कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कोरोनाले खोस्यो पढाइ, गरिबीले पुर्‍यायो भारत

बाल श्रम शोषणमा परेका चार किशोरीको भारतबाट उद्धार

नेपालगन्ज — कोरोना महामारी फैलिएसँगै सरकारले लकडाउन जारी गर्‍यो । गाउँमा काम पाउन छोड्यो । ५ कक्षामा पढ्ने कैलालीकी १४ वर्षीया किशोरी पनि यसको मारमा परिन् । उनका बुबा गाउँमै कपडा सिलाउँथे ।

कोरोनाले खोस्यो पढाइ, गरिबीले पुर्‍यायो भारत

कोरोनाले काम बन्द भएपछि पाँच जनाको परिवारलाई खान, लाउन समस्या पर्‍यो । गाउँकै चिनजानकै दिदी नाता पर्नेले भारतमा काम पाइन्छ भनिन् । चार महिनाअघि बुबाआमाको सहमतिमै ती किशोरीलाई दिदीले लगिन् ।

उत्तर प्रदेशको उन्नाउ सहरको एक मासु कम्पनीमा आठ हजार भारतीय रुपैयाँ मासिक पारिश्रमिक पाउने मौखिक सर्तमा उनले काम गर्न थालिन् । काटेको मासु प्याकिङ गर्ने काम गर्दैगर्दा उनी बिरामी परिन् । थला परेपछि घर र बुबाआमाको सम्झनाले सतायो । तर कम्पनीले छुट्टी दिएन । ‘परिवारमा कमाउने कोही थिएनन्, त्यसैले काम नगरी सुख भएन । काम गर्दागर्दै बिरामी परेर थला परें,’ शान्ति पुनःस्थापना गृह बाँकेले भारतको उन्नाउबाट उद्धार गरेपछि शुक्रबार नेपालगन्ज आइपुगेकी ती किशोरीले भनिन्, ‘बिरामी पर्दा पनि काम गर्नै पर्थ्यो, आराम गर्न पाइँदैनथ्यो ।’ उनी सन्चो भएको जस्तो देखिँदैनथ्यो । ‘दुई दिन काम गरेको पाँच सय भारु पाउँथ्यौं । दिनभरि काम गरेर राति १२ बजे बल्ल सुत्न पाइन्थ्यो,’ उनले भनिन् ।

कैलालीकी ती किशोरीको जस्तै अवस्था बर्दिया राजापुरकी १७ वर्षीयाको पनि छ । उनी गाउँकै विद्यालयमा कक्षा ५ मा पढ्दै थिइन् । कोरोना महामारी बढेसँगै विद्यालय बन्द भयो, पढाइ छुट्यो । उनका बुबाआमाले समेत काम पाएनन् । सबैको भोकै मर्ने अवस्था देखेपछि उनले भारत जाने निर्णय गरिन् र गाउँकै दिदी नाता पर्नेसँग भारत पुगिन् । घरकी एक्ली छोरी, उनी राम्रोसँग नेपाली बोल्नसमेत जाँन्दिनन् । ‘दिनभरि उभिएर मासु प्याकिङ गर्दा घुँडा धेरै दुख्थ्यो,’ उनले भनिन्, ‘सुरुसुरुमा त काम गर्न नसक्दा मालिकको धेरै गाली खानु पर्‍यो ।’ थकान अझै उनको अनुहारमा देखिन्छ ।

यसैगरी भारत पुगेकी कैलालीकी १८ वर्षीया अर्की किशोरीको भोगाइ भने फरक छ । कोरोना महामारी सुरु भएसँगै कामविहीन भएर बस्नुपर्दा उनी दिक्क थिइन् । त्यसमाथि बुबाले पनि नराम्रो व्यवहार गर्न थाले । एक दिन बुबाले ‘काम केही छैन, बसी बसी खाएकी छे’ भन्दै हात छोडेपछि उनले भारत जाने निधो गरिन् । उनको ८ जनाको परिवार छ । ‘कमाउने बुबा रक्सीमा रमाउँथे । आमालाई पिट्थे । मलाई नि घरमा बसेर खान्छेस् भनेर गाली गर्नु हुन्थ्यो,’ १८ वर्षीया ती किशोरीले भनिन्, ‘आमालाई घर चलाउन मद्दत होला भनेर घरको सल्लाहले कमाउन गएकी हुँ ।’

