६ महिना अघि हराएका ३ बालबालिका भेटिए

रूपा गहतराज

नेपालगन्ज — ६ महिना अघि कोहलपुरबाट हराएका ३ जना बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरेर कोहलपुर ल्याइएको छ ।

भारतको बरेलीस्थित एक बालगृहमा भेटिएका कोहलपुर नगरपालिका वडा नं ४ का ७ देखि ९ वर्षका दुई बालक र एक बालिकालाई उद्धार गरी कोहलपुर पुर्‍याइएको कोहलपुर–४ का वडा अध्यक्ष तिरथराम थारुले बताए । ।

वडा अध्यक्ष थारु लागतयतको टोलीले बरेलीबाट उद्धार गरी प्रवासी मित्र मञ्चको सहयोगमा रुपन्देही हुँदै सोमबार बिहान उनीहरुलाई कोहलपुर पर्‍याएको हो । तीनै जना बालबालिकालाई कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको रोहबरमा आफन्तको जिम्मा लगाइएको छ ।

उद्धारका लागि भारतको बरेली पुगेर फर्किएका कोहलपुर–४ का वडा अध्यक्ष तिरथराम थारुका अनुसार ६ महिना अघि कोहलपुरबाट हराएका ती बालबालिकाहरु एक भारतीय ट्रकमा बरेली पुगेका हुन् । बरेली बजारको २/३ किलोमिटर यतै भारतीय ट्रकले ती बालबालिकालाई ट्रकबाट झारिदिएको थियो ।

ट्रकले झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर एक स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो ।

वडा अध्यक्ष थारुका अनुसार कैलाली पुनर्वास घर भइ हाल बरेलीमा बस्ने एक नेपालीले स्थानीय समाचार हेरेपछि ५ जना नेपाली बालबालिका बरेली बालगृहमा रहेको थाहा पाएका थिए । सोही सूचनाको आधारमा वडा अध्यक्ष थारु भारतको बरेली पुगेर बालबालिकालाई भेट्नुका साथै नेपाल ल्याउनका लागि पहल सुरु गरेका थिए ।

उद्धार गरिएका एक बालकले कोहलपुर–४ बेलनपुरबाट आफूहरु खेल्दै कोहलपुर चौराहा पुगेको र त्यही भेटिएका एक व्यक्तिले घुम्न जाऊँ भन्दै रुपडिहा हुँदै बरेली लगेर भागेको बताए ।

प्रकाशित : श्रावण ११, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?