कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाडा तिर्नै हम्मे

नेपालगन्ज — कोरोना भाइरसको जोखिम कम भएपछि निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा चहलपहल बढ्दो छ । बजारभरि मान्छेको भीडभाड देखिन्छ । प्रायः पसल खुलै छन् । तर ग्राहक देखिँदैनन् ।

भाडा तिर्नै हम्मे

न्युरोडस्थित एक फेन्सी पसलकी सञ्चालक पुष्पा केसीले ग्राहकको प्रतीक्षामा दिनभरि पसल रुङ्ने गरेको बताइन् । उनका अनुसार कुनै दिन त ग्राहक नै नआउँदा खाली हात घर फर्किनुपर्छ । ‘बजार खुला छ तर व्यापार बढेको छैन,’ उनले भनिन्, ‘कोरोनाको जोखिमले मान्छेले किनमेल गर्न सकेका छैनन् ।’

कोरोना भाइरस संक्रमणको मारमा परेको व्यापार अहिले फस्टाउन सकेको छैन । जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ । धम्बोजीस्थित नेपाल ट्रेडर्स एन्ड सप्लायर्सकी करिष्मा योगीले पसल भाडासमेत उठ्न नसकेको बताइन् । चैतयता उनले डिलर सुरु गरिन् । लगत्तै भएको निषेधाज्ञाले व्यापार ठप्प बनायो । ‘अहिले पसल भाडा उठाउन पनि धौ–धौ छ,’ उनले भनिन्, ‘बैंकबाट ऋण लिएर व्यापार सुरु गरियो, कोरोनाले सबै चौपट बनायो ।’

कोरोना भाइरसको जोखिम अझै रहेकाले व्यापार हुन नसकेको नेपालगन्ज घरबारी टोलका फेन्सी पसल सञ्चालक भीम रानाभाटले बताए । उनले मासिक २२ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । तर उनको दैनिक व्यापार २ हजारको हाराहारीमा मात्रै छ । ‘बजारमा देखिएको मुभमेन्ट किनमेलका लागि भएको देखिँदैन,’ उनले भने, ‘दिनमा कम्तीमा १० देखि १५ जना ग्राहक आउँथे अहिले त मुस्किलले तीन जना आउँछन् ।’ पहिलाको तुलनामा २५ प्रतिशत व्यापार पनि नभएको उनले बताए । ‘सरकारले उचित कार्यक्रम नल्याउँदा व्यापारी ठूलो मारमा परेका छन्,’ उनले भने, ‘वरिपरिका पसल खुला हुन्छन् । बीचमा आफ्नो पसल छ । व्यापार नभए पनि बाध्यताले पसल खोल्नुपरेको छ ।’

बजारमा चहलपहल देखिए पनि व्यवसायमा परेको असर कायमै छ । बाह्य यातायात सञ्चालन नहुँदा पनि व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् । मान्छेले दैनिक उपभोग्य सामान किने पनि अन्य सामग्री भने किनमेल गर्न सकेका छैनन् । अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा फर्किन होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने उनले बताइन् । लामो समयसम्म पसल बन्द हुँदा ठूलो मारमा परेका व्यापारी अहिले व्यापार नहुँदा फेरि मारमा परेका छन् । घरधनीले कोठा भाडा मिनाह तथा सहुलियत नदिँदा भाडा तिर्न गाह्रो भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘धेरैपछि पसल खुल्दा व्यापार हुने आशा थियो,’ उनले भने, ‘तर व्यापार भएन ।’ सरकारले सबैलाई खोपको व्यवस्था गरेर कोरोनाको त्रास कम गरे व्यापार वृद्धि हुने उनको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाको ब्याज पनि कम्तीमा तीन महिना समयान्तर गरिनुपर्ने, उद्योग व्यवसाय सञ्चालन गरिएका घरजग्गाको भाडा कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइनुपर्ने माग गरेका छन् । पालिकामा लाग्ने घर बहाल कर र व्यवसाय कर मिनाह गरिदिनुपर्ने लगायतका मागसहित व्यापारीले केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका थिए ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?