उनी कक्षा १० मा पढ्दै थिइन् । गत पुस ६ गते गाउँकै दिदीसँग भारतको रुपैडिया बजार घुम्न जाने भन्दै उनी उन्नाउ पुगेकी थिइन् । त्यहाँ उनले कम्पनीमा काम गरेर मासिक सात हजार पाउँथिन् । ‘यसरी लुकेर भारत जान हुँदैन भन्ने थाहा पनि भएन,’ उद्धारपछि नेपालगन्ज आउन सफल भएकी उनले भनिन्, ‘काम नगरी त सुख छैन । अब गाउँमै केही काम खोज्नुपर्ला ।’

कक्षा १० मा पढ्दै गरेकी कैलालीकी १८ वर्षीया अर्की किशोरी आफ्नै काकीसँग भारत पुगेकी थिइन् । ६ महिनाअघि भारत पुगेकी उनले कमाएर हालसम्म ८ हजार रुपैयाँ घर पठाएको बताइन् । ‘काम त कति गरें गरें, थकाइ मार्न आधा घण्टा शौचालयमा बस्थें,’ उनले भनिन्, ‘काम गर्दा घुँडा दुखेर झर्लाझैं हुन्थ्यो । भारत जाने रहर थिएन, बाध्यताले पुगियो ।’ लकडाउनले पढाइ छुटेपछि उनी भारत पुगेकी थिइन् । ‘लकडाउनपछि पढाइ भएन । घरमा खाली बसेकी थिएँ, त्यसैले घरलाई केही सहयोग पुग्ला भनेर भारत गएकी हुँ,’ उनले भनिन् ।

शान्ति पुनःस्थापना गृह बाँकेले भारतको उन्नाउबाट शुक्रबार चारै किशोरीलाई उद्धार गरेको हो । दुई जना किशोरीका अभिभावकले उद्धारका लागि आग्रह गरेपछि उनीहरूको उद्धार गरिएको क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए । ‘ती नानीहरूको बस्ने ठाउँमा मान्छे बस्ने अवस्था थिएन । एउटा कोठामा २० जना किशोरीलाई राखिएको थियो,’ उनले भने । बाल श्रम शोषण पनि बेचबिखनको परिभाषामा समेटिएकाले मानव बेचबिखनको मुद्दा उक्त घटनामा आकर्षित हुने उनको तर्क छ । कोरोना महामारीका कारण अहिले पनि नेपाल–भारत नाका पूर्णरूपमा खुला भइसकेको छैन । तर अनेकौं बहाना बनाएर नाका पार गर्नेहरू उत्तिकै छन् । संस्थाले चैतयता मात्र जोखिम यात्रामा रहेका ६३ जना महिला तथा बालिकाको उद्धार गरेको जनाएको छ ।

चार बालबालिकाको उद्धार

भैरहवा– विभिन्न माध्यमबाट भारत पुगेका चार जना बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भारतस्थित प्रवासी मित्र मञ्च नेपाल र मानव कल्याण मित्र मञ्च नेपालले उद्धार गरी नेपाल ल्याइएका तीन जनालाई आइतबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो । एक जनाका आफन्त नआएकाले केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरका ९ वर्षीय रोशन बढई, ७ वर्षीय विशाल बढई, ५ वर्षीया पुजा बढई र बैतडीको पाटन नगरपालिकाका १५ वर्षीय प्रकाश भन्ने कृष्णसिंह महराको उद्धार गरी नेपाल ल्याइएको प्रवासी नेपाली मित्र मञ्च दिल्लीका महासचिव रघुनाथ पाण्डेले बताए । जसमध्ये कोहलपुरका तीन जना बालबालिकालाई आफन्तको जिम्मा लगाउन कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूको जिम्मा लगाइएको छ । महरालाई भने जिम्मा लिने कोही नआएकाले कोटिहवास्थित बालगृहमा राखिएको हो ।

महासचिव पाण्डेका उनका अनुसार बैतडीका प्रकाश सिंह हिँड्दै र अन्य तीन जना ट्रकमा चढेर भारत पुगेका हुन् । तर उनीहरूलाई कसले ट्रकमा चढाएर भारत पुर्‍यायो भन्ने खुलेको छैन । ६ महिनाअघि कोहलपुर नाकाबाट भारत पुगेका ती बालबालिकालाई भारत उत्तर प्रदेशको बरेलीस्थित आर्य समाज अनाथालयबाट उद्धार गरिएको हो ।

प्रकाशित : श्रावण ११, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?