‘सहारा छुट्यो, जिम्मेवारी बढ्यो’- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सहारा छुट्यो, जिम्मेवारी बढ्यो’

आमाबुबा बितेपछि १५ वर्षीया किशोरीलाई घर धान्ने जिम्मा
सन्जु पौडेल

लुम्बिनी — प्रतिमा मुसहर १५ वर्ष लागिन् । उनको रेखदेख गर्ने कोही छैन । उनी नै घरकी अभिभावक हुन् । साँझ–बिहान छाक जोहो, मजदुरी र घरायसी काम एक्लै गर्छिन् । यो उनको रहर नभई बाध्यता हो । चार वर्षअघि आमाले छोडिन् । गत पुसमा बाबुको मृत्यु भयो । त्यसयता तीन वर्षका कान्छा भाइ हुर्काउने र पढाउने जिम्मा आफ्नै काँधमा आएको उनले बताइन् ।

रूपन्देहीको कञ्चन गाउँपालिकास्थित मुसहर बस्तीकी प्रतिमा मुसहर काम गर्दै । तस्बिर : सन्जु/कान्तिपुर

रूपन्देहीको कञ्चन गाउँपालिका–२, विजयनगरमा प्रतिमा र उनका भाइ बस्छन् । भाइ गोविन्द ३ कक्षामा पढिरहेका छन् । प्रतिमाले विद्यालय टेकिनन् । पश्चिम नवलपरासीस्थित मामाघरमा बाल्यकाल बिताइन् । उमेर बढ्दै गएपछि आमाबुबासँगै बस्न आइन् । उनी ११ वर्षकी हुँदा आमाले छोडेर अन्यत्र गइन् ।

त्यसपछि खुट्टाका बिरामी बाबुको स्याहारसुसार, औषधि र भाइका लागि खाना जुटाउने संघर्ष सुरु भयो । घर निर्माणस्थलमा गिट्टी चाल्ने काम गर्न थालिन् । त्यसबाटै निर्वाह चलाइन् । बिरामी बाबुको गत पुसमा मृत्यु भयो । ‘बुबा छउन्जेल सहारा हुनुहुन्छ भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले सहारा छुट्यो, जिम्मेवारी बढ्यो ।’

गाउँमा ९ परिवार मुसहरको बसोबास छ । पालिकाले स्थानीयको खरको छानो हटाएर जस्तापाताले छाएको छ । यसपालि घर चुहिन छाड्यो । तर, स्थानीयको आँसु चुहिन छाडेको छैन । घरमा बिछ्यौना बल्लतल्ल जोहो गरेका छन् । अन्नपात सञ्चित छैन । मजदुरी पाए छाक टर्ने, नत्र भोकै सुत्नुपर्ने बाध्यता उनले सुनाइन् । प्रतिपरिवार १/२ कट्ठा ऐलानी खेतमा फलाउने अन्नले दुई महिना पनि खान पुग्दैन ।

प्रतिमासँगै तारा मुसहरको घर जोडिएको छ । ताराले ७ कक्षा उत्तीर्ण गरिन् । ‘८ कक्षामा भर्ना हुन पैसा छैन,’ उनले भनिन्, ‘विद्यालयले किताब किन्न र भर्ना हुन पैसा लिएर आउन भनेको छ । त्यसैले आमाले हुने दिन पर्खिनुभएको छ ।’ ताराको चाहना नेपाली सेनामा भर्ती हुनेछ । उनीहरू फुर्सदमा सेनामा भर्ती भएको कल्पना गर्छन् । ‘मलाई ८ कक्षा पढ्न नपाउने डर छ,’ ताराले भनिन्, ‘पैसा नभए केही नहुने रहेछ, रहर पालेर के गर्नू ?’ ताराका बाबुको मृत्यु भएको दुई वर्ष भयो । जन्डिस रोगी बाबुको मृत्युपछि ४२ वर्षीय आमा सुनकुमारीलाई चार सन्तान हुर्काउन मुस्किल परेको छ । जेठा छोरा मामाघर बस्छन् । ‘बिरामी परे पनि, नसके पनि जबरजस्ती काम गर्छु,’ उनले भनिन्, ‘गरिब हुनु पनि सजाय रहेछ ।’ निरन्तर निषेधाज्ञा लागू भएकाले कसैले काममा नबोलाएको उनले बताइन् । ‘घरमा सुको छैन,’ उनले भनिन्, ‘अन्न नभएकाले पानी पिलाएर छोराछोरीलाई केहीबेरमा भात पकाएर दिन्छु भन्दै निदाउन हाल्छु ।’

