गाउँमा फैलिँदै संक्रमण

परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा कोरोना
वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–५ बाँगीका ७२ वर्षीय श्यामलाल भुसाल ज्वरो र रुघाखोकी लागेपछि साताअघि अर्घाखाँची अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो । अक्सिजनको मात्रा घटेको थियो । भेन्टिलेटरसहित आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि अस्पतालले बुटवल रेफर गर्‍यो । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको चार दिनपछि मंगलबार उनको निधन भयो । 

गाउँमा फैलिँदै संक्रमण

यतिबेला गाउँमा रुघाखोकी र ज्वरोका बिरामी घरैपिच्छे छन् । यस्ता बिरामीको समयमै परीक्षण नहुँदा संक्रमण गाउँभरि फैलिएको छ । अस्पतालमा बाँगीका मात्र सात जना बिरामी भर्ना भएका छन् । धेरै घरमै छन् । बाँगी स्वास्थ्यचौकी इन्चार्ज जयलाल पन्थीको परिवारै संक्रमित भएकाले उनी सात दिनदेखि घरमै छन् । हेल्थ असिस्टेन्ट राजेन्द्र टन्डन र अहेव झवि पन्थी पनि संक्रमित भएर घरमै आराम गरिरहेका छन् । स्वास्थ्यचौकीमा अहिले एक कार्यालय सहयोगी र अनमि सावित्रा थापा मात्रै नियमित आइरहेका छन् ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि ज्वरो र रुघाखोकी लागेका बिरामी स्वास्थ्यचौकी आउन छाडेका छन् । थापाले भनिन्, ‘गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी बढ्दो छन् । सर्छ भनेर उपचारका लागि स्वास्थ्यचौकी आएका छैनन् ।’ स्वास्थ्यचौकी इन्चार्ज पन्थीको गाउँ गुराँसेमा घरैपिच्छे बिरामी छन् । बिरामीलाई पायक पर्ने स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा जान भनिएको उनले बताइन् ।

ज्वरो, रुघाखोकी र शरीर कमजोर बनाएपछि बाँगी कुझेरीका रुद्रबहादुर थापा अर्घाखाँची अस्पतालमा आए । एन्टिजेन परीक्षण गर्दा संक्रमण देखापरेपछि अहिले उनी अस्पतालको आईसीयूमा उपचाररत छन् । त्यस्ता बिरामी नजिकैको सदरमुकामको अस्पतालमा आउने गर्छन् । ‘बिरामी र संक्रमण दर बढ्दो भएपछि एक घरबाट अर्को घरमा आउजाउ नगर्न, सतर्क भएर बस्न र रुघाखोकी, ज्वरो तथा शरीर कमजोर जस्ता लक्षण देखिए तुरुन्तै उपचारका लागि अस्पतालमा जान सबैलाई अनुरोध गरेका छौं,’ वडाध्यक्ष शोभाखर भुसालले भने ।

स्वास्थ्यकर्मीको परामर्शमा घरमै जडीबुटी, पोषिलो खानेकुरा खाएर धेरैले आराम गरिरहेका छन् । सहरमा भन्दा अहिले गाउँमा बिरामी बढेका छन् । संक्रमण दर पनि बढ्दो छ । केही समयसम्म संक्रमण दर बढेको थिएन । पछिल्लो दुई सातादेखि गाउँमा रुघाखोकी र ज्वरोका बिरामी धेरै भएको मालारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले बताए । ‘शरीर कमजोर भएका, रुघाखोकी र ज्वरोका बिरामीले एन्टिजेन र पीसीआर परीक्षण गर्न नै मान्दैनन्,’ उनले भने, ‘संक्रमण देखियो भने अप्ठ्यारो हुन्छ भनेर परीक्षण गर्दैनन्, हामीले धेरै सम्झाइबुझाइ गरेपछि केहीले मात्र कोरोना परीक्षण गरेका छन् ।’ स्वास्थ्यचौकीमार्फत सबै टोलबस्तीमा सचेत रहन र लक्षण देखिए स्वास्थ्यचौकी र अस्पताल जान सूचित गरिसकेको उनले बताए । गाउँमा एन्टिजेन परीक्षण गराउन थालिएको उनले बताए । परीक्षणमा आएकामध्ये आधाजतिको रिपोर्ट पोजिटिभ आउने गरेको खनालले बताए । मालारानी अस्थायी कोभिड अस्पतालमा अहिले चार जना संक्रमित उपचाररत छन् । जिल्लाका अन्य पालिकाका गाउँमा पनि ज्वरो र रुघाखोकीका बिरामी बढ्दो छन् । छत्रदेव गाउँपालिका–६, ठूलापोखरा स्वास्थ्यचौकी इन्चार्ज विश्वदेव न्यौपानेले दैनिक १५ देखि ३० जना बिरामी आउने गरेको बताए ।

