानकारी दिइँदैन ।’

प्रकाशित : श्रावण १४, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?