चार वर्ष बित्यो, सडक बनेन

दुई पटकसम्म म्याद थपे पनि निर्माण कम्पनीले काम नै सुरु गरेको छैन
नवीन पौडेल

परासी — ठेक्का लागेको चार वर्षसम्म पनि काम सुरु नहुँदा पश्चिम नवलपरासीको सदरमुकामस्थित बुद्धचोकबाट पूर्व र पश्चिमतर्फको सडकमा धूलो र हिलोले हिँडडुलमा समस्या भएको छ । सडकको दूरवस्थाबाट स्थानीय आजित छन् । चार वर्षअघि संघ सरकारको बजेटमा सडकको ठेक्का लागेको हो । 

चार वर्ष बित्यो, सडक बनेन

२०७३/७४ को आर्थिक वर्षमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले सडक निर्माणको ठेक्का लगाएको थियो । गौरी पार्वती निर्माण सेवा सामाखुसी काठमाडौंले निर्माणको ठेक्का पाएको थियो । तर, कम्पनीले अहिलेसम्म सडक बनाउन सुरु गरेको छैन । दुईपटकसम्म म्याद थप गर्दासमेत सडक नबनेपछि स्थानीय आक्रोशित छन् । सडक निर्माणका लागि स्थानीयले पटक–पटक नगरपालिकामा धर्ना दिने र स्थानीय जनप्रतिनिधिलाई दबाब दिने गरेका छन् ।

सोमबार स्थानीयले नगरपालिकामा धर्ना दिएर तत्काल सडक निर्माणका लागि केन्द्रमा दबाब दिन जनप्रतिनिधिलाई आग्रह गरे । तर, केन्द्र सरकारको आयोजनामा ठेक्का आह्वान भइसकेकाले नगरपालिकाले बजेट छुट्याउन नसक्ने जनाउँदै आएको छ । सामान्य खाडल पुर्नेबाहेक संघ र स्थानीय तहले एकैपटक बजेट विनियोजन गर्न नसक्ने भएकाले सडक अहिलेसम्म अलपत्र छ । सडक नबन्दा सदरमुकामकै सौन्दर्यमा नै असर पुगेको र आफूले पटक–पटक ताकेता गर्दासमेत ठेकेदार पक्षले सुनुवाइ नगरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘संघले निर्माणको जिम्मा लिएकाले नीतिगत रूपमा हामीले यसमा केही गर्न सक्दैनौं । निर्माणका लागि दबाब भने दिँदै आएका छौं । स्थानीयले हामीलाई दबाब दिएका छन्,’ उनले भने, ‘संघले यो कामबाट हात झिक्यो भने हामी तत्कालै बजेट विनियोजन गरेर काम गर्छौं ।’

भैरहवा–भूमही सडक खण्डको बाइपास रोडदेखि सदरमुकाम जोड्ने प्रमुख सडकको दूरवस्था हुँदासमेत पटक–पटक म्याद थप गरेर संघ सरकारले ठेकेदारको पक्षमा काम गरेको स्थानीयको आरोप छ । ठूला सवारीसाधनको चाप र धूलोले सडक धुलाम्मे भएका कारण पसलमा ग्राहक नआउने व्यवसायीको गुनासो छ । ठेकेदारले काम नगरेपछि असार १५ गते ठेक्का रद्दका लागि सूचना निकालेको सघन सहरी विकास आयोजना कार्यालय चितवनका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । लामो समय बितिसक्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने स्थानीय र जनप्रतिनिधिले माग गरेका छन् ।

खाल्डोमा परेर एकको मृत्यु

दाङ– घोराही–तुलसीपुर सडकलाई फोरलेन बनाउने क्रममा खनिएको खाल्डोमा परेर मंगलबार एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनीमा रा६प ७२५ नम्बरको मोटरसाइकल खाल्डोमा खस्दा तुलसीपुर–१०, राइखलियानका ३५ वर्षीय चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ह्युमपाइप राख्न खनिएको खाल्डो एक वर्षदेखि अलपत्र छ । सडकमा यस्ता धेरै खाल्डा छन् । सडक किनार भत्काएको र बीचबीचमा ह्युमपाइप हाल्ने खाल्डा खनिँदा यातायातका साधन सञ्चालनमा निकै कठिन भइरहेको छ । सडकका खाल्डा पुर्न कसैको ध्यान पुगेको छैन ।

प्रकाशित : श्रावण १३, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?