२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घटेन संक्रमण

स्वास्थ्य मापदण्ड पालना नगर्दा टोलटोलमा लक्षणसहितका बिरामी
१६ जनाको मृत्यु
माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकामा कोरोना संक्रमण घट्न सकेको छैन । तीव्र गतिमा समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा आउन नसक्दा यस क्षेत्रका टोलटोलमा संक्रमित बढिरहेका छन् ।

घटेन संक्रमण

रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार रामपुर अस्पतालमा दैनिक एन्टिजेन परीक्षण भइरहेको छ । अस्पतालमा परीक्षण गर्न आउनेहरूमध्ये कम्तीमा १० देखि १४ जनासम्ममा दैनिक कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ गर्दा पनि कोरोना संक्रमण उत्तिकै फैलिएको भेटिएको छ,’ स्वास्थ्य शाखा प्रमुख घिमिरेले भने, ‘खास गरी मानिसमा बढेको लापरबाही र अटेरीपना नै यसको कारण देखिएको छ ।’ स्थानीय तहमा असार मसान्तको भीडभाड, स्वास्थ्य मापदण्ड पालना नगर्नु, सामाजिक दूरी कायम नगर्नु, भोजभतेर बढ्दै जानु पनि कोरोना फैलिनुको मुख्य कारण भएको उनले बताए । उनका अनुसार कोरोना संक्रमणको लक्षण गाउँमा देखिएपछि गरेको परीक्षणमा रामपुर नगरपालिका–३, केलादी बोटेगाउँको एउटै टोलमा २० जनामा पोजिटिभ पुष्टि भएको छ । वडा कार्यालयको समन्वयमा त्यस क्षेत्रलाई साउन १४ गतेसम्मका लागि सिल गरिएको उनले बताए ।

गाउँमा ज्वरो आउने, रुघा लाग्ने, केही बिरामीको निधन भएका घर परिवारका सदस्यको कोरोना नमुना परीक्षण गर्दा धेरैमा कोरोना संक्रमण देखिएको वडाध्यक्ष दिनेशकुमार खनालले बताए । ‘कोरोना संक्रमण फैलन सक्ने सम्भावना र सुरक्षित उपाय अपनाउन पूर्ण रूपमा गाउँ सिल गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘कोरोना नियन्त्रण लिने उपाय सिल गर्नु नै देखिएको छ ।’ यही टोलमा २९ वर्षीया सुत्केरी महिला र ४९ वर्षीय पुरुषको यसै साता मृत्यु भएको रामपुर स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । ‘परीक्षण गर्न नमान्नु यहाँको अर्को समस्या छ,’ उनले भने, ‘लक्षण देखिएका नै परीक्षण गर्न नमान्दा थप समस्या भएको छ ।’

जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई खटाएर परीक्षण गर्न आग्रह गर्दासमेत नमानेको उनले बताए । गाउँघरमा कोरोना संक्रमणको लक्षण देखिएका धेरै छन् । परीक्षण गर्न कतिपय अस्पताल जान मान्दैनन् । गाउँटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दासमेत परीक्षणका लागि आउनै नमान्ने समस्या रहेको उनले बताए । कोरोना पोजिटिभ देखिएका दुई जनाको मृत्यु भएपछि मात्र बोटे गाउँमा पनि परीक्षण गर्न तयार भएको स्थानीयले बताए ।

स्वास्थ्य शाखाका अनुसार मृत्यु संस्कारका लागि पूर्व नवलपरासीको घुमौरीघाट गएकाहरू फर्केपछि बिरामी परेका थिए । ‘भीडभाडमा घुलमिल भएर खानपिन गरेका रहेछन्,’ स्वास्थ्य शाखा प्रमुख घिमिरेले भने, ‘त्यसपछि फर्केर बिरामी परेका हुन् । दुई जनाको मृत्यु भइसकेपछि बल्ल जाँच गर्न मानेका छन् । नत्र काम गर्न जान पाइँदैन भन्दै अटेर गरेर बसेका थिए ।’ नगरपालिकाले परीक्षण गर्ने वडा र गाउँमा शंका लागेका बिरामीले अनिवार्य एन्टिजेन गरी सघाउने हो भने नियन्त्रणमा सहज हुने उनले बताए । अहिले कोरोना पोजिटिभ देखिएका होम आइसोलेसनमा बसेको स्थानीय खगेश्वर बोटेले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार रामपुरमा जिल्लाकै सबैभन्दा धेरै १ सय ३० जना सक्रिय संक्रमित छन् । रामपुर नगरपालिकाभित्र दोस्रो लहरमा मात्रै १६ जना संक्रमितको मृत्यु भएको छ । बगनासकाली गाउँपालिकामा पनि सक्रिय संक्रमित ९१ जना रहेको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार अझै पनि नमुना परीक्षण गर्दा ५० प्रतिशत बढीमै कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार जिल्लामा ३ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् भने १ सय १७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या ७ हजार ९ सय २ पुगेको छ । ७ हजार ५ सय ३३ निको भएका छन् । जिल्लाका होम आइसोलेसनमा शनिबारसम्म ३ सय ३९, आईसीयूमा २, एचडीयूमा १३, भेन्टिलेटरमा १ र आइसोलेसनमा १३ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितलाई निःशुल्क खाना र खाजा

