मास्क न भौतिक दूरी

निषेधाज्ञा खुकुलो पारिएपछि स्वास्थ्य मापदण्डविपरीतका गतिविधि नियन्त्रण गर्न प्रशासनलाई सकस
सन्जु पौडेल

लुम्बिनी — एक सातायता लुम्बिनी प्रदेशमा दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड पालनामा भइरहेको हेलचेक्र्याइँले संक्रमण बढ्न थालेको सरोकारवालाको भनाइ छ । 

मास्क न भौतिक दूरी

प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याउँदै व्यापार र यातायातका साधन सञ्चालन अनुमति दिएको छ । यससँगै जोखिम क्षेत्र भनेर रोक लगाइएका क्षेत्र स्वस्फूर्त खुलेका छन् । प्रशासनको आँखा छलेर स्वास्थ्य मापदण्डविपरीत क्रियाकलाप भइरहेका छन् । दूरी पालनामा बेवास्ता गरिएको छ । मास्क लगाउन छाडेका छन् । यसअघि संक्रमणको केन्द्र रहेका रूपन्देही, बाँके, बर्दिया र दाङमा संक्रमित बढेका हुन् ।

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा आरटी पीसीआर जाँचबाट ९१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । उनका अनुसार नयाँ थपिनेमा सबैभन्दा धेरै रूपन्देहीमा ४६ जना छन् । त्यस्तै दाङमा १६, पाल्पामा १०, अर्घाखाँचीमा ७ जना थपिएका छन् । अन्य जिल्लामा पनि संक्रमित संख्या विस्तारै उकालो लागिरहेको छ । प्रदेशमा गत २४ घण्टामा कोभिडले गर्दा ५ जनाको मृत्यु भएको छ । प्रदेशमा एन्टिजेन परीक्षणबाट ६२ जना संक्रमित थप हुँदा १ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

निषेधाज्ञा खुकुलो पारिएपछि प्रशासनले मापदण्डविपरीतका गतिविधि नियन्त्रण गर्न सकेको छैन । सर्वसाधारणले मापदण्ड पालना गरेका छैनन् । असार अन्तिम सातासम्म यहाँका ठूला होटल तथा पार्टी प्यालेसमा मूलढोका बन्द गरेर ठूलठूला बिहेभोज गरे । विभिन्न सभा सञ्चालन भइरहेका छन् ।

होटल कर्मचारीले स्वास्थ्य मापदण्ड पालना गर्दैनन् । त्यस्ता भोज र सभामा आउनेले कोरोना भुलिसकेको अनुभूति हुन्छ । बिहेभोजमा ३ देखि ७ सय जना सहभागी रहेको होटलहरूले जनाएका छन् । सरकारी कार्यालयले नै मापदण्डको पालनाका कडाइ गरेका छैनन् । यहाँका नगरपालिका, गाउँपालिकाले विभिन्न होटलमा एक सयभन्दा बढीको संलग्नतामा नगर र गाउँसभा सञ्चालन गरेका थिए ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित रहेको रूपन्देहीमा अहिले हिँडडुल लगायतका गतिविधि बढेका छन् । तामझाममा जोड दिइएको छ । बाहिरबाटै चहलपहल देखिन्छ । सामान खरिद गर्न पसलमा जाने नागरिक र व्यवसायी दुवैले मास्कको प्रयोग र सेनिटाइजरलाई बेवास्ता गरेका छन् । समयसीमा तोकेर खोल्ने गरिएका व्यवसाय र जोरबिजोर प्रणालीमा चलेका सवारीसाधनमा समेत प्रशासनले थप खुकुलो गरिदिएपछि नागरिकले स्वतन्त्रताको फाइदा रोगको वास्तै नगरी गर्न थालेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पटकपटक विभिन्न क्षेत्रसँग छलफल गरी निषेधाज्ञामा खुकुलोपना ल्याएको संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । केन्द्रीय निर्देशनलाई पालना गर्नु पनि आफूहरूको कामअन्तर्गत नै पर्ने भएकाले आर्थिक क्षेत्र चलायमानका लागि बन्द खुला गरिएको उनको भनाइ छ ।

रूपन्देहीमा पहिलेको संक्रमणको तीव्रतामा कमी आए पनि यस्तै लापरबाही जारी रहे सामान्य स्थिति असामान्यमा बदलिन समय नलाग्ने उनले बताए । अहिले खोपको उपलब्धता र अस्पतालमा बेड, अक्सिजन अभाव नहुने भए पनि सामुदायिक संक्रमण कम गर्न मानिसले नै स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नुपर्ने उनको भनाइ छ । ‘हरेक तवरबाट हाम्रो प्रयास नियन्त्रणकै लागि जारी छ,’ उनले भने, ‘निषेधाज्ञाको रूप परिवर्तन गर्दै पार्टी, सभा, भीडभाड नगर्न भनिए पनि स्थानीय तहदेखि विवाहका कार्यक्रमलाई आग्रहका भरमा रोक्न नसकिनुले समस्या उत्पन्न हुन सक्छ ।’

अस्पतालमा गम्भीर अवस्थाका बिरामी उत्तिकै भएको र जिल्लामा संक्रमण दर बढ्दै गएको बेलझुन्डी कोरोना अस्पतालका फिजिसियन डा. कमल खड्काले बताए । अहिले बिरामीको चाप हुने समस्या नदेखिए पनि चहलपहलले खतरा निम्त्याउन सक्ने उनले बताए । ‘लापरबाही बढी भयो भने दुई महिनापछि तेस्रो लहरको बिगबिगी हुन सक्छ,’ उनले भने, ‘झन् डर र त्रासपूर्ण स्थिति निम्तिन सक्ने भएकाले सबैले आफ्नो, परिवार र समाजको सुरक्षा सोचेर स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ ।’ अस्पतालमै आउने कतिपय मानिसले मास्क नलगाएको, सेनिटाइजर प्रयोग नगरेको देखिने भएकाले मानिस आफैं संक्रमणतर्फ उन्मुख भइरहेको उनले बताए ।

कोरोनाको नयाँ भेरिएन्ट आउन सक्ने विषयलाई ध्यानमा राखी प्रदेश सरकारले हरेक जिल्लामा पूर्वाधार निर्माणमा भने काम गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । उनका अनुसार प्रदेशका हरेक जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने काम अघि सरेको छ । त्यस्तै, १२ वटै जिल्लाका अस्पतालमा एचडीयू बेड, बालबालिकाका लागि भेन्टिलेटरसहितका आईसीयू बेडसमेत निर्माणको योजनाअनुरूप काम भइरहेको उनले जनाए । ‘पूर्वाधार बनाउनु मात्र समाधान होइन,’ उनले भने, ‘विगतमा खेपेका ठूला समस्या समाधानका लागि यो तयारी थालिएको छ तर सावधानी नागरिककै चेतनामा भर पर्छ ।’

महामारीले सिकाएको पाठबारे मानिस जानाजान अबुझ भइदिँदा पुनः संक्रमणले नेटो काट्छ कि भन्ने शंका रहिरहेको उनले बताए । प्रदेश सरकार, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, पालिका, अस्पताल सबैतिरबाट चेतना फैलाउने कार्यक्रमसमेत गरिरहेको भन्दै उनले आफूलाई नपरुन्जेल स्वास्थ्य सतर्कता अपनाउनै नचाहने बानीले कोरोना मात्र नभई हरेक रोगसँग जुध्ने पहल बालुवामा पानीसरह हुने बताए ।

प्रकाशित : श्रावण १२, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?