२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

खोप केन्द्रमा भीड

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–१ की सीता भुसालले जिल्ला जनस्वास्थ्य कार्यालयमा चार घण्टा लाइन लागेर कोरोनाविरुद्धको खोप लगाइन् । ‘भीडभाड पार गरेर खोप लगाएँ,’ उनले भनिन्, ‘यस्तो भीडमा धकेलाधकेल गरेर लाइनमा बस्दा कोरोना सर्‍यो कि भन्ने डर लाग्यो ।’ अहिले गाउँमा रुघाखोकी, ज्वरोका बिरामी धेरै भएको सीताले बताइन् । 

खोप केन्द्रमा भीड

त्यस्ता बिरामीले एन्टिजेन र पीसीआर परीक्षण गर्दा धेरैको रिपोर्ट पोजिटिभ आउने गरेको छ । निषेधाज्ञा खुकुलो भएर भीडभाड, आउजाउ बढेपछि फेरि रुघाखोकी, ज्वरो, छाती दुख्नेजस्ता समस्याका बिरामी बढ्न थालेका छन् ।

खोप लगाएपछि कोरोना लागे पनि बाँचिन्छ भन्ने आशा पलाएको उनले बताइन् । सरकारले मंगलबार र बुधबार ५५ वर्षमाथिका उमेर समूहका पहिलो मात्रा लगाउन बाँकी रहेका, शिक्षक, कर्मचारी, सार्वजनिक सवारी चालक/सहचालक, खोप अनिवार्य गरेका देशमा जाने नेपालीलाई लक्षित गरी खोप लगाएको छ । गाउँका स्वास्थ्य चौकीदेखि सदरमुकामको जिल्ला जनस्वास्थ्यमा भीड खचाखच छ । भौतिक दूरी कायम गर्न भनिए पनि खोप लगाउँदा भीडभाड नै भएको शिक्षक कृष्ण क्षत्रीले बताए । ‘रुघाखोकीका धेरै बिरामी छन्, उनीहरूलाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘खोप लगाउने ठाउँमा नै अत्यधिक भीड छ । भीडमा कोरोना सर्ने डर र नलगाई फर्किऊँ भने संक्रमित भइने डर भयो ।’ भीडमा गएकाले घर फर्केपछि केही दिन होम क्वारेन्टाइनमा बस्ने बताए ।

कोरोनाविरुद्धको खोप लगाउन गएकै बेला कोरोना सर्छ कि भनेर केही एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए । ‘कसैसँग नछोइकनै खोप लगाउन सम्भव छैन,’ चालक रामु विकले भने, ‘कोरोनाबाट बच्न खोप लगाउन आएको हो । यस्तो ठेलमठेलमा लाइन लाग्दा कोही संक्रमित भएको भए सर्छ कि भन्ने डर भयो ।’ उनले साढे तीन घण्टा पालो कुरेर जिल्ला जनस्वास्थ्यबाट खोप लगाएको बताए । प्रहरीले भौतिक दूरी कायम गर्न भने पनि भीड बढी भएकाले सम्भव थिएन ।

अर्घाखाँचीमा ११ हजार डोज खोप आएको स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतमले बताए । जिल्लामा पछिल्लो समय मृत्युदर घटे पनि परीक्षण गरिएकामा संक्रमण दर घटेको छैन । पहिलाजस्तो सिकिस्त बिरामी भएर मृत्यु हुने गरेका छैनन् । संक्रमित हुने र अक्सिजन लगाएर बिरामी निको हुने गरेको अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले बताए । जिल्लामा हाल ३ सय १६ जना संक्रमित उपचाररत छन् । धेरैजसो होम आइसोलेसनमा छन् ।

प्रकाशित : श्रावण ७, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?