रुघाखोकी, ज्वरो र शरीर कमजोर भएका बिरामी आउने गर्छन् । सामान्यलाई औषधि दिएर पठाउने र अलि सिकिस्त भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट र जिल्ला अस्पतालमा पठाउने गरेको उनले बताए । त्यस्ता बिरामीको परीक्षण गर्दा संक्रमण देखापरेको छ । गाउँमा प्रायः घरैपिच्छे यस्ता बिरामी बढ्दो भएको उनले बताए । जहाँ बाक्लो बस्तीको गाउँ छ, त्यहाँ आउजाउ बाक्लो हुने भएकाले रुघाखोकीका बिरामी धेरै छन् । निषेधाज्ञा खुकुलो भएपछि सार्वजनिक यातायात चढेर सामान किन्न सदरमुकाम आउजाउ गर्दा संक्रमण फैलिएको हुन सक्ने आशंका भएको उनले बताए ।

जिल्लाको पाणिनि गाउँपालिका, शीतगंगा, भूमिकास्थान र सन्धिखर्क नगरपालिकाका गाउँमा कोरोनाका बिरामी बढ्दो छन् । सन्धिखर्क नगरपालिका–१ सन्धिखर्क बजारका व्यवसायी सन्तोष बस्नेतसहित उनको परिवार कोरोना संक्रमित छ । १० जनाको उनको परिवार संक्रमित भएर होम आइसोलेसनमा बसेको छ । चिकित्सको परामर्शमा घरमै उपचार भइरहेको बस्नेतले बताए । व्यवसाय गर्दा भीडभाड बढी भएको र हिँडडुल गर्दा कोरोना सरेको हुन सक्ने उनले बताए ।

जिल्लामा होम आइसोलेसन र अस्पतालमा गरी ३ सय ९६ जना संक्रमित उपचाररत छन् । अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले पछिल्लो दुई सातायता संक्रमित हुनेको संख्या बढ्दो रहेको उनले बताए । ‘एन्टिजेन परीक्षण गरेकामध्ये आधाको रिपोर्ट पोजिटिभ आउने गरेको छ,’ उनले भने, ‘बेलैमा सतर्कता अपनाएर नियन्त्रण नगर्ने हो भने महामारीका रूपमा फैलिन सक्छ ।’ खाली रहेका बेड र एचडीयूका बेड पनि भरिएका छन् । ज्वरो र रुघाखोकी लागेका बिरामी सिकिस्तै भएर अस्पतालमा आउने र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिने गौतमले बताए । गाउँमा क्याम्प राखेर धेरै रुघाखोकीका बिरामीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताए । स्वास्थ्य मापदण्ड अपनाउन र सतर्क रहन भनिएको उनले बताए । ‘स्वास्थ्यचौकी र जनप्रतिनिधिको परामर्शमा छिट्टै एन्टिजेन परीक्षण गर्न अब गाउँमा जान्छौं,’ उनले भने ।

प्रकाशित : श्रावण १३, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?