बर्दियामा नुहाउन गएका तीन बेपत्ता- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा नुहाउन गएका तीन बेपत्ता

कमल पन्थी

बर्दिया — बर्दियामा नदी र खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गेरुवा गाउँपालिका ६ का १४ वर्षीय सञ्जीव विक र उनको ८ वर्षीया बहिनी दिलमाया छन् ।

उनीहरु कर्णाली नदीको सैजनाघाटमा नहुाउने क्रममा बेपत्ता भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । यसैगरी राजापुर-५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी पनि बेपत्ता भएकी छन् ।

तीन जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागिरहे पनि फेला परेका छैनन् । बिककी दाजुबहिनी शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए । नदीमा बेपत्ता भएको जानकारी उनीहरुसँग गएका साथीले गराएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । खोजीमा तालिम प्राप्त पौडीवाज लागिरहेका छन् ।


प्रकाशित : श्रावण ९, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको वडा अधिवेशन स्थगित, क्रियाशील सदस्यता विवाद टुंगिएपछि अर्को मिति तय हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

'बैठकमा साउन १२ गते सुरु हुने भनेर निर्धारित गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने सल्लाह परामर्श भएको छ । वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गतेदेखि हुने महाधिवेशन पनि स्थगन भन्ने होइन । महाधिवेशन र अन्य तहका अधिवेशन कायमै छन्,' प्रवक्ता शर्माले भने ।

वडा तहको अधिवेशन स्थगित गर्नुको कारण भने जिल्लाहरूमा कोरोना संक्रमण बढ्नु रहेको प्रवक्ता शर्माको भनाइ थियो । जिल्ला-जिल्लाबाट कोरोनाको संक्रमण बढिरहेको र कतिपय ठाउँहरूमा समस्या रहेको भनेर पार्टी केन्द्रीय कार्यालयमा गुनासो आइरहेको उनले जानकारी दिए ।

वडा अधिवेशनको अर्को मिति भने क्रियाशील सदस्यता छानबिनको विवाद समाधान भएपछि तय हुने शर्माको भनाइ थियो । 'साउन १२ गते मंगलबार बिहान ९ गते क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्ने भएको छ । प्रतिवेदन लिइसकेपछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित गर्छौं,' उनले भने ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांस ठाउँमा सर्वसम्मतिले क्रियाशील सदस्यता चयन गरिएको बैठकमा जानकारी दिएको शर्माले बताए । केही जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद कायमै रहेको र त्यो विवादबारे १२ गतेभित्र टुंगोमा पुग्ने तयारी रहेको उनले जानकारी दिए । सदस्यता छानबिन समितिले प्रतिवेदन दिएपछि केन्द्रीय समितिले टुंगो लगाउने र प्रभावित हुने अधिवेशनका मितिबारे निर्णय लिइने उनले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय भएको छ । वडा अधिवेशन आउन ३ दिन पहिला स्थगित गरिएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×