रोल्पा– थबाङमा कोरोना संक्रमित र उनीहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि यहाँका स्वयंसेवी युवाले निःशुल्क खाना खुवाउँदै आएका छन् । दुई महिनाअघि उक्त गाउँमा एकै पटक एक सयभन्दा बढीमा संक्रमण पुष्टि भएपछि यहाँका युवाले सहयोग जुटाई डेढ महिनादेखि खाना र नास्ता खुवाउने अभियान थालेका हुन् । दिनको चार पटक अहिले पनि नास्ता र खानाको व्यवस्था गरिएको छ ।

संक्रमण फैलिएपछि स्थानीय सहिद स्मृति भवनलाई आइसोलेसन केन्द्रमा परिणत गरेर उपचार थालिएको थियो । एक हजार क्षमताको उक्त भवन पाँच वर्षअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले निर्माण गरेका थिए । गाउँपालिकाका स्वास्थ्य तथा सरसफाइ इकाइ संयोजक तुलबहादुर पुनले बाक्लो बस्ती भएको गाउँमा संक्रमण फैलिएपछि उपचार गर्न हम्मेहम्मे भएको बताए । ‘संक्रमितलाई उपचार गर्ने क्रममाअक्सिजन अभाव, स्वास्थ्यकर्मीलगायतको जनशक्ति अभाव र हेरचाह गर्न समस्यासमेत भयो,’ उनले भने ।

गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ इकाइको आग्रहमा बिरामीलाई निःशुल्क खाना खुवाउन स्थानीय स्वयंसेवी युवा जुटेका हुन् । ‘बिरामीलाई तातो खाना खुवाउन नसकेमा संक्रमण चाँडै कम हुन सक्दैन भन्ने कुरा स्वास्थ्यकर्मीबाट जानकारी पाएपछि हामी स्वयंसेवी तरिकाले सहयोगमा जुटेका हौं,’ स्थानीय अगुवा युवा अमित घर्तीमगरले भने, ‘लगभग ५० दिन भयो, हामीले दिनको चार पटक नियमित खाजा र खानाको व्यवस्था गर्दै आएका छौं ।’

संक्रमितलाई आइसोलेसन केन्द्रमा राख्न नसके गाउँमा संक्रमण फैलने डर थियो । त्यसैले सुरुमा केही दिनका लागि मात्रै पनि गरौं भनेर युवाहरूले आफ्नै गोजीबाट रकम जुटाएर केही छाक खानाको व्यवस्था मिलाए । ‘सुरुमा आफैंले जुटाएको रकमबाट संयुक्त मेस चलायौं, आफैंले पकाएको ताजा र तातो खाना दिँदा बिरामी खुसी भएको थाहा पायौं,’ उनले भने, ‘त्यसपछि हामीलाई निरन्तर सहयोग र परिश्रमको खाँचो पर्‍यो ।’

विदेशमा पुगेका थबाङी र अन्यले आर्थिक सहयोग गर्न थालेपछि संक्रमितका लागि अहिले नियमित खाना पाक्न थालेको छ । बिरामी रहँदासम्म निःशुल्क खाना खुवाउने कार्यलाई निरन्तरता दिने युवाहरूको योजना छ । ‘संक्रमितमध्ये कोही त निकै गरिब र असहाय थिए, तिनलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ अर्का युवा अजय घर्तीमगरले भने । युवाहरूले संक्रमितलाई दैनिक रूपमा बिहान ७ बजे चिया र खाजा, १० बजे खाना, दिउँसो २ बजे चिया र खाजा एवं बेलुकी ७ बजे खानाको व्यवस्था गर्दै आएका छन् । युवाहरूले थालेको स्वयंसेवी कार्य देखेर सहयोगीहरूले स्वैच्छिक साथ दिएपछि थप हौसला मिलेको स्थानीय युवा गोविन सहयात्रीले बताए । आफूहरूको काम देखेर विदेश पुगेकाले नियमित सहयोग दिएको उनले बताए ।

प्रकाशित : श्रावण १०, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?