२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिद्धार्थले दरबार त्यागेको झल्को

पर्यटकलाई आकर्षित गर्न नयाँ कार्यक्रम
मनोज पौडेल

कपिलवस्तु — असार पूर्णिमाको जुनेली रात । शुक्रबार मध्यराति सेतो घोडा कन्थक सजाइयो । उसको घाँटी र आँखा सिँगारियो । आकर्षक घोडामा राजकुमार सिद्धार्थ बनेर एक शाक्य कुलका युवा बसे । सारथि छन्दले घोडा हाँके । तर, घोडा अगाडि बढ्न मानेन । अन्ततः कष्ट र दुःख मान्दै घोडा राजप्रासादको पूर्वी द्वारबाट बाहिर निस्कियो र दरबार छोड्यो ।

सिद्धार्थले दरबार त्यागेको झल्को

आजभन्दा २ हजार ६ सय १६ वर्षअघिको घटना स्मरण गर्दै शुक्रबार यहाँ राजकुमार सिद्धार्थले राजसी सुखसयल त्याग्दै राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाइएको हो । ‘शान्तिकामीका लागि यो निकै महत्त्वपूर्ण प्रेरणामूलक घटना हो,’ कार्यक्रमका परिकल्पनाकार विक्रम पाँडेकाजीले भने, ‘यसको प्रचार आवश्यक छ ।’ महाभिनिष्क्रमण के हो, यसको महत्त्व किन छ भन्ने कुरा प्रभावकारी रूपमा प्रचार गरियो भने लुम्बिनी क्षेत्र अझै राम्रो पर्यटकीय नयाँ गन्तव्य बन्ने पाँडेकाजीले सुनाए ।

भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले मंगलपाठ गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसपछि नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी घोडा चढेर बाहिरिएका थिए । ‘शान्ति, सद्भाव र करुणाको ऊर्जा पलायो,’ पर्यटन बोर्डका सीईओ रेग्मीले भने, ‘साँच्चै यसलाई शान्तिको पर्यटन गन्तव्य बनाउन सकिने अनुभूति गरें ।’ सोच्दै नसोचेको इतिहास ब्युँताएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । उनले भने, ‘यसलाई बौद्धमार्गीमा आकर्षण थप्ने कार्यक्रमका रूपमा विकास गर्नुपर्छ ।’

असार पूर्णिमालाई बौद्ध दर्शनमा निकै पवित्र दिन मानिन्छ । यो राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्मदेशना गरेको दिन र मातालाई दूषितलोकमा अभिधम्म देशना गरेको दिन पनि हो । त्यसैले यसलाई सबैका लागि पुण्य सञ्चय, आपसी सद्भाव र भ्रातृत्व जगाउने आकर्षक कार्यक्रमका रूपमा विकास गरेर लैजानुपर्ने नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द रिजालले बताए । बुद्ध सर्किट्स डटकम र कपिलवस्तु टुरिजमद्वारा आयोजित कार्यक्रमलाई अर्को वर्षदेखि उत्सवका रूपमा दिउँसोबाट मध्य रातिसम्म मनाउने टुरिजम अध्यक्ष मनोज श्रीवास्तवले बताए ।

अर्को वर्षबाट लुम्बिनी दरबारबाट निस्किएपछि भारतको बौद्धगयासम्मै लैजाने टुर प्याकेज विकास गरिने भएको छ । त्यसैगरी, राजकुमार सिद्धार्थ ज्ञान प्राप्तिका लागि राजदरबारको जुन द्वारबाट निस्किएका थिए, त्यही द्वारबाट भ्रमण कार्यक्रम सुरु गरिने उनले सुनाए । ‘यसले महाभिनिष्क्रमणको झल्को दिनेछ,’ अध्यक्ष श्रीवास्तवले भने, ‘यो कार्यक्रम ऐतिहासिक र प्रेरणामूलक हुनेछ ।’

प्रकाशित : श्रावण १०, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?