आज खाए भोलि के खाने भन्ने चिन्ता छ । बिहानै घरबाट हिँड्ने र भात खाने समय कटेपछि आएर छोराछोरीलाई बहाना बनाएर भुलाउने गरेको उनले बताइन् । हातमा चोट लागेपछि काम गर्न सक्दिनन् । ‘छोरी र मैले रोपाइँ गरेर यसपटक ७ हजार रुपैयाँ कमायौं,’ उनले भनिन्, ‘त्यो पैसा रासन खरिदमै सकियो ।’ छिमेकीसँग ऐंचोपैंचो गर्न नसकिने बस्ती भएकाले मर्का परेको उनले बताइन् । यहाँका घरैपिच्छे उस्तै समस्या रहेको सुनकुमारीले बताइन् ।

१० वर्षअघि आमाले दृष्टि गुमाएपछि कञ्चन–२ की २६ वर्षीया शोभा मुसहरको जीवनमा ठूलै परिवर्तन आयो । १३ वर्षअगाडि बुबालाई गुमाएकी थिइन् । अहिले आमा र उनीमात्र छन् । बिहान उठेर आमालाई नुहाइदिने, नित्यकर्म गराउने र खाजा पकाएर खुवाउनुपर्छ । ‘आमालाई खुवाएर काम खोज्न जान्छु,’ उनले भनिन्, ‘प्रायः काम खोज्नैपर्छ, त्यसैले खानाको ठेगान हुन्न ।’ अभावले मन लागेको खान, नयाँ कपडा लगाउन वर्षौं कुर्नुपर्ने बाध्यता उनले सुनाइन् । अहिलेसम्म विद्यालय नगएकी शोभाले पढेका मानिसले के काम गर्छन्, कस्तो जीवन जिउँछन् भन्नेसमेत नजानेको र कसैसँग सोध्ने नगरेको बताइन् ।

‘नजाने गाउँको बाटै नसोधम्जस्तो लाग्छ,’ उनले भनिन्, ‘काममा जाँदा आमाले के गर्नुभयो होला ? कसरी बस्नुभयो होला भनेर मन छट्पटिन्छ ।’ विजयनगरका २५ भन्दा बढी परिवार कसैले सहयोग गरे छाक टार्ने, नत्र भोकै सुत्ने गर्छन् । केहीका छोराछोरीले मजदुरी गर्छन् । केही सकीनसकी काम गर्छन् । उनीहरूको मुख्य काम घर निर्माण हो । त्यहाँ पनि ठेकेदारले छल्ने गरेको उनीहरूले दुखेसो पोखे ।

‘काम नगरी कसैलाई खान पुग्दैन,’ कञ्चन–२ का वडाध्यक्ष शेरबहादुर चौधरीलेले भने, ‘वडा कार्यालयले सिर्जना गरेका अवसरमा पनि उनीहरू सहभागिता जनाउन चाहँदैनन्, त्यसैले पनि समस्या जहाँको त्यहीं छ ।’ वडाले ५० भन्दा बढी घर निर्माण गरेर सकुम्बासी बस्ती बसालेको छ । ती परिवार मजदुरीमा निर्भर रहेको चौधरीले बताए ।

प्रकाशित : श्रावण ७, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

करोडौं खर्चेर बुद्ध मूर्ति

झन्डै ८७ करोड खर्चेर बुटवलमा ३५ मिटर अग्लो मूर्तिसहितको पार्क बनाइँदै
सन्जु पौडेल

लुम्बिनी — गौतम बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बुद्ध मूर्ति स्थापना गर्ने लहर सुरु भएको छ । केही समयअघि तिलोत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिकाले सडकको ‘डिभाइडर’ मा बुद्धका मूर्ति स्थापना गर्ने अभियान थालेका थिए ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडकको डिभाइडरमा राखेको बुद्ध मूर्ति । तस्बिर : सन्जु/कान्तिपुर

हालसम्म २० लाख रुपैयाँ खर्चेर ६० भन्दा बढी बुद्ध मूर्ति राखिसकेका छन् । सोही क्रममा अहिले बुटवल उपमहानगरपालिकाले पनि करोडौं खर्च गरी बुद्ध मूर्ति स्थापना गर्ने भएको हो ।

बुटवल उपमहानगरभित्रका अधिकांश सडकमा सयौं खाल्डाखुल्डी छन् । ठूलो पानी आउँदा तिनाउ नदी किनारका बस्ती डुबानमा पर्छन् । उपमहानगर भने अहिले करोडौं खर्च गरी बुद्धको मूर्ति बनाउन अघि सरेको छ । उपमहानगरको योजनाअनुसार बुटवल–६, ७ र ८ वडाको सीमामा ३५ मिटर अग्लो बुद्ध मूर्ति स्थापना हुनेछ ।

समृद्धिको आधार पर्यटन क्षेत्रसमेत भएकाले बुद्धको प्रतिमा स्थापना त्यसकै एक आधार रहेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । ‘उक्त प्रतिमा लुम्बिनीदेखि प्रस्ट देखिनेछ,’ उनले भने, ‘पुरातात्त्विक महत्त्व र गरिमालाई कायम गर्न बुद्धका प्रतिमा कहीं पनि आफूखुसी निर्माण गर्न र राख्न नपाइने परम्परा र नियम रहेकाले यसलाई ध्यानमा राखी बौद्ध मान्यताअनुसारका सबै प्रक्रिया पूरा गरी प्रतिमा तयार गर्न थालिएको हो ।’ बुटवललाई बुद्धावली नगर बनाई पर्यटकलाई बुद्धभूमिबारे थप जानकारी दिने उद्देश्यले बुद्ध प्रतिमा र हिल स्टेसन पार्क निर्माणको परिकल्पना अघि सारिएको उनले बताए । बुद्धावलीसँग सडक र बस्ती निर्माणको तुलना नहुने उनको भनाइ छ । उनले सडक र बस्तीको कामसमेत हरेक वर्ष बजेट निकासासहित अघि बढ्ने र बुद्धावलीले ऐतिहासिक छाप छोड्ने दाबी गरे ।

विश्वले सम्पदा व्यापारीकरण गरी विकास गरिरहेको भन्दै सुवेदीले बुद्धावलीलाई व्यापारीकरण गरी आयस्रोतको माध्यम बनाउने जनाए । उनले लुम्बिनी घुम्ने पर्यटकले सडकभरि र हिलपार्कको टुप्पोमा रहने प्रतिमा अवलोकन गरी विश्राम गर्न पाउने बताए । ‘उपमहानगरका पुस्तौंपुस्ताले सम्झने आधार केही त चाहियो भन्ने सोचलाई साकार पार्न यो कार्य उत्तम छ,’ सुवेदीले भने, ‘यो परिकल्पना पूरा गर्न उपमहानगरको बजेटले सम्भव नरहेकाले संघीय र प्रदेश सरकारका साथै बुद्धसँग सम्बन्धित संघसंस्थासँग समन्वय गरी स्रोतको सुनिश्चित गरिनेछ ।’ त्यसो हुन नसके उपमहानगरसँग भगिनी सम्बन्ध रहेको चीनको सियान सहरसँग सहयोगका लागि छलफल गरिने वा उपमहानगरको बहुवर्षीय क्रमागत योजनामा राखी बजेट विनियोजन गरेर भए पनि बुद्ध मूर्ति निर्माण गरिने उनको भनाइ छ ।

उपमहानगरको सहरी पूर्वाधार विकास महाशाखाका इन्जिनियर गौतम रौनियारका अनुसार बुद्ध मूर्तिसहितको पार्कको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ । चार ब्लक रहने पार्कको दोस्रो ब्लकमा तीनतले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइनेछ । यसको अनुमानित लागत ३ करोड ६७ लाख ३४ हजार ८ सय ७ रुपैयाँ तोकिएको छ ।

पार्कको तेस्रो ब्लकमा एकतले क्याफेटेरिया र चौथोमा एकतले शौचालय बनाइनेछ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार १ सय ८८ रुपैयाँ छ । यीबाहेक पार्कमा टेलिकम्युनिकेसन, सरसफाइ तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च ४ करोड ८९ लाख १ हजार ३ सय ४७ रुपैयाँ रहेको रौनियारले बताए । ‘उक्त बजेटको व्यवस्थापनमा समस्या हुने भएकाले कन्सल्टेन्टसँग सल्लाह गरी स्टिलको बडी र इपोक्सिपेन्ट (गोल्डेन) रङ लगाई मूर्ति बनाउनेबारे छलफल भइरहेको छ,’ उनले भने । ‘बिग बुद्ध मूर्ति स्थापना’ नाम दिइएको गुरुयोजना तयार भइसकेको उनले बताए ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीर भने बुद्धका मूर्तिलाई ‘शो पिस’ बनाई व्यापारीकरण गर्ने योजना उपयुक्त नभएको ठान्छन् । वस्तुलाई बुद्धको स्वरूप मानी पूजा गर्ने पाटो राम्रो भए पनि शो पिस बनाई सडकमा वा कुनै स्थानमा स्थापना गर्नुले बुद्धलाई सम्मान गरेको नठहर्ने उनको भनाइ छ । ‘बुद्धको जन्मस्थललाई पहिचान दिने नाममा सडक र चोकमा मूर्ति राखेर हुँदैन,’ उनले भने, ‘उहाँले दिएको शिक्षालाई जनमानसमा पुर्‍याई शान्ति क्षेत्र निर्माणमा लाग्नुपर्छ ।’ बुद्ध जन्मस्थलको पहिचान आन्तरिक तथा बाह्य पर्यटकलाई होस् भन्ने सन्देश दिन सडकमा बुद्ध मूर्ति स्थापना गरिएको तिलोत्तमा नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । बुद्ध मूर्तिले सकारात्मक सन्देश दिनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सघाउने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १, २०७